Friday , March 31 2017

बीमा समितिमा के गर्न भ्याए, के गर्न भ्याएनन् ? (डा.फत्त बहादुर केसीसँगको अन्तरवार्ता)    

December 27, 2016

प्रा. डा. फत्तबहादुर केसी गत साता बीमा समितिको अध्यक्ष पदबाट मुक्त भएका छन् । उनको समयावधि सकिएकाले अहिले बीमा समितिमा अध्यक्ष पद रिक्त छ । दुई कार्यकाल बिताएका डा. केसीले आफ्नो कार्यकालमा निकै महत्वपूर्ण कामहरु गरे । उनले बीमा कम्पनीहरुको वित्तीय सबलताका लागि चालेका कदमहरु केही कठोर किसिमका भएपनि त्यसप्रति बीमा कम्पनीका सञ्चालकहरु सन्तुष्ट छन् । किनकी उनले गरेका निर्णयहरु बीमा व्यवसायलाई व्यवस्थित र थप विस्तार गर्नका लागि थिए र कतिपय फैसलाको दिर्घकालसम्म प्रभाव रहने बीमा कम्पनीका सञ्चालकहरु बताउँछन् । यसैबीच बीमा समितिमा रहँदा केसीको अनुभव र अब के गर्छन् केसी भन्ने विषयमा बैंकिङ खबरका लागि नवराज कुँवरले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :   
 
बीमा समितिबाट तपाईले अवकास लिइसक्नुभएको छ, अब के गर्ने विचारमा हुनुहुन्छ ?
बीमा समितिबाट विदा लिएपछि मैले अध्यापन गराउने कामलाई नै निरन्तरता दिनेछु । मैले अध्यापन गराउन सुरु पनि गरिसकेको छु ।
 
बीमा समितिमा रहँदा तपाईको अनुभव कस्तो रह्यो ?
बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो । यो समितिको मुख्य काम नै नेपालको बीमा क्षेत्रलाई व्यवस्थित र विकसित बनाउने हो । यो संस्थाको नेतृत्व गरिसकेपछि ममात्रै होइन, जो भएपनि समितिको उद्देश्यअनुसारको काम गर्नुपर्छ । म अध्यक्ष बनेर आईसकेपछि नेपालको बीमा बजारमा देखिएका विकास र परिवर्तनहरु मैले भन्नेभन्दा अरुले महशुस गर्ने कुरा हुन् । मलाई लाग्छ, मेरो कार्यकालमा मैले गरेका कामका परिणामहरु दिर्घकालसम्म देखिनेछन् । नियमनकारी निकायको नेतृत्व आफैमा चुनौतिपूर्ण हुन्छ । आफु मातहतका कम्पनीहरुलाई समितिको उद्देश्यअनुरुप लान सक्नुपर्छ । फेरी आम नागरिकको हकहितको लागि नै नियमनकारी निकायहरुको स्थापना भएको हुन्छ । नागरिकमाझ गएर व्यवसाय गर्ने वा सेवा प्रदान गर्ने बीमा कम्पनी र सेवा ग्रहण गर्ने नागरिक दुवै पक्षबीचको तादाम्यता मिलाउनुपर्ने हुन्छ । यसबीचमा समितिले दुवै पक्षको उचित समन्वयको अपेक्षा गर्दछ । मलाई लाग्छ, यस कुरामा मलाई दुवै पक्षबाट सहयोग भयो ।
 
समितिमा तपाईले गर्नुभएका सफल कामहरु के–के हुन् ?
आफ्नो सफलता वा प्रशंसा अरुले गरिदिएको राम्रो हो । यद्यपी बीमा बजारलाई व्यवस्थित र विकसित गर्नका लागि मैले अघि बढाएका कार्ययोजनाहरु दिर्घकालसम्म अर्थ राख्ने किसिमका छन् । बीमा कम्पनीहरुको चुक्ता पुँजीसम्बन्धी निर्णय नेपालमा बीमा व्यवसायको विकास र विस्तारसँग सम्बन्धित छ । विगतका वर्षहरुमा भन्दा पछिल्ला वर्षहरुमा बीमामा नागरिकको पहुँच पनि विस्तार भएको छ । बीमा समितिले बीमकको न्यूनतम पुँजी आवश्यकता तोकिदिएको छ । हाल जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । त्यसैगरी नेपालका जीवन बीमा कम्पनीहरुले दायित्व मूल्याङ्कनका लागि वार्षिक रुपमा थोक मूल्याङ्कन कार्यविधि (फ्युचर ग्रस भ्यालुएशन मेथड) अपनाएका छन् । उनीहरुले वार्षिक रुपमा यो काम गर्दै आएका छन् । उक्त मूल्याकन गर्दा प्रतिफलका लागि वास्तविक वा ६ प्रतिशत जुन घटि हुन्छ त्यो नै लिनुपर्ने हुन्छ । जीवन बीमा कम्पनीका लागि स्लोभेन्सी मार्जिन रिक्वाएरमेन्ट उनीहरुको कूल दायित्वको डेढ गुणा हुनुपर्ने व्यवस्था ल्याइएको छ । खर्च व्यवस्थापनको अनुपात कम्पनी स्थापनाको आकार र उनीहरुको पुँजीका आधारमा ७ प्रतिशत देखि १६ प्रतिशतसम्म हुन्छ । त्यसैगरी  विप्पत्तिजनका आरक्षणका लागि नाफाको १० प्रतिशत आवश्कता पर्दछ । यी कुराहरु बीमा व्यवसायलाई दिर्घकालसम्म राम्रो प्रभाव पार्न सक्ने छन् । योसँगै उपयुक्त प्रडक्ट, जागरुकता, व्यवहारिकता र धरै मात्रामा कभरेजले गर्दा बीमाको व्यापार पनि बढ्दो छ । विगत दुई वर्षयता बीमामा भएको ब्यापक बृद्धिले जनमानसमा यसको प्रभाव धरै बढेको छ ।
 
नेपालको बीमा व्यवसायलाई अझै विकसित र विस्तारित बनाउन तपाईको कार्यकालमा गर्न बाँकी रहेका कामहरु के के हुन् त ?
कुनै पनि काम एकैपटकमा सबै हुन्छ भन्ने अपेक्षा गर्न सकिदैन । समय परिवर्तनशिल भएसँगै त्यसको माग र आवश्यकता पनि समयानुकुल परिवर्तन हुन सक्दछन् । सबैभन्दा पहिला बीमा व्यवसायलाई व्यवस्थित गरी आम नागरिकमा यसको पहुँच विस्ता गर्नुपर्ने मुख्य काम हो । त्यसपछि अन्य पक्ष विकासका कुराहरु आउँछन् । यद्यपी मेरो कार्यकालमा अन्य पक्षलाई पनि समेट्ने प्रयास भएका छन् । त्यही पनि बीमा व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्ने, यसको पहुँच विस्तार गर्ने कामहरु अब आउने नेतृत्वले प्राथमिकतामा राख्नुपर्ने कुराहरु हुन् ।
 
बीमा क्षेत्रमा देखिएका चुनौतिहरु के के छन् ?
ग्रामिण भेगका जनतालाई अझै बीमाको पहुँचमा पुर्याउन सकिएको छैन । त्यस्ता क्षेत्रमा बीमाको पहुँच पुर्याउन बैंक, बीमा कम्पनी, राष्ट्र बैंक र बीमा समिति संयुक्त रुपमा अघि बढ्नुपर्ने आवश्यकता छ । भूकम्पपछि केहि हदसम्म बीमाप्रति मानिसहरुको आकर्षण बढेको छ । तथापि ग्रामिण क्षेत्रका नागरिकलाई यसबारे बुझाएर उनीहरुलाई बीमाको पहुँचमा ल्याउनुपर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको बीमासम्बन्धी सचेतना जगाउँदै नागरिकहरुलाई यसको पहुँचमा ल्याउनुपर्ने चुनौति नै मुख्य हुन आउँछ ।
 
तपाईले फेरी पनि समितिको नेतृत्व गर्ने चर्चा थियो नि ?
त्यो सत्य होइन, मैले डेढ वर्ष अघि नै यस कार्यकालपछि म समितिमा रहन्न भन्ने निर्णय गरिसकेको थिएँ ।

अब कस्तो व्यक्ति आउनुपर्छ ?
बीमा समितिको अध्यक्ष सरकारले चुन्ने भएकाले पक्कै राम्रो व्यक्ति आउनुहुनेछ भन्ने अपेक्षा गरौँ । त्यहि पनि बीमा क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्दै यसमा नागरिकको पहुँच विस्तार गर्ने तथा नेपालको बीमा व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा अबको नेतृत्वले ध्यान दिनुपर्छ ।

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *