Friday , February 24 2017

‘गरीबी घटाउँदैछन् लघुवित्तहरु’ प्रकाशराज शर्मासँगको विशेष अन्तरवार्ता

December 26, 2016

प्रकाश राज शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । एक सफल लघुवित्तकर्मीका रुपमा परिचय बनाएका शर्मा नेपालको वित्तीय बजारसँग लामो समयदेखि नजिक छन् । किनकी उनले बैंकिङ क्षेत्रमा काम गरेको ३५ वर्ष पूरा भइसकेको छ । हाल उनको नेतृत्वमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपालमा सञ्चालित वित्तीय संस्थाहरुमा राम्रो वित्तीय अवस्था भएको संस्था हो । नेपालमा लघुवित्त कार्यक्रमपछि गरीबी घटेको बताइन्छ । किनकी लघुवित्त कार्यक्रम शहरभन्दा पनि ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर संचालित छ । त्यसैले पनि राष्ट्रिय अर्थतन्त्रमा लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण मानिन्छ । यद्यपी पछिल्लो समय लघुवित्त कार्यक्रममा थुप्रै चुनौतिहरु देखिएका छन् । लघुवित्त कम्पनीहरुले लिँदै आएको ब्याजदर बढी भएको जनगुनासो र राष्ट्र बैंकले निर्दिष्ट गरेको व्याजदर, लघुवित्त कम्पनीहरुले बैंक लेख्न नपाउने प्रस्तावित ऐन, वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रत्यक्ष दुई प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनलगायत चुनौति लघुवित्त कार्यक्रममा देखिएका छन् । यसै सन्दर्भमा लघुवित्तकर्मी शर्मासँग बैंकिङ खबर डटकमका लागि संवाददाता नारदमुनि सिग्देलले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ
 

लक्ष्मी लघुवित्त र यसको पछिल्लो वित्तीय अवस्थाको बारेमा बताईदिनुहोस् न ।
लक्ष्मी लघुवित्त वि.सं. २०६७ सालमा स्थापना भई संचालित संस्था हो । यसबीचमा हामीले ३२ जिल्लामा कारोबार विस्तार गरिसकेका छौँ । राष्ट्र बैंकको नीति अनुसार हाम्रो संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनुपर्ने हो । तर हामीले यस संस्थाको चुक्ता पुँजी दोब्बरभन्दा बढी अर्थात २२ करोड रुपैयाँ पुर्याइसकेका छौँ । संस्थामा लक्ष्मी बैंकको ७० प्रतिशत तथा जनता र कमचारीको गरी ३० प्रतिशत सेयरमा रहेको छ । हामीले १० प्रतिशत बोनस सेयर र सतप्रतिशत राईट सेयर जारी गरेर चुक्ता पुँजी २२ करोड पुर्याएका हौँ । त्यसैगरी हामीले लिनुपर्ने कर्जा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी छ भने बचत निक्षेप ४७ करोड रुपैयाँ छ । अहिले हामी २१ प्रतिशत नाफा वितरण गर्न सफल पनि भएका छौँ । चालु आर्थिक वर्षको अन्त्यसम्म पनि रामै्र आशा राखेका छौँ । त्यस्तै हाम्रा ४७ हजार ग्राहक छन् । अहिले हामीसँग ४० वटा शाखा सञ्चालनमा छन् । हाम्रो लघुवित्तमा १ सय ६५ जना कर्मचारी कार्यरत छन् ।


