Friday , February 24 2017

वित्तीय संस्थाहरु र साधारणसभाको रत्यौली

December 14, 2016

rp-dahalप्रा. रामप्रसाद दाहाल- वर्तमानलाई बेचेर भविष्यलाई किन्छु भन्ने अर्थमा आजको पुस्ताले आफूलाई उद्योग व्यापार व्यवसायमा घोलिरहेको हुन्छ । अनि त्यही व्यवसायिक जीवनभित्र आफ्नो भोगाई र भविष्यको समालोचना गरिरहेको हुन्छ । अनि हामी भनिरहेका हुन्छौं–अर्थ क्षेत्रमा आउनेहरुको गहन चेतना र राष्ट्रिय जिम्मेवारीको बोध हुनुपर्छ, अनि उनीहरुको वित्तीय उपलब्धिको चिन्तनले नवीन कुरा खोजिरहेको हुनुपर्छ । यही नवीनताभित्र जन्मने गर्छन् वित्तीय संस्थाहरु । 

पुँजीवृद्धिले बैंकिङ क्षेत्रमा देखिएको छटपटी 
संस्था खोल्न जति सजिलो छ, त्यसलाई सञ्चालन र वित्तीय व्यवस्थापन गर्न निकै कठिन छ । वित्तीय व्यवस्थापन गर्न नसकेर नै कयौं संस्थाहरु बन्द हुन बाध्य छन् भने कैयौं संस्थाहरु मर्जरमा गइरहेका छन् । भिन्न दुई विचारमा, दुई संस्कतिमा खुलेका र चलेका, यो मेरो भविष्यको कमाइ भन्ने अर्थमा खोलिएका यी वित्तीय संस्थाहरूको अप्ठयारोपन पनि त्यत्तिकै जटिल र गहन छ । त्यो जटिलता र सही निर्णयको अभाव समन्वयको अभाव र कार्यान्वयनको अभावले संस्थाले तोकिएको समयमा यति यस्तो गर्छु भनेर जनतासँग वा आफ्नो सेयरधनीसँग गