December 19th, 2016

राष्ट्र बैंकले विक्री गर्यो साढे १२ अर्बको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले सोमबार ट्रेजरी बिल विक्री गरेको हो ।

राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको हो, जुन आगामी चैत्र आठ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिने अवधिको दुई अर्ब ६५ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको छ । यो ट्रेजरी बिल ०७४ असार ६ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिने रहेको छ, जुन ०७४ पुस ४ गते परिपक्व हुनेछ । 

यसअघि, गत सोमबार (मंसिर २७) गते राष्ट्र बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल विक्री गरेको थियो । उक्त ट्रेजरी बिलका लागि १० अर्ब छ करोड रुपैयाँको बोलकबोल परेको थियो ।

राष्ट्र बैंकले केही समयदेखि टेजरी बिलको रकम घटाउँदै आइरहेकोमा यसपटक ह्वात्तै बढाएको छ । विशेषतः छोटो अवधिका लागि आन्तरिक ऋण उठाउनु परेमा राष्ट बैंकले ट्रेजरी बिल विक्री गर्ने गर्दछ । तर, ट्रेजरी बिलमा पछिल्लो समय आकर्षण कम भएको भन्दै राष्ट्र बैंकले ट्रेजरी बिलको रकम घटाएर लामो समयका ऋणपत्रहरुतर्फ बढी जोड दिने जनाएको थियो । सोही अनुरुप राष्ट्र बैंकले ५० करोड, २५ करोड रुपैयाँका दरले ट्रेजरी बिल विक्री गरिरहेको थियो । यसपटक भने राष्ट्र बैंकले एकैपटकमा साढे १२ अर्बभन्दा बढीको ट्रेजरी बिल विक्री गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]