December 15th, 2016

सिनर्जी पावरको २१ लाख कित्ता आईपिओ पुस ८ गतेदेखि

synergyसिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पुस ८ गतेदेखि साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । मंसिर २३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले छिटोमा पुस १२ गते र ढिलोमा पुस २२ गतेसम्म सेयर निष्काशन गर्नेछ । 

निष्काशन हुने कुल २१ लाख कित्तामध्ये तीन प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने पाँच प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई बितरण गरिएको छ । बाँकी १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले न्युनतम ५० कित्तादेखि २१ हजार कित्तासम्मका लागि आवेदन गर्न सक्ने बताइएको छ । 

७० करोड चुक्ता पुँजी भएको कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतालाई बिक्री गरि सकिएको छ । बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणका लागि विक्री गर्न लागिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । नक्सालस्थित सानिमा क्यापिटलको कार्यालय, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमार्फत आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको अवस्था कमजोर रहेको संकेत गर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]