Friday , February 24 2017

स्वरोजगार कोषका उपाध्यक्षको आह्वान : पैसाको चिन्ता छैन, प्रस्ताव ल्याउनुस स्वरोजगार बन्नुस् (अन्तरवार्ता सहित)

December 20, 2016

डा. प्रेम प्रसाद दंगाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् । यस जिम्मेवारीपूर्व राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा क्रियाशिल रहेका दंगाल, आयोगमा रहँदा ज्यादै महत्वपूर्ण सुधार र रुपान्तरणका प्रस्तावहरु उनले अगाडि सारेका थिए । पछिल्ला विवरणहरु हेर्ने हो भने नेपालमा युवा बेरोजगारीको अवस्था कहाली लाग्दो छ । वर्तमान समयमा राज्यले अवलम्वन गरिरहेको अर्थतन्त्र परिचालनको बिधिले लाखौ युवाको विदेश पलायनलाई रोक्न सकिरहेको छैन । यस्तो अवस्थालाई रोक्नका लागि भन्दै वि.स. २०६५ सालमा गणतन्त्र पछिको पहिलो सरकारको पालामा स्वरोजगार कोषको स्थापना गरिएको थियो । मुलुकमा जारी राजनीतिक अस्थिरताका कारण हरेक क्षेत्रमा हुने कामहरु प्रभावकारी बन्न नसकेको अवस्थामा पनि कोषले केही युवाहरुलाई उद्यमशीलतामा लगाउन राम्रो उत्प्रेरणा प्रदान गरिरहेको छ । डा. दंगालले कोषको नेतृत्व सम्हालेपछि कोषले राम्ररी गति लिएको महशुस भैरहेको छ । यसै सन्दर्भमा कोषका उपाध्यक्ष दंगालसँग बैंकिङ खबर डटकमका लागि रोयल आचार्य (डिपी) ले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।
 
युवा स्वरोजगार कोषले गर्ने प्रमुख कार्यहरु केके हुन् ?

हामीले सस्तो व्याजमा कर्जा प्रवाह गर्छौ । बैंक तथा बित्तिय सँस्था र सहकारीहरु मार्फत सस्तो दरको कर्जा प्रवाह गर्छौ । यसमा कुनै व्यक्ति व्यवसायी बन्न चाहान्छ, उद्यमी वा स्वरोजगार हुन चाहान्छ भने त्यस्तो व्यक्तिलाईृ हामीले २ लाख बिना धितो कर्जा उपलब्ध गराउछौं । यो चाहि सस्तो कर्जा हो । किस्ता नियमित चुक्ता गरी सफल व्यवसायी हुने व्यक्तिलाई हामीले ब्याजदरमा ६० प्रतिशत अनुदान दिन्छौं । यो चाहि पहिलो कार्यक्रम हो । दोस्रो कार्यक्रम भनेको व्यवसाय र व्यवसायी दुवैको हामीले बिमा गरिदिन्छौं । व्यवसाय गर्ने मान्छेको पनि हुन्छ र उसले के व्यवसाय गर्ने हो ? उत्पादन हो की, सेवा प्रवाह गर्ने हो कि के गर्ने हो, त्ससको हामीले बिमा गरिदिन्छौं । त्यस पछि हामीले सिपमूलक तालिमहरु पनि प्रदान गर्छौ । जोसँग सिप छैन ति बेरोजगार व्यक्तिहरुलाई हामीले सिप प्रदान गरेर लगानी गर्छौ । त्यसैगरी छिट्टै एक इकाई एक करोडका दरले एक ईकाई एक नमूना व्यवसायका लागि लगानी गर्दैछौं । त्यसैगरी स्वरोजगा हुन चाहने व्यक्तिलाई चाहिएको वेला ऋण पाउने अवस्था सिर्जना गर्न पनि दु्रत कर्जा प्रवाह गर्ने योजना सहितका यिनै कार्यक्रमहरु हुन् । 


सिप मूलक तालिमहरु चाहि कस्तो र क–कसलाई दिनु हुन्छ नि ?

बैंक सहकारी तथा वित्तिय सँस्थाहरु जसले हामीबाट ऋण लिन्छन् । जसलाई हामी थोक कर्जा भन्छौं । उनीहरुलाई कर्जा दिंदा १ दिने अभिमूखिकरण तालिम दिन्छौं । यस्तो तालीममा मूलतह कोषको परिचय, कार्यक्रम, लक्ष्य केहो ?, कर्जाका सर्तहरु के हुन ? अशुली कसरी गर्ने ? धितो नलिने कुराहरु, हाम्रा ऐन, नियम, कानूनहरु लगायत केके छन् हामीले सिकाउनु पर्ने कुराहरु हामीले त्यो गर्छौ । त्यो सहकारी र बैंक बित्तिय सँस्थाहरुका लागि त्यो देखी बाहेक बैंक बित्तिय सँस्थाहरुले तल लगानी गर्छन्  । व्यक्ति तथा व्यवसायीलाईृ लगानी गर्छन् त्यतिबेला उनीहरुको लागि आवश्यकता हेरेर त्यो तालील दिने गरिन्छ । सामान्य अभिमूखिकरण गरेर त्यो चाहि पर्याप्त र उपर्युक्त छ भने त्यहि अनुसार गरिन्छ । होइन अलिकति केहि सिप सिक्न चाहान्छ भने हामीले सरकारका बिभिन्न निकायहरु मार्फत समन्वय गरेर तालिमहरु प्रदान गर्दछौं । उसले के गर्न खोजेको हो त्यो अनुसारको तालिमहरु प्रदान गछौं ।
 
एउटा सामान्य मान्छे जसले स्वरोजगार बन्नका लागि यहाँ ऋण लिन चाहान्छ भने, त्यसका लागि यहाँ के–कस्ता प्रक्रियाहरु छन् त ?

सबभन्दा पहिला उ के गर्न चाहान्छ ? उ कति पढेको हो ? के पढेको हो ? के जानेको छ ? के सिप छ त उ संग ? त्यो छ भने आफ्नो सिप अनुसारको के गर्ने चाहाना छ त्यसको व्यवसायीक प्रस्ताव (बिजनेश प्लान) तयार गर्नु पर्यो । यदि यसको सिप छैन भने सिप हुँनै पर्छ भन्ने छैन । सामान्य खेती किसानी गर्दा वा अन्य त्यस्तै खालका पसल सञ्चालन गर्नका लागि त्यस्तो धेरै सिप चाहिदैन् । त्यस्तो गर्न त ठीकै छ तर स्पेशल केहि गर्न चाहान्छ सिप अनुसारको कार्य गर्न चाहान्छ भने व्यवसायिक प्रस्ताव उसले जिल्ला अनुगमन समिति तथा स्थानीय बैंक बित्तिय सँस्था वा सहकारीमा प्रस्तुत गर्नु पर्यो । अनि बैंक बित्तिय सँस्था र सहकारीले कोषले सूचना प्रकाशित गरेपछि एकिकृत प्रस्ताव प्रस्तुत गर्नु पर्दछ ।  हामीले यहि पुषमा सूचना प्रकाशित गर्दैछौं । बैंक बित्तिय सँस्था वा सहकारीले त्यो आफ्नो कार्य क्षेत्र भित्र गाउँ इलाका, जिल्ला क्षेत्र के हो ? माथि चर्चा गरिएको व्यवसायिक प्रस्ताबहरुलाई एकिकृत गरी कोषमा आवेदन गर्नु पर्दछ । अनि हामीले अनुगमन गरी सबै मापदण्ड पूरा गरेका त्यस्ता संस्थाहरुलाई हामीले ५० लाख दिन्छौ । र, एक जना व्यक्तिलाई २ लाख दिन्छौं । अब चाडै त्यो बढाएर ५० लाखको सट्टा १ करोड र २ लाख को सट्टा ५ लाख गर्दैछौं । यसकालागि केही समय लग्छ । यसरी हामीले कर्जा प्रवाह गर्छौ । सहकारीले आवेदन गरिसके पछि हामीले अनुगमन गर्छौ । अनसगमन गर्दा उपर्युक्त सहकारी वा व्यवसायि हुन् भने चाही हामीले पैंसा दिन्छौं ।
 
व्यवसायिक प्रस्ताव चाहि कहिले पेश गर्नु पर्छ त ?

यही पुष १५ सम्ममा हामीले सूचना प्रकाशन गर्छौ । प्रस्ताव पेश गर्नु भनेर हामीले आह्वान गर्छौै । त्यतिबेला उनीहरुले आवेदन गर्न सक्छन् । अहिलेसम्म करिब हजार १२ सय  सहकारीसँग हामी काम गरिरहेका छन ।
 
युवा स्वरोजगार कोष सचिवालयले कुनै एक व्यक्तिलाई कर्जा प्रवाह गर्न सक्छ कि सक्दैन् ?

हामीले व्यक्तिलाई दिदैनौं । बैंक, सहकारी वा अन्य सँस्थाहरुलाई दिन्छौं । यहाँ कुरा क्लिएर हुनु आवश्यक छ । कुनै व्यक्ति यहाँ पहुँच गरेर मलाई ऋण दे भन्दै आएमा हामीले ऋण दिदैनौं । उँ कहाँ बस्छ ? कहाँ ठेगाना हो ? त्यहि कुनै सहकारी वा अन्य बित्तिय सँस्थामा आवद्ध हुनु पर्यो । सहकारीमा आवद्ध नभए पनि यहाँ आउदा चाहि सहकारी वा वैंक वित्तिय संस्थामार्फत नै आउनु पर्यो ।

भने पछि सिधै व्यक्ति आएमा ऋण पाउदैनन्  हैन त ?

पाइदैन । अब हामीले के पनि गर्न लागेका छौ भने फाष्टट्र्याक सेवाबाट ऋण उपलब्ध गराउछौं ।

फाष्टट्राक चाहि कस्तो प्रकारको सेवा हो ?

फाष्ट ट्रयाकबाट ऋण उपलब्ध गराउने भनेको तत्कालैै वा चाएिको वेला भनौ न एक हप्ता भित्र चाहियो भने कुनै व्यवसाय गर्नका लागि त्यसरी ऋण उपलब्ध गराउन लागि रहेका छौ । हाम्रो संचालक समितिले यस वारे निर्णय गरिसकेको छ । अब हामीले यहाँ ट्रोलफ्रि नम्बर राख्छौं, त्यहाँ कुनै पनि वेरोजगार, वा स्वरोजगार हुन चाहने व्यक्तिले फोन गर्न सक्छ, त्यस्तो व्यक्तिलाई हामीले जिल्ला स्थित कार्यालयमा सम्पर्क गरेर पठाइदिन्छौं । त्यसको लागि हामीले धितो लिने निर्णय गरेका छौं । कार्यबिधिहरु बन्दैछन् । यसको मोडल पनि तयार गर्दैछौं । केहि बिधि बिद्यान मिलाएर थप कार्यक्रमहरु तयार पार्दैछौं । यो प्रक्रियामा चाहि व्यक्तिले नै सम्पर्क राख्न सक्छन् र तर उसले ऋण लिनकालागि  भने फेरी माथि भनिए झै वैंक तथा वित्तिय संस्था वा सहकारीमार्फत नै आउनु पर्दछ । यति हो कि उसले यो कार्यक्रममार्फत आफुलाई चाहिएको वेलामा ऋण पाउछ । 
 
जुन ६० प्रतिशत अनुदानको कुरा आयो, कुनै बिशेष शिर्षकको कर्जामा लागु हुने हो की सबैमा ?

त्यो सबै कर्जामा लागु हुन्छ । व्याजदरमा ६० प्रतिशत अनुदान दिन्छौं ।

बिना धितो हाल २ लाख कर्जा दिनु हुदैछ, केहि समय पछि त्यसलाई बढाएर ५ लाख पुर्याउनु हुँदैछ डुब्ने खतरा हुँदैन ?