नेपालमा थुप्रै लघुवित्त वित्तीय संस्थहरु संचालित छन्, ती संस्थाहरुको बीचमा लक्ष्मी लघुवित्त वित्तीय संस्थालाई अलि भिन्न र प्रभावकारी संस्थाको रुपमा उभ्याउन कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?
नेपालमा लघुवित्तको सुरुवाति चरणदेखि नै बंगलादेशी लघुवित्तको मोडेललाई नक्कल गरियो । अब पनि यसरी हुँदैन, हामीले नयाँ सिराबाट सोच्नुपर्छ । सुरुआती चरणबाट यो अवस्थासम्म आईपुग्दा धेरै सरोकारवाला सबैको ईच्छा, चाहना र लघुवित्त प्रतिको आशामा फरकपन देखा परेको छ । सबैको चाहना अनुसार अघि बढाउने मेरो योजना छ । सुरुदेखि नै हामीले प्रविधिको प्रयोग विस्तार गर्दै आएका छौँ । यसको प्रयोगमा थप विस्तार गर्ने हाम्रो लक्ष्य छ । त्यसैगरी कर्मचारीको तालिम तथा सीपमा विकास गर्ने, गाउँमा केन्द्रित हुनेगरी योजना अघि बढाउने लगायतका योजना तथा रणनीति अघि सारेका छौँ । अरुभन्दा फरक ढंगल उभ्याउनका लागि हामी अरुभन्दा प्रभावकारी काम गर्नेछौँ । अरुभन्दा प्रभावकारी काम गर्ने भनेको यस संस्थामा आवद्ध भएकाहरुको मन र विश्वास जितेर काम गर्नु हो । हामी त्यही प्रयासमा रहने छौँ ।  

लक्ष्मी लघुवित्तमा के त्यस्तो फरकपन छ, जसका कारण ग्राहक यहि संस्थामा आउन् ?
 लघुवित्तहरुमा हामी २३ औं नम्बरमा छौँ । लक्ष्मी लघुवित्तको प्रविधि योजना अरुको भन्दा फरक र उत्कृष्ट छ । हामीले सुरुआती चरणबाटै कारोबारमा केन्द्रिकरणको विधि अपनाएका छौँ । हाम्रो कारोबारमा दैनिकरुपमा पारदर्शिता, छोटो अवधिमै यो संस्थाको वित्तीय अवस्थामा सुधार ग¥यौँ । हामीले गाउँ–गाउँमा गएर सेवा सुविधा दिइरहका छौँ । हामीले हाम्रो संस्था आवद्ध भएकाहरुको विश्वास जितेका छौँ, उहाँहरुले हामीले विश्वास गर्नुभएको छ । अरु र हामीमा यीनै कुराहरुको फरक छ ।


लक्ष्मी लघुवित्तले कुन–कुन ठाउँमा कर्जा लगानी गरेको छ ?
हामीले आयआर्जनमूलक र कानुनले तथा समाजले स्वीकार गरेको सबै क्षेत्रमा लगानी गरेका छौँ । लक्ष्मी लघुवित्तले कृषि र पशुपालनमा लागायतका क्षेत्रमा अलि बढी लगानी गरेको छ । हाम्रो लघुवित्तले १ महिनामै २५ करोडको हाराहारीमा लगानी गरेको छ । हामीले अर्बौ लगानी गरेका छौँ । यो वर्षमा मात्रै २ अर्ब भन्दा बढी लगानी गरेका छौँ । खासगरी हामीले ठाउँअनुसार लगानी गर्ने गरेका छौँ । त्यहाँको सम्भावना तथा क्षेत्र पहिचान गरेर लगानी गरेका छौँ ।  

 
तपाईहरुले बिना धितो लगानी गर्दा त्यो डुब्ने खतरा कतिको हुन्छ ?
वर्तमान समयमा धितोभन्दा ठूलो सम्पतीको रुपमा सामाजिक प्रतिष्ठा स्थापित भएको छ । ग्रामीण क्षेत्रमा मानिसको इज्जत र प्रतिष्ठा भनेको धेरै नै ठूलो कुरा भएको छ । त्यसैले हामीलाई कर्जा असुलिमा कुनै समस्या छैन । जनतामा आफुले लिएको कर्जा तिर्नुपर्छ भन्ने ज्ञानको रामै्रसँग विकास भएको छ । लघुवित्तलाई ग्रामीण क्षेत्रका मानिसले साथीको रुपमा लिएका छन् । समाजका मानिसहरुले हामीबाट कर्जा लगिसकेपछि सो कर्जा समयमा नै तिरेमा पुनः आवश्यक परेको अवस्थामा साथ पाईन्छ भनेर पनि कर्जामा तलमाथि भएको छैन । हाम्रो भाका नाघेको कर्जा १ प्रतिशतभन्दा कमी छ यो कर्जा कृषि र सेवामा अलि बढी देखिएको छ ।
 
लघुवित्तहरुले  बैंकहरुको तुलनामा व्याज धेरै लिन्छन् भन्ने जनगुनासो आईरहेको बेलामा राष्ट्र बैंकले लघुवित्तलाई बैंक लेख्न नपाउने भनेको छ, यो प्रस्तावले लघुवित्तप्रति जनताको विश्वास घट्ने हो कि भन्ने आशंका पनि गरिन्छ नि ?
जनताको विश्वास बैंक नलेख्ने कुराले घट्दैन । जनताको विश्वास त काम र हामीले दिने सेवामा निर्भर हुने हो । हाम्रो विश्वास घट्ने अवस्थामा छैन किनकि विगतमा भन्दा हामीले हाम्रा सेवाहरु निकै प्रभावकारी रुपमा विस्तार गरिसकेका छौँ ।  


तपाईहरुले बढी ब्याज लिनुभयो भनेर पनि गुनासो त आयो जनताबाट ?
स्वभाविकरुपमा बैंकको भन्दा हाम्रो व्याजदर केही महँगो छ । अरुको तुलनामा हाम्रो संचालन खर्च बढी हुने गर्दछ । बैंकहरुले थोरै ठाउँमा धेरै मात्रामा लगानी गर्ने हुनाले व्याजमा केही कमी भएको देखिन्छ । तर हामीले धेरै मानिसलाई थोरैथोरै कर्जा उपलब्ध गराउनुपर्र्नेे हुनाले पनि व्याजमा समस्या देखिएको हो । हामी ग्रामीण क्षेत्रमा गएर सेवा सुविधा दिनुपर्छ जसले गर्दा सञ्चालन खर्च बढी हुन आएको हो, र व्याजदरमा फरक पर्ने गरेको हो । हामी पुगेको ठाउँमा बाणिज्य र विकास बैंकहरु अझै पुग्न सकेका छैनन् । जसले गर्दा व्याजदरमा फरकपन देखिएको हो ।


राष्ट्र बैंकले ७ प्रतिशत स्प्रेड रेट लागु गर भनेको छ यो कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन ?
व्याजदरमा सधैं एकैनास हँुदैन । हाम्रो खर्च वाणिज्य बैंकहरुको भन्दा बढी हुने गर्छ । हाम्रो सामाजिक सेवाको खर्च त हिसाब नै भएको छैन् । हामीे बैंकहरु नपुगेको ठाउँमा पग्छौँ । ग्रामीण क्षेत्रका मानिसहरुमा वित्तीय साक्षरताको कमी छ । हामीले वित्तीय साक्षरता नपुगेको ठाउँमा वित्तीय जागरण गराउँदै सोही ठाउँका मानिसलाई सीप तथा तालीम दिएर उद्यमी बनाउने काममा केन्द्रित भएका छौँ । जस कारणले हामीलाई ७ प्रतिशत स्प्रेड रेट लागु गर्न समस्या परेको छ । यो व्याजदर लघुवित्तको स्तरोन्नतिसँगै घटाउँदै जाने कुरा हो । यसमा ७ प्रतिशत नै भन्ने हुँदैन त्यो भन्दा पनि घटाउन सकिन्छ ।  


मुलुकको अर्थतन्त्रमा लघुवित्तको भूमिका कस्तो छ ?
  नेपालमा राष्ट्र बैंकको पहलमा यी लघुवित्त संस्थाहरु स्थापना भएका हुन् । नेपालको ३१ प्रतिशत गरीबी २१ प्रतिशतमा झार्न प्रमुख योगदान लघुवित्तहरुकै छ । यसमा केही हिस्सा जस विप्रेषणलाई पनि जान्छ । लघुवित्तले देशको सबै क्षेत्रमा पुगेर काम गरेको छ । बैंकिङ ह्याबिटको विकास, प्रविधिको विस्तार, विचौलियाको अन्त्य, राष्ट्रिय पुँजीको विस्तार गर्ने लगायतका थुपै्र योगदान लघुवित्तले गरेका छन् ।  


नेपालका लघुवित्तको वर्तमान चुनौतीहरु के–के छन् ?
अस्वस्थ प्रतिस्प्रर्धा हटाउनुपर्ने चुनौती छ । त्यस्तै व्याजदर चर्काे भयो भन्ने खालको गुनासो आएको छ । यस्ता गुनासोलाई सकेसम्म सम्बोधन गर्नुपर्ने छ । त्यसैगरी वाणिज्य बैंकलाई राष्ट्र बैंकले विपन्न वर्गमा प्रत्यक्ष दुई प्रतिशत लगानी गर भनेको छ, जसले गर्दा हामीलाई स्रोतको कमी हुन जान्छ, त्यो समस्यालाई समाधान गर्नपर्ने चुनौती छ । राष्ट्र बैंकले ७ प्रतिशत स्प्रेड रेट लागु गर भनेको छ । यी विभिन्न चुनौतीहरु विद्यमान छन् । त्यसैगरी मुलुकमा राजनीतिक अस्थिरता काम छ, यसले पनि असर पुर्याएकै छ ।


राजनीतिक अस्थिरताले असर पुर्याएको छ भन्नुभयो, लघुवित्त कार्यक्रममा चाहिँ राजनीतिक अस्थिरताको असर कस्तो पर्दाे रहेछ ?
राजनीतिक अस्थिरताको असर त सबै क्षेत्रमा परेको छ । यद्यपी लघुवित्त संस्थाहरुले तल्लो तहमा पुगेर काम गर्ने हुनाले खासै धेरै असर गर्दैन । खासगरी राजनीतिक अस्थिरताले उद्यमशीलतामा विश्वास गर्ने युवाहरुलाई निराश बनाएको भने पक्कै छ । नेपालमा बन्द हडताल गरेर उद्योग धन्दाहरु बन्द समेत हुने गरेका छन् । त्यो अवस्थामा भने हाम्रा ऋणीहरु धेरै समस्यामा पर्ने गर्छन् ।  राजनीतिक अस्थिरताको बाबजुत पनि हाम्रो भाका नाघेको कर्जा १ प्रतिशत भन्दा कम छ यो राम्रै कुरा हो । त्यसैले अन्य क्षेत्र प्रभावित हुँदा हामीलाई त्यसको असर पुगेपनि लघुवित्त संस्थाहरुलाई भिन्नै खाले असर चाहिँ पुर्याएको छैन ।  
 
तपाईहरु ग्रामीण क्षेत्रमा गएर काम गर्नहुन्छ । वित्तीय साक्षरताको अवस्था कस्तो पाउनुभएको छ ?
नेपालका ग्रामिण क्षेत्रमा अझै पनि वित्तीय साक्षरताको अवस्था कमजोर छ । त्यसैले पनि वित्तीय साक्षरता बढाउन हामीले आफ्नो ठाउँबाट पहल गरिरहेका छौँ तर यो नै पर्याप्त छैन । हामी १ महिनामा २० लाखसँग प्रत्यक्ष सम्पर्कमा हुने गर्छाँै र वित्तीय जागरण सम्वन्धी शिक्षा पनि दिने गरेका छौँ । त्यस्तै हामीले क्याम्पसहरुमा समेत गएर यी कार्यक्रमहरु संचालन गरिरहेका छाँै । वित्तीय साक्षरता बढाउन सबै क्षेत्रका मानिसहरु लाग्नुपर्छ । त्यसमा अझ राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाकै भूमिका महत्वपूर्ण हुन्छ ।  


देशमै केही गरौं भन्ने युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपालमा पहिला जस्तो स्रोतको अभावमा भौतारिनु पर्दैन । अब सीप हुने मानिसलाई रकमको अभाव हुँदैन । हामीले हाम्रो लघुवित्त मार्फत ठूलो प्राजेक्ट संचालन गर्न लागेकाहरुलाई २५ लाख सम्म पनि कर्जा दिन सक्छौँ । वर्तमान समयमा विदेश नगई नेपालमा केही गर्न खोजेमा धेरै अवसर पाउन सकिन्छ ।


यहाँको विचारमा मुलुकको समृद्धिका लागि के गर्नुपर्छ होला ?
नेपाललाई समृद्ध बनाउन सबै मानिसमा वित्तीय पहुँच बढाउने, चेतनाको विकास गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने, त्यस्तै सरकारको भूमिका जनताको भावना अनुकूल हुनुका साथै सबै क्षेत्रमा अनुगमन तथा निरिक्षण गर्दै गर्नुपर्छ । बजारमा हुने क्रियाकलापमा व्यवस्थापन राम्रो हुनुपर्छ । 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *