December 21st, 2016

सेयरमा सफलता पाउन अपनाउनुस् यी विधिहरु

नरेन्द्र चुदाली – सेयर बजार बाहिरबाट हेर्दा जति सजिलो देखिन्छ, वास्तविक रुपमा त्यस्तो हुँदैन । सेयरमा लगानी गरेर नाफा कमाउने चाहाना सबैको हुन्छ । तर कमैले मात्र त्यो चाहाना पुरा गर्न सकेका हुन्छन् । सेयरमा गरिने लगानी एउटा त्यस्तो लगानी हो, जसमा अन्य लगानीको क्षेत्रको तुलनामा बढी जोखिम र अनिश्चितता हुने गर्दछ । त्यसैले पनि यसमा गरिने लगानी बढी संवेदनशील रहन्छ । 

उतारचढावलाई सेयर बजारको 'ब्युटी' मानिन्छ । स्टक मार्केटमा जोखिम र अनिश्चितता भित्र खेलेर नै मुनाफा आर्जनको अवसर प्राप्त गर्ने हो । जोखिमलाई अवसरमा परिणत गर्न सक्ने व्यक्ति नै यस क्षेत्रमा सफल बन्ने गरेका छन् । यसर्थ यसमा लगानी गर्दा बढो बुद्धिमानी र विवेकपूर्ण ढंगबाट लगानी गर्नु आवश्यक छ । 

हचुवाको भरमा सेयर बजारमा छिर्दा घर सम्पती गुमाएका उदाहरण खोज्न धेरै दुःख गर्नुपर्दैन । यस क्षेत्रमा सानो लगानीबाट पनि करोडपति बनेका उदाहरण पनि यही बजारमै छन् । त्यसैले एउटै बजारमा यी दुई अवस्था आउनुका पछाडि कसले धेरै विवेकपूर्ण ढंंगले विश्लेषण गरेर लगानी गर्यो, भन्ने कुरा हो । बजारको राम्रो ज्ञान भएको व्यक्ति करोडपति भयो भने बजारको ज्ञान नै नभई लगानी गरेको व्यक्तिले नोक्सान व्यहोर्नु पर्यो । त्यसैपनि नेपालको सेयर बजार परिपक्व बन्न सकेको छैन । सीमित बजार क्षेत्र, सुचिकृत कम्पनीमा विविधता नहुनु, एउटै प्रवृत्तिका लगानीकर्ता, मार्केट मेकर र संस्थागत लगानीकर्ताको अभाव, प्राविधिक तथा नीतिगत कुराहरुमा यथोचित प्रगति हुन नसक्नु, लगानीकर्ताहरुमा सेयर साक्षारताको अभाव, बजारमा सुचनाको चुहावट, बजारमा सीमित व्यक्तिको प्रभाव, लगानीकर्ताको कमजोर आत्मविश्वास र हल्ला संस्कृति, नियामकको कमजोर सुपरिवेक्षण जस्ता कारणहरुले नेपाली पुँजी बजार सँधै अस्थिर बन्ने गरेको छ । यसर्थ पनि आफ्नो लगानीमा जोखिम कम गर्नको निम्ति लगानीकर्ता सँधै चनाखो हुनुपर्ने देखिन्छ । सेयर बजारलाई पुर्ण रुपमा जोखिमरहित बनाउन सकिन्छ भन्ने त होईन । तर तथ्यगत बजार विश्लेषणबाट गरिने लगानीलाई धेरै हदसम्म सुरक्षित गरेर नाफा कमाउन सकिन्छ । सेयरको लगानी सफल बनाउनको लागि लगानी गर्नुअघि नै अपनाउनुपर्ने उपायहरु यहाँ प्रस्तुत गरिन्छ :

