December 21st, 2016

भारतमा नोट प्रतिबन्धको असर : बन्द हुँदै गुजरातका उद्योगहरु  

फ्याक्ट्रीबाट साईरनको आवाज सुन्नेवित्तिकै मजदूरहरुबीच बाहिरको ठेलामा जस्तै ‘सस्तो खाना’को लागि होडबाजी चलिरहेको थियो । तीमध्ये धेरै चाहिँ कपडा फ्याक्ट्रमा सिलाईबुनाई र अलि कडा काम गर्ने मजदुरहरु थिए । लगभग सबैको घर बिहार वा उत्तर प्रदेश हो ।

गुजराजको सूरत शहरबाहिर पान्डेसरा क्षेत्र छ । उदेक लाग्दो कुरा त के भने, त्यहाँको ठेलामा पनि लिट्टी र आलूको पराठाबाहेक अरु खाने कुरा छैन । उत्तर प्रदेश र बिहारका मजदुरहरुको संख्या त्यहाँ सबैभन्दा बढी छ र करिब सबै वर्षौदेखि सूरत शहरमा बस्दै आएका छन् । तर नोटबन्दीको घोषणापछि नजिकै रहेको गणेशनगरमा बस्दै आएका मजदूरहरु भने अब घर फर्कने विचारमा छन् ।

बिहार घर भएकी ८० वर्षीया कृष्णमणि देवी २१ वर्षदेखि सूरत शहरमा छिन् । उनले भनिन्, ‘फ्याक्ट्री मालिक पहिलो पटक तलब चेकबाट दिइरहेका छन् । हरेक परिवारमा एकजनाको एक बैंक खाता छ । अब हामी लाइनमा बस्न जाने की काममा जाने ?, तपाई नै भनिदिनुस्, यस्तो हैरानी सहेर बस्नुभन्दा त घर गएर खेती सुरु गरी बस्नु राम्रो ठानेकी छु ।’

सूरत शहर भारतमा ठूलो टेक्सटाइल बजारको रुपमा गनिने गरेको छ । भारतको टेक्सटाइल उद्योगमध्ये ७ लाख पावरलूम सूरत शहरमै उपलब्ध छ । जसमा बिहान करीब ३.५ करोड मिटर कपडा बुनिन्छ । जिल्लाको टक्सटाइल इन्डस्ट्रीमा आठ लाखभन्दा बढी मानिसहरु काम गर्छन तर नोटबन्दीपछि कारोबारमा गहिरो असर परेको छ ।

सूरतको पान्डेसरा वीवर्स फेडरेशनका अध्यक्ष आशीष गुजरातीको विचारमा यस्तो संकटबाट मुक्ति पाउन अझै एकदुई महिना लाग्न सक्छ । उनले भने, ‘यो सिजनमा पुरै भारतमा ५० लाख विवाह थियो । नोटबन्दीका कारण तीमध्ये ९० प्रतिशत विवाहको खर्च कम गर्नुपरेको छ । विवाहमा टेक्सटाइलको धेरै ठूलो भूमिका हुन्छ ।’ उनले थपे, ‘नोटबन्दीले हाम्रो उद्योगमा ठूलो असर पारिदियो । किनकी करीब सबै अडर क्यान्सिल भयो । हाम्रो सामान प्राय गाउँमा बिक्छ र जब गाउँमा क्यासलेस काम सुरु भयो त्यसपछि हाम्रो काराबार लगभग समस्याग्रस्त बनेको छ ।

३० वर्षदेखि सूरतमा बातुर बुन्ने काम गर्दै आएका छेदालाल यस कुरामा सन्तुष्ट छन् कि उनको परिवार अहिले पनि उत्तर प्रदेशको फत्तेपुर जिल्लामै बसिरहेको छ । उनले भने, ‘फ्याक्ट्रिहरुमा काम आधा भईसकेको छ । तीन दिन काम हुन्छ, चार दिन बन्द भईरहेको छ । अब मलाई काम त यो भन्दा अर्को आउँदैन । त्यसैले चार दिन म बेरोजगार बसिरहेको छु ।’तर छेदालालका छिमेकी नालन्दा, बिहारका राम कुमारले भने नोटबन्दीको घोषणाको एक हप्तापछि सुरु भएको संकटकै बेला आफ्ना परिवारलाई घर पठाइदिए । नालन्दाले भने, ‘जति बढी परिवार यहाँ रहन्छ उति नै संकट बढ्छ ।’

भारतमा पलिएस्टरको काम पनि सबैभन्दा बढी सूरत शहरमै हुन्छ । सो शहरमा साडी बनाउने ठूल्ठूला कम्पनीहरु रहेका छन् । पुनी तयाल त्यस्तै एक कम्पनी, लक्ष्मीपति साडीजका जनरल म्यानेजर हुन र उनी भन्छन्, ‘हाम्रो कम्पनी पनि नोटबन्दीको चपेटामा छ ।’ उनले थपे, ‘सुरुमा त केही दिन फ्याक्ट्रीको काम रोक्नुपरेको थियो । जसका कारण कामदारलाई त असर पर्यो नै, कारोबारमा पनि निकै असर पर्यो ।’

सूरतको टेक्सटाइल इन्डस्ट्रीबाट भारतले वर्षेनि १०० करोडभन्दा बढीको कपडा निर्यात गर्ने गर्दछ । तर जानकारहरुका अनुसार नोटबन्दीपछि कम्तिमा ४० प्रतिशत फ्याक्ट्रिहरु प्रभावित भएका छन् । बीबीसी हिन्दीबाट


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]