December 21st, 2016

सेयर बजार १४७० अंकमा झर्दा कसले कमाए, कसले गुमाए ?

बुधबार सेयर बजार १४७०.६३ अंकमा झरेको छ । कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागरिरहेको बजार २५.३५ अंकले घटेर बन्द भएका हो । व्यापार र होटलबाहेक सबै समूह घटेपछि समग्र बजारमा नै प्रभाव परेको हो । सबैभन्दा धेरै बीमा समूह १७८.६८ अंकले घटेको छ भने उत्पादनमूलक ८६.१४ अंकले घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २७.३२, ९.७८, १७.४, ७.०५ र ४.९२ अंकले घटेका छन् । व्यापार होटल समूह भने क्रमशः १.१२ र १.१७ अंकले बढेका छन् । 

परिसूचक घटेसँगै कारोबार रकममा पनि २० करोड रुपैयाँभन्दा बढीको गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार ४८ करोडको मात्रै कारोबार भएको हो । दिनभरिमा १३१ वटा कम्पनीको छ लाख ९६ हजार छ सय ७२ कित्ता सेयर चार हजार चार सय २२ पटक खरिदविक्री हुँदा कुल ४८ करोड १२ लाख ११ हजार एक सय ११ रुपैयाँ पुँजी परिचालन भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

कुल कारोबारमध्ये, सबैभन्दा धेरै कारोबार एभरेष्ट बैंकको नै भएको छ । यद्यपि, मंगलबारको तुलनामा भने एभरेष्ट बैंकको कारोबारमा उल्लेख्य गिरावट आएको छ । मंगलबार झन्डै २९ करोडको कारोबार भएको एभरेष्ट बैंकको बुधबार जम्मा तीन करोड ८८ लाख ६५ हजार ९१ रुपैयाँको कारोबार भएको छ । यसबाहेक एनएमबि बैंकको साढे दुई करोडको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनी, सिभिल बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सिद्धार्थ बैंक, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

बजार घटेपनि नागबेली लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने एनबि इन्स्योरेन्सका सेयरधनीले ९.९३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मेरो माइक्रोफाइनान्सका सेयरधनीले ७.९८ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, अरुण फाइनान्स, साल्ट ट्रेडिङ, आईसीएफसी, मितेरी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, यती डेभलपमेन्ट बैंक, देवः विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले ८.६४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने राप्तीभेरी विकास बैंकका सेयरधनीले ७.५६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । त्यस्तै, युनिलिभर नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्था, हिमालयन बैंक र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ५.८४, ५.७१, ५.६०, ५.२६ र ५.११ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल ग्रामीण विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]