(१ं)स्पष्ट योजना बनाउनुहोस् ।
हामीले बजारमा गएर एउटा चाउचाउ किन्दा त कुन चाउचाउ किन्ने ? कुन कम्पनीको चाउचाउ मिठो छ ? भन्ने जस्ता योजना बनाएर जान्छौँ भने, अझ सेयरमा लगानी गर्दा खरिदपूर्वका योजनाहरु अपरिहार्य हुन्छन् । तपाईँले कतिको लगानी गर्ने हो ? अल्पकालीन लगानी गर्ने हो या दीर्घकालीन ? न्युनतम कति नाफा भएपछि बजारबाट निस्कने हो ? या यदि घाटा नै हुने स्थिति आएमा कतिसम्म होल्ड गर्ने हो ? तपाईँसँग रहेको पुँजी ऋणमा हो या होईन ? तपाईँको पुँजी कति समयसम्म बजारमा परिचालन गर्न सक्नुहुन्छ ? यस्ता विविध कुराहरुको स्पष्ट योजना बनाएर मात्र पुँजीबजारमा छिर्नु उपयुक्त हुन्छ । यदि मानौँ तपाईँले कोहीसँग एक महिनाको लागि ५ लाख ऋण खोजेर सेयरमा लगानी गर्नुभयो । अब सेयर सँधै बढ्छ भन्ने ग्यारेण्टी त हुँदैन । यदि एक महिनाको अवधिमा तपाईँको सेयर घटेर ३ लाखमा झर्यो भने तपाईँलाई दुई लाःख नोक्सान पर्न जान्छ । किनकि तपाईँसँग पर्याप्त स्रोत नभएको अबस्थामा त्यो ऋण तिर्नको लागि तपाईँलाई घाटा सहेरै सेयर बेच्ने बाध्यता आईपर्छ । त्यसकारण तपाईँले सकेसम्म दीर्घकालीन लगानीको सोच बनाउनुहोस् । आफ्नो पुँजी कम्तीमा पनि ६ महिना÷एक बर्षसम्म बजारमा रहँदा फरक नपर्ने होस् । चाहे त्यो ऋणमा लिएको होस् या त तपाईँको आफ्नै पैसा । यसो भयो भने सेयरमा घाटा हुने स्थितीमा पनि तपाईँले सेयर होल्ड गरेर आफ्नो लगानी उठेपछि बेच्न सक्नुहुन्छ । तपाईँलाई घाटामै सेयर बेच्नुपर्ने बाध्यता आउँदैन । र तपाईँको लगानी सुरक्षित हुन्छ । बजारमा त्यस्ता धेरै लगानीकर्ता भेटिन्छन्, जसले आफ्नो पर्याप्त स्रोतविना मुनाफा कमाउने आशमा छोटो अवधिको लागि ऋण खोजेरै लगानी गर्ने अनि बजार घटेको अवस्थामा पनि त्यो ऋण चुक्ता गर्नको लागि लाखौँ घाटा खाएर भएपनि सेयर बेच्ने काम गरेका हुन्छन् । तसर्थ तपाईँको लगानी कस्तो प्रकृतिको हो, सोही अनुसार लगानी गर्नु आवश्यक हुन्छ । 

(२) उपयुक्त कम्पनीको छनोट गर्नुहोस् ।
धितोपत्र बजारमा सुचिकृत सबै कम्पनी राम्रा हुन्छन् भन्ने छैनन् । यहाँ कुनै कम्पनीले लगानीकर्तालाई राम्रो प्रतिफल दिने क्षमता राख्दछन् भने कुनैले लगानीकर्तालाई राम्रो प्रतिफल बाँड्न सकिरहेका छैनन् । त्यसैले तपार्इँले सेयर बजारमा राम्रो आम्दानी गर्नको लागि पहिलो सर्त भनेकै राम्रो कम्पनीको छनौट गर्नु हो । जसको लागि तपार्इँले कम्पनी विश्लेषण गर्नुहोस् । कम्पनी विश्लेषणको आधारभुत मापदण्ड भनेको कम्पनीका वार्षिक तथा त्रैमासिक प्रतिबेदनहरु हुन् । त्यसको अध्ययन गर्नुहोस् । यसका अलावा कम्पनीको व्यवस्थापकीय पक्ष, संस्थागत सुशासन, कम्पनीको लगानी निीति, लाभांश वितरणको इतिहास, मुल्य आम्दानी अनुपात, स्थापनाको अबधि, नेटवर्थ, प्रतिसेयर आम्दानी, पुँजीकोष अनुपात, निष्कृय कर्जा लगायत विविध वित्तीय सुचकहरुको अध्ययनबाट उपयुक्त कम्पनीको छनौट गरि लगानी गर्नुहोस् । यसो भएमा तपाईँको लगानी जोखिममा पर्ने सम्भावना कम हुन्छ । बजारमा जस्तोसुकै उतारचढाव आएपनि त्यस्ता कम्पनीले दिने आकर्षक प्रतिफलको कारण तपाईँको लगानी सुरक्षित हुन्छ । बजारमा एभरेष्ट, नविल, ईन्भेष्टमेण्ट, स्टाण्र्डड चार्टड, एसबिआई बैंक लगायतका केही राम्रा कम्पनीहरुलाई ब्लु चिप सेयरको रुपमा हेरिन्छ । तपाईँले यस्तैयस्तै राम्रा कम्पनीलाई आधार मानेर अन्यको विश्लेषण गर्नुहोस् ।

(३) पोर्टफोलीयो म्यानेजमेण्टमा ध्यान दिनुहोस् ।
सेयरमा लगानी गरेर सफल बन्न चाहानुहुन्छ भने तपाईँले लगानी गर्दा लगानीको विविधतालाई उचित तालमेल मिलाउनु अनिवार्य छ । बजारमा बैंकिङ, जलविद्युत, बीमा, होटल, उत्पादनमुलक समुहहरुका सेयरहरु सुचिकृत छन् । यस्ता समुहहरु सँधै एउटै प्रवृत्तिमा रहँदैनन् । बजारमा देखिने प्रभाव अनुसार कहिले बैंकिङ सुचक घटेको हुन्छ त कहिले बीमा सुचक बढेको हुन्छ । त्यसकारण तपाईँले विविध समुहमा लगानी गर्नुभयो भने एउटा समुहमा नोक्सान हुने स्थिति आयो भने अर्को समुहमा आउने बृिद्धले त्यसलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ ।

(४) म्युचुअल फण्डको सहयोग लिनुहोस् ।
यदि तपाई सेयर बजारमा नयाँ हुनुहुन्छ भने तपाईँलाई यस क्षेत्रसम्बन्धी आवश्यक ज्ञान र अनुभवको कमि हुन सक्छ । यस्तो अवस्थामा केही नबुझी हचुवाको भरमा लगानी गर्नुभयो भने तपाईँलाई ठुलो नोक्सानी हुन्छ । त्यसैले तपाईँले म्युचुवल फण्डहरुको सहयोगमा लगानी गर्नु उपयुक्त हुन्छ।  यस्ता फण्डहरुले कम्पनीको राम्रो विश्लेषण गरि तपाईँको लगानिलाई सुरक्षित बनाउन राम्रो विज्ञता प्रदान गर्छन् । केहि निश्चित शुल्क तिरेपछि उनीहरुले तपाईँको पुँजीलाई उपयुक्त कम्पनीमा लगानी गरिदिन्छन् । यसबाट तपाईँ अनुभवकै कमिले हुने जोखिमबाट बच्न सक्नुहुनेछ ।

(५) ईन्ट्री घट्दो चक्रमा गर्नुहोस् ।
सेयर बजार एउटा चक्र हो । यसमा घट्ने र बढ्ने चक्र निरन्तर जारी रहन्छ । सेयर बजारको आधारभुत नम्स नै घटेको बेला किन्ने र बढेको बेलामा बेच्ने हो । तर हाम्रो बजारको प्रवृत्ति बजार बुलिश ट्रेण्डमा रहेको समयमा उत्साहित भएर लगानी गर्ने, अनि घट्दो बजारमा चाहिँ अत्ताल्लिएर बेच्ने छ । यस्तो गर्नुभयो भने तपाईँ सेयर बजारमा सफल बन्न सक्नुहन्न । किनकि सेयर सँधै बढिरहने पनि होईन र सँधै घटिरहने पनि होईन । बुलिश बजारमा प्रवेश गर्नुभयो भने तपाईँले राम्रो आम्दानी गर्न सक्नुहुन्न । किनकि तपाईको प्रवेश नै बजार बढेर एउटा चरण पार गरिसकेपछि भएको छ भने अब बजार धेरै माथि जान त सक्दैन । त्यसैले लगानी गर्दा जहिले पनि घटेको समयमा नै गर्नुपर्छ । जुन समय अहिलेको वर्तमान बजारमा देखिएको छ ।

.(६) सेन्टीमेन्टलाई नियन्त्रण गर्नुहोस् ।
नेपाली पुँजी बजारमा अस्वभाविक उतावचढाव आउनुको एक महत्वपुर्ण कारण भनेको लगानीकर्ताको कमजोर मनोविज्ञान देखिएको छ । बजारमा आउने सामान्य हल्ला र सुचनाले भारी उतावचढाव आउने गरेको छ । यसबाट समग्र पुँजी बजार नै अस्थिर हुने गरेको छ । कुनै स्पष्ट कारण विना नै ठुलो अन्तरले बढ्ने र घट्ने प्रवृत्ति देखिएको छ । यसर्थ पुँजी बजारमा छिरेपछि चाहिनेभन्दा बढी उत्साहीत र हतोत्साहीत हुने प्रवृत्तिलाई त्याग्नुपर्छ । बजार घट्न लाग्यो भन्दैमा अत्ताल्लिँदै  लाखाँै नोक्सानी खाएर सेयर नबेच्नुस् । किनकि बजार सँधै घटिरहँदैन । तपाईँले निश्चित समय सेयर होल्ड गरेर बजार बढेपछि बेच्नुहोस् र सेयर किनेपछि एउटा निश्चित रकम बढेपछि बेच्नुहोस् । यदि तपाईँले बढेको समयमा सेयर नबेची अझै बढ्ने आशामा बस्नुभयो भने त्यो सेयर घटेर फेरी तपाईँलाई नोक्सान हुने स्थिति पनि आउन सक्छ ।

(७) टाईमिङ मिलाउनुहोस् ।
बजारचक्रमा प्रवेश गर्ने र बाहिरिने उपयुक्त समय चयन गर्दा सेयर बजारमा नाफा कमाउन सजिलो हुन्छ । यसर्थ घट्दो बजारमा प्रवेश गरी बढ्दो बजारमा निस्किनु उपयुक्त हुन्छ । तर, बजार बढी नै उतावचढावपुर्ण छ भने निश्चित समय पर्ख र हेरको रणनीति अपनाउनुहोस् ।

(८) सल्लाहको लागि एउटैको भर नपर्नुहोस् ।
हाम्रो बजारमा सेयर साक्षरताको अभाव र आधिकारिक परामर्शदाताहरुको व्यवस्था नहुनाले सेयर खरिद सम्बन्धी निर्णयको लागि अधिकांश लगानीकर्ताहरु पुराना र ठुला लगानीकर्ताहरुको भर पर्नुपर्ने स्थिति छ । तर, कहिलेकाहीँ उनीहरुले दिने सुझाव पनि उपयुक्त नहुन सक्छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले गलत कम्पनीको सेयर खरिद गर्ने गरेका छन् । कतिपय स्थितिमा त ठुला लगानीकर्ताले आफ्नो स्वार्थ अनुरुपको सुझाव दिँदा लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको गुनासो पनि सुनिन्छ । यसकारण तपाईँ सकेसम्म त आफुले किन्ने कम्पनीको विश्लेषण आफैँ गर्ने प्रयास गर्नुहोस् । यदि त्यो सम्भव छैन भने धेरै भन्दा धेरै जानकारहरुसँग परामर्श गरी विकल्पहरुको तुलना गरेर लगानी गर्नुहोस् ।

(९) मुल्य समायोजन गर्न सिक्नुहोस् ।
यदि तपाईँले कुनै ए कम्पनीको १०० कित्ता सेयर १००० रुपैयाँमा किन्नुभयो । कारणबश बजार घटेर उक्त कम्पनीको सेयर मुल्य ५०० रुपैयाँमा आयो । यो स्थितीमा तपाईँ अत्ताल्लिएर घाटामै सेयर नबेच्नुहोस् । बरु पुरानो सेयरको मुल्य समायोजन गर्नको लागि तपाईँले घटेको ५०० मुल्यमै थप १०० कित्ता सेयर किन्नुहोस् । अब तपाईँले खरिद गरेको जम्मा २०० कित्ता सेयरको मुल्य प्रति कित्ता ७५० मा आयो । यसअघि घटेको रु ५०० बाट तपाईँको खरीद मुल्यसम्म आउन ५०० थप बढ्नुपर्नेमा थप सेयर खरिद गरि मुल्य समायोजन गरेपछि २५० बढ्दा नै तपाईँले आफ्नो लगानी उठाउन सक्नुहुन्छ ।

(१०)सुचनाप्रति सँधै चनाखो रहनुहोस् ।
पुँजीबजार एउटा त्यस्तो क्षेत्र हो, जहाँ यससँग सम्बन्धीत सुचनालाई मुल्यमा परिणत गर्न सकिन्छ । त्यसैले सेयर बजारलाई प्रभाव पार्ने सुचनाहरुको जानकारीको लागि नेप्से, धितोपत्र बोर्ड, राष्ट्र बैंक, अर्थ मन्त्रालय, बीमा समिति तथा सुचिकृत कम्पनीहरुका सुचना तथा जानकारीहरु प्रति सँधै अपडेट रहनुहोस् ।

(११) गल्तीबाट पाठ सिक्नुहोस् ।
सेयर बजार एउटा यस्तो समन्द्ररुपी सिकाई हो, जसमा शतप्रतिशत रुपमा कोही पनि जानकार हुँदैन । किनकि यो पुर्ण रुपमा प्राविधिक पाटो मात्र होईन । यसमा व्यक्तिको मनोविज्ञानले पनि ठुलो भुमिका खेलेको हुन्छ । यसमा हरेक घटनाले कुनै न कुनै नयाँ कुरा सिकाउँछ । यसर्थ, यस क्षेत्रमा अगाडि बढ्नका लागि आफुले विगतमा गरेका गल्तीबाट सजग रहँदै लगानी गर्नुपर्छ । हामीले पटकपटक गल्ती दोहोराउँदा हामी सफल हुन सक्दैनौँ । आफु तथा अन्यबाट विगतमा भएका कमजोरीबाट सिक्नु आवश्यक छ । 

अतः पुँजी बजारमा सफल बन्नको लागि लगानिकर्ता संयम र विबेकशील हुनु जरुरी छ । जसबाट जोखिमको न्युनिकरण गरि नाफा कमाउने उद्देश्यलाई सार्थक पार्न सकियोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]