March 21st, 2016

प्रविधिलाई जोड्दै डेपुटी गभर्नर

shiva rajनेपालमा बैंकिङ कारोबार सुरु भएको ७० बर्ष नाघिसकेको छ । तर विडम्बनाको कुरा भन्नुपर्छ, ग्रामीण तह र तप्कासम्म बैंकहरुको उस्थिति एकदमै न्यून छ । सबै बैंकहरु सहर केन्द्रित नै भएकाले गाउँका मानिसहरु दिनभरीको बाटो हिडेर बैंकिङ सेवा लिइरहेका छन् । कुल जनसंख्याको ४० प्रतिशत मानिस मात्र बैंकिङ सेवाको पहुँचमा छन् । विशेषगरी दुर्गम र पिछडिएका क्षेत्रमा बैंकहरु पुग्न सकेका छैनन् । धेरै मानिसहरुमा वित्तिय साक्षरता नभएको कारण उनीहरुलाई बचत गर्नुपर्छ भन्ने चेतना छैन । नेपाल राष्ट्र बैंकले गाउँका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गर्नका लागि अघि सारेका योजना र कार्यक्रमको सेरोफेरोमा केन्द्रित रहेर राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

दिनभरीको बाटो हिड्न नपर्ने गरी बैंक विस्तार गर्ने योजना
आजभन्दा पन्ध्र बर्ष पहिले हामीले बैंकहरुको यतिसम्म विकास होला भनेर अनुमान गर्न सक्ने स्थिति थिएन । सबै बैंकहरुले स्थापना कालदेखि नै आफनो उपस्थितीलाई बलियो बनाउँदै अघि बढेका कारण नेपालमा बैंकहरुको विस्तार भएको हो । तर वर्तमान समय सुहाउँदो सेवा बैंहरुले प्रवाह गर्न सकेका छैनन् । नेपालका बैंकहरु अझै पनि परम्परागत शैलीमा नै छन् । आधुनिक बैंकिङ सेवा प्रवाह गर्न सकेका छैनन् । कुल जनसंख्याको ४० प्रतिशत मानिस मात्र बैंकिङ सेवाको पहुँचमा छन् । दुर्गम क्षेत्रका धेरै मानिसहरुले चाहेर पनि बैंकको सेवा लिन पाएका छैनन् । प्रायः बैंकहरु शहर केन्द्रित नै छन् । गाउँगाउँमा बैंकहरुको उपस्थिति न्यून भएका कारण अझै पनि गाउँमा मानिसहरुले दिनभरको बाटो हिडेर बैंकको सेवा लिने गरेका छन् । त्यसैले अब ती ग्रामीण तप्काका मानिसलाई पनि बैंकहरुले सेवा दिनुपर्छ । त्यसको लागि सबैमा वित्तिय सचेतनाको आवश्यकता रहने भएकोले राष्ट्र बैंकले विभिन्न निकायसँग सहकार्य गरेर वित्तिय सचेतना फैलाउने सोच बनाएको छ । 

आन्तरीक समस्या समाधानबाटै बैंकिङ क्षेत्रको विकास
गत बैंशाख १२ गतेको भुकम्पले भत्काएको राष्ट्र बैंकको भवन तत्काल निर्माण गर्नुपर्ने अवस्था छ । त्यसैले राष्ट्र बैंकको भवन निर्माणको लागि जग्गा नाप्ने कार्य भइरहेको छ । यसबाहेक कर्मचारीहरुलाई उचित स्थानमा सार्नु पनि हाम्रो लागि आवश्यकताको विषय बनेको छ । भौतिक निर्माण र कर्मचारी व्यवस्थापनमा पनि राष्ट्र बैंकले सोच्नुपर्ने बेला आएको छ । 

केन्द्रमा मुलुकको आर्थिक विकास
देशको आर्थिक विकासलाई राष्ट्र बैंकले केन्द्रमा राखेको छ । देशको विकास र युवाहरुलाई स्वदेशमै टिकाउनको लागि उत्पादनशील क्षेत्रमा कर्जाहरु बढाउने योजना राष्ट्र बैँकले अघि सारेको छ । जसले रोजगारीको वातावरण सिर्जना गर्नमा महत्वपूर्ण भ्ूमिका खेल्नुका साथै जनताको जीवनस्तर माथि उकास्नको लागि पनि सहयोग गर्छ । जनताले आय आर्जन गर्न थालेपछि देशको अर्थतन्त्रमा पनि परिवर्तन हुन्छ । त्यसको लागि राष्ट्र बैंकले आफ्नो कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । यसबाहेक भुकम्पले घर भत्काएकाहरुको पुनर्उत्थान गर्नको लागि सरकारले पनि केहि राहत दिने भनेर घोषणा गरेको छ । सरकारको नीति अनुसार नै हामीले आर्थिक पुनर्लाभ कोष खडा गरेर कार्य गर्न थालेका छौँ । त्यसको लागि समिति पनि गठन भएको छ । राष्ट्र बैंकले भुकम्प पीडित परिवार र नाकाबन्दीबाट प्रत्यक्ष प्रभावित भएका व्यवसायिहरुको लागि भनेर व्याज अनुदान दिने कार्यक्रम तत्काल पास गरेको छ । व्याज अनुदानमा दश करोडसम्म ऋण लिएका ऋणीहरुको लागि चार प्रतिशतको दरले व्याज घटाइदिने र दश प्रतिशतभन्दा बढी ऋण दिएकालाई २ प्रतिशत अनुदान दिने छलफल भएको छ । त्यसले साना तथा मझौला उद्यमीहरुलाई सहयोग पुग्ने आशा लिएका छौँ । त्यसैगरी, भुकम्प पीडित र नाकाबन्दीको चपेटामा परेकाहरुलाई पनि कर्जा वितरण गर्ने योजना राष्ट्र बैंकले बनाएको छ । तर तीमध्ये सबैलाई सहुलियत रुपमा ऋण प्रदान गर्ने भन्ने पनि चुनौति छ । किनभने सबैलाई समेट्न केही कठिनाई पर्ने पनि देखिन्छ । 

सरकारी निर्णय पाएपछि मात्र काम अघि बढ्छ
नेपाल राष्ट्र बैंक केन्द्रीय स्तरको सरकारी बैंक हो । यसले गर्ने सबै काम कारवाही पनि सरकारी नीति अनुरुप अगाडि बढ्नुपर्ने भएकाले हामीले सबै प्रावधानहरुलाई पालना गर्दै काम गर्नुपर्छ । त्यस्तै राष्ट्र बैंकले नेपाल सरकारको सार्वजनिक खरीद ऐन २०६३ बमोजिम नाप नक्सा बनाउने र लागत अनुमान तथा बोर्डबाट स्वीकृति लिनुपर्ने हुन्छ । सरकारी निकायबाट स्वीकृति लिएपछि मात्र राष्ट्र बैंकले ऋण प्रवाह गर्छ । 

वर्तमान आवश्यकतामा प्रविधिको प्रयोग
विश्वको धेरै बैंकहरु प्रविधिमा केन्द्रित छन् । यो वर्तमान समयको आवश्यकता पनि हो । त्यसैले नयाँ प्रविधिलाई पनि हामीले आत्मसाथ गर्नु छ । तर बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको फड्कोसँगै चोरी र अपराधका घटनाहरु बढ्दै गएका छन् । नयाँ प्रविधिलाई पनि कुनै किसिमको दुरुपयोग हुन नदिई प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यस्तै, बैंकिङ जगतलाई पारदर्शी बनाउनको लागि नयाँ प्रविधिको भूमिकालाई महशुस गर्दै राष्ट्र बैंकले पनि नयाँ प्रविधिको प्रयोगमा जोड दिँदै आएको छ । 

ग्रामीण क्षेत्रमा बैँकिङ सेवा विस्तारका योजना
ग्रामीण तहसम्मको पुँजी संकलनको लागि भौतिक रुपमा राष्ट्र बैंक गाउँगाउँमा पुग्न सकेको छैन । उपत्यकाभन्दा बाहिर ७ वटा क्षेत्रमा हाम्रो शाखाहरु छ । ती शाखा कार्यालयहरुले ग्रामीण तहसम्म बैंकिङ सेवा सुविधा पु¥याउन योजनाहरु बनाइसकेका छन् । राष्ट्र बैंकको नीति नै शहरमुखी भन्दा ग्रामीण तहसम्म पुर्याउनु हो, गाउँ गाउँका मानिसलाई बैंकिङ सेवा सुविधा प्रदान गर्नु हो । त्यस्तै राष्ट्र बैंकले ग्रामीण तहका मानिसलाई बैंकिङ कारोबारमा उपस्थित गराउन र वित्तिय साक्षरता बढाउनको लागि सबै बैंकहरुलाई शाखा खोल्न पनि स्वीकृति दिएको छ । ग्रामीणा तहका मानिसले पनि स्वतन्त्र तहबाट बचत गरुन् भन्ने उद्देश्यले बैंकहरुका शाखाहरु विस्तार हुँदै गएका छन् । तरपनि ग्रामीण भेगका बैंकहरुको उपस्थिति अत्यन्तै न्यून छ । ग्रामीण क्षेत्रका मानिससँग पैसा नभएपनि उनीहरुले बैंकिङ सेवाको लाभ लिन पाउनुपर्छ । बैंकहरुले गाउँमा केहि गर्न चाहनेका लागि ऋण प्रवाह गरिदिने र लगानी पनि गरिदिने हो भने गाउँका मानिसहरु पनि आत्मनिर्भर हुन सक्छन् । शहर उन्मुख गाउँहरुमा बैंकको लागानी भएपछि त्यहाँ उत्पादनका श्रोतहरु बढ्दै जान्छन् । जसले गर्दा व्यक्ति मात्र होइन देशको अर्थतन्त्र पनि चलायमान हुुुन्छ । 

सर्वसाधारणको मन जित्ने दौडमा राष्ट्र बैँक
राष्ट्र बैंक सुशासनमुखी संस्था हो । राष्ट्र बैंकभित्र कुनैपनि राजनीतिक हस्तक्षेप छैन । बाहिरबाट हेर्दा केहि समस्या देखिएता पनि राष्ट्र बैंकभित्र त्यस्तो कुनै खटपट छैन । सबै कर्मचारीहरु मिलेर काम गरेको अवस्था छ । गर्भनर र डेपुटी गर्भनर बीचमा पनि समन्वयात्मक सम्बन्ध छ । राष्ट्र बैंकभित्र तत्कालीन समयमा देखिएको समस्या आन्तरीक समस्या हो । भुकम्पका कारण भवन भत्किएपछि सुविधाजनक ठाउँ नभएकोले सबै कर्मचारीहरु कोच्चिएर काम गर्नुपरेको छ । कर्मचारीलाई उचित विभागको पदस्थापन गरी कामकाजलाई चुस्त र दुरुस्त बनाउनको लागि हामीले प्रयत्न गरेका छाँै । पछिल्लो समय देखिएको आन्तरीक समस्याहरु यिनै हुन् । यसलाई पनि हामी जतिसक्दो चाडो समाधान गर्छौँ । त्यस्तै राष्ट्र बैंकले उल्लेख गरेका समस्याहरु हासिल गर्ने, विषेश गरी वित्तिय स्थिरता हासिल गर्ने, बैंक तथा वित्तिय प्रणालीमा सुशासन कायम गर्ने, सर्वसाधारणहरुको बैंक तथा वित्तिय क्षेत्र प्रतिको विश्वसनियता अभिवृद्धि गर्नु हो । 

१८ वर्षको उमेरदेखि नै बैँकमा खाता खोलेका श्रेष्ठ
१८ बर्षको उमेरदेखि मैले बैंकमा खाता खोलेर आफूसँग भएको थोरै बचत गर्ने गर्थे । त्यतिबेला बैंकमा बचत गर्नुपर्छ भन्ने मानसिकता भएका व्यक्तिहरु एकदमै कमै भेटिन्थे । बैंकिङ क्षेत्रको लागि त्यो समय एकदमै दयनीय थियो । बैंकहरुको उपस्थिति न्यून थियो । वर्तमान समयमा बैंकिङ क्षेत्र स्तरीय भइसकेको छ । त्यतिबेलादेखि नै मलाई बैंकप्रति चासो थियो । हालै मात्र डेपुटी गर्भनरमा नियुक्ति भएको छु । मलाई पद भन्दा पनि जिम्मेवारीको बढी महत्व छ । त्यस्तै हालै मात्र भएको डेपुटी गर्भनरको लागि दाबेदार कर्मचारी साथीहरु सबैलाई मिलाएर अघि बढ्नको लागि मेरो भूमिका उल्लेखीय रहने छ । राष्ट्र बैंकका काम गर्ने सबै कर्मचारीहरुको आपसी मेलमिलापमा राष्ट्र बैंकका कामहरु अघि बढ्दै आएका छन् । भविष्यमा अझ सशक्त तवरले काम गरेर राष्ट्र बैंकमा नीति निर्माण गर्ने, बैंकिङ विधि प्रणालीलाई अझ स्तरीय बनाउँदै लैजाने छौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]