तिर्नै पर्दैन भन्दा त जति पनि नतिर्दा भयो । यो सरकारी पैसा हो मास्न पाइदैन । मासियो भने कुनै जग्गा जमिनको धितो भन्दा इज्जत प्रतिष्ठा ठूलो हुन्छ । उसको घर जग्गा पासमा रोक लगाइन्छ बिस्तारै बिस्तारै सरकारी सेवा सुविधा कटौति गरिन्छ । सरकारी सुविधाहरु धरापानि, बिद्युत्, टेलिफोन, इन्टरनेट जस्ता सबै सेवा कटौति गरिनेछ । अनि सामाजिक प्रतिष्ठा गएन ? कालो सूचिमा राखिन्छ यि यावत कारवाहीहरु झनै कडा छैनन् र त्यसैलले धितो सामूहिक हुन्छ, र परियोजना नै धितोको रुपमा रहन्छ् । एउटा सामाजिक जिवनमा यि धेरै ठूला कारबाहि हुन् नि हैन र ? धितोसंग भन्दा सामाजिक प्रतिष्ठा ठूलो हो यो सबैले जोगाइ राख्नु पर्छ । यो नै समाप्त भए सबै गुम्यो नि होइन र ?

यहाँबाट हाल सम्म कुन क्षेत्रमा बढी लगानी हुने गरेको छ त ?
कृषिमा

कर्जा लिन धेरै ठूला बैंक मार्फत आउछन् कि सहकारी ?

सहकारीबाट बढी आउने गरेका छन् ।

नेपालबाट दैनिक रुपमा १५ सय भन्दा बढीको संख्यामा युवाहरु बैदेशिक रोजगारको लागि बाहिर जाने गरेका छन्, तिनीहरुलाई नेपालमै स्वरोजगार बनाउन यस कोष सचिवालयले केहि कार्यक्रम गरेका छैनन् ? कि गर्ने योजनामा छन् ?  

हामीले अहिले करिब एक हजारको हाराहारीमा सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन कर्जा प्रवाह गरिरहेका छौं । यसवर्ष थप ६ सय जति सहकारी मार्फत यो सेवा दिने योजना बनाएको छौं । बैंक बित्तिय सँस्थाहरुमार्फत पनि हामीले काम गरिरहेका छौ. । गाउँ गाउँमा सहकारी मार्फत लगानी भैरहेको छ, जिल्ला संयोजना समिति जसको संयोजक प्रमुख जिल्ला अधिकारी हुने हाम्रो नियमावलीमा व्यवस्था छ, त्यसर्थ युवाहरुले यो कोषबारे नजानेको नसुनेको नै होला भन्ने मलाई लाग्दैन् । कुना कुनामा सन्देश पुगेको । जिल्ला प्रशासन कार्यलयमा हाम्रो अफिस छ । देशभर मनाङ्ग र मुस्ताङ्ग बाहेक ७३ बटै जिल्लामा हाम्रो सेवा पुगेको छ । हामी अझ प्रोमोशनल एक्टिभिटिज गर्ने योजनामा छौं ।

हाल सम्म यहाँबाट कर्जा लिएर नतिर्ने र कालोसूचिमा राख्नु पर्ने तथ्यांक कत्तिको छ ?

अशुलीका एकिन तथ्यांक त अहिले म संग छैन् । अहिलेको अवस्थामा साना सहकारीको असुली राम्रो छ । केहि ठूला सहकारीहरुले शुरुमा लिएको कर्जा जोखिमको अवस्थामा छ । त्यस्ता सहकारीउपरको कानूनी कार्यवाही अगाडि बढेको छ, सँगसँगै असुली पनि हुन थालेको । अशुली गरिन्छ, त्यस्ता व्यक्तिहरुले उन्मुक्ति पाउदैनन । 

अहिले सम्म कति कर्जा लगानी भएको छ त ?

अहिले सम्म करिब साढे ४ अर्बको हाराहारीमा लगानी भएको हुनु पर्दछ । 

सबै भन्दा बढी लगानी भएको जिल्ला कुन हो ?
सुर्खेत, ललितपुर, काभ्रे, झापा लगायतका जिल्लाहरुमा बढी लगानी भएका छन् ।

मनाङ्ग–मुस्ताङमा त सेवा सून्य नै रहेछ नि हैन ?

भौगोलिक विकटताले बैंक बित्तिय सँस्था पनि नभएका कारण त्यहाँ सून्य भएको हो हामीले ति जिल्लामा पनि सेवा विस्तार गर्ने योजना बनाएको छौं ।

युवा स्वरोजगार कोष सचिवालयको स्थापना भएको ८ बर्ष भयो, परिणाम चाहि कस्तो आएको छ त ?

३० हजार भन्दा बढी स्वरोजगार भएका छन् । यस बर्ष हामीले ५० हजारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छौं । सुन्दा अचम्म लाग्दा । यत्तिका बर्षमा ३० हजार अनि एकै बर्षमा ५० हजार भनेर । हामीले चालु आ.ब.को प्रथम चौमासिकमा १५÷२० व्यक्तिलाई रोजगार उन्मुख गरिसकेका छौं । अगाडीको आर्थिक बर्ष सम्ममा हामिले ४ अर्ब लगानी गरेका रहेछौं । यस बर्ष पहिलो चौमासिकमा मात्र ७५ करोड सम्झौता गरिसकेका छौं । यही रफ्तारमा जाँदा लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ । यसकालागि सम्वन्धित सबै निकायहरु सकारात्मक र सहयोगी बन्नु पर्दछ । 

राजनीतिक अस्थिरताले चाहि यो युवा स्वरोजगारलाई कत्तिको अशर पर्ने गरेको छ ?

त्यो पर्ने गरेको छ । पटक पटक सरकार र मन्त्रीहरु परिवर्तन हुँदा त्यो घटनाक्रमले छोएको अनुभव छ विगतमा । तर, मैले भने त्यस्तो अनुभव गरेकोे छैन् । अहिलेसम्ममा २ जना अर्थमन्त्री परिवर्तन हुनुभयो । दुवै जना कोषको काम विस्तारमा ज्यादै सकारात्मक रहनु भएको छ । मलाई पूराकापूरा सहयोग मिलेको छ । 

अन्तमा नेपालबाट रोजगारीका लागि बिदेश पलायन हुने युवाहरुलाई केहि भन्न चाहानु हुन्छ कि ?

बैदेशिक रोजगारका लागि बिभिन्न मूलुक जानु भएका तथा जान तयारी अवस्थामा रहनु भएका युवाहरुलाइृ म के भन्न चाहान्छु भने नेपालमा बसेर के गर्ने चाहाना छ स्वरोजगार बन्नका लागि प्रस्ताव लिएर आउनु पर्यो । स्वरोजगार बन्नका लागि हामी सस्तो ब्याजदरमा कर्जा दिन्छौं । व्यबसाय गर्न तयार चाहि हुनु पर्यो । हामी नेपालीको एउटा बानि छ तत्परता नदेखाउने । कुनै पपिन काम गर्न, श्रम गर्न हिच्किचाउनु हुँदैन । कामप्रति र श्रमप्रति सम्मान गर्नु पर्दछ । त्यो मानसिकता बनाई उद्यमशिल बन्नका लागि प्रस्ताव लिएर आउनु पर्यो । पैसाको चिन्ता छैन । युवालाई स्वरोजगार बनाउन हामी जतिपनि लगानी गर्न तयार छौं । पैसा कमाउन बिदेश जानु पर्दैन नेपालमा पैसा कमाउन सकिन्छ । त्यसर्थ म युवाहरुलाई नेपाल मै पसिना बगाएर पौरख गरेर आफ्नो मूलुकलाई समृद्ध बनाएर आफ्नो समस्या पनि समाधान गर्न आगह्र गर्दछु ।
 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *