December 14th, 2016

परनिर्भरताको अन्त्य गर्दै सहकारी : ग्रामीण भेगका महिला यसरी बन्दैछन् व्यवसायी

kuhhuraरामपुर (पाल्पा) । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गएको छ । 

श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि जीवन गुजाराका लागि रामपुरकी गीतादेवी विक ऋण झिक्न अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा पुगिन् । सहकारीले उनलाई बिनाधितो एक लाख ५० हजार ऋण सहयोग दिएपछि विकले कस्मेटिक पसल सुरु गरिन् । आम्दानी बढ्दै गएपछि उनले कस्मेटिक पसलसँगै फेन्सी, सिलाइकटाइ पनि सुरु गरिन् । बेलाबेलामा सहकारीबाट सहुलियत दरमा ऋण झिक्दै व्यवसाय बढाउँदा यथेष्ट आम्दानी हुन थालेपछि उनले चार जनालाई रोजगार समेत दिएकी छन् । “यही व्यवसायबाट छोरीलाई स्टाफ नर्सको पढाइ खर्च जुटाएँ,” विकले भनिन्,“मेरो जीवनको बाँच्ने आधार नै सहकारी बनेको छ ।” श्रीमानबाट सहारा नपाएकी विकले सहकारीबाटै ऋण लिएर घर निर्माण गरेकी छन् । 

त्यस्तै रामपुर कठानका टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक पसल चलाउँदै आएकी छन् । “पैसाका निम्ति सधैँ श्रीमान्को भर पर्नुभन्दा आफैँ उद्यमी बन्ने सोच राखेर व्यवसाय सञ्चालन गरेको छु,” उनले भनिन् । सहकारीबाट ऋण झिकेर उनले तरकारीखेतीमा लगानी गरेकी छन् । तरकारीखेतीबाट आम्दानी बढ्दै गएपछि कस्मेटिक पसल र कुखुरापालन थालेकी छन् । उनले करिब आठ रोपनी जग्गामा तरकारी लगाएर एउटा याममा दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्दै आएकी छन् । 

रामपुर बगरचोकका उर्मिला रानाले बिनाधितो अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले ऋण दिएपछि २० हजारको लागतमा होटल व्यवसाय चलाइन् । सोही व्यवसायबाट अहिले उनले करिब ३० लाखमा घडेरी जोडेकी छन् । 

व्यवसाय गर्न चाहने महिलाका लागि सहकारीले सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन थालेपछि धेरैजसो महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन् । एकल जीवन बिताउँदै आएका भीमा आलेलाई सहकारीले बाँच्ने आधार बनाइदिएको छ । १५ हजार ऋण लिएर व्यवसाय चलाएकी उनले अहिले घडेरी जोड्न सफल भएकी छन् । गरिब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाका निम्ति सहकारीले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराएपछि धेरै महिलाको सहकारीमा आकर्षण बढ्दो छ । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीमा आबद्ध करिब दुई हजार महिलाले कृषि, पशुपालन, विभिन्न पसल, होटल व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । 

सहकारीले व्यवसाय गर्न चाहने महिलालाई बिनाधितो १२ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । संस्थाले एक लाख ५० हजारसम्म बिनाधितो र त्यो भन्दामाथि व्यवसाय गर्नेका लागि परियोजना हेरेर धितो राखेर रु नौ लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए । सहकारीमा आवद्ध आठ हजार २६७ सेयर सदस्यमध्ये कारोबारमा महिला अगाडि छन् । ग्रामीण बचत तथा ऋण सहकारी संस्था गाडाँकोटका व्यवस्थापक चिरन्जीवी सिग्देल पीडामा परेका र केही गरेर देखाउने महिलाका लागि सहकारी सहारा बनेका छन् । रासस

बिनाधितो ऋण प्रवाहबाट जिल्लामा महिला उद्यमी बढ्दै गएको जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले बताइन् । जिल्लामा हाल दर्ता भएका २७१ सहकारीमध्ये महिला सहकारी ४६ वटा रहेका उनले जानकारी दिइन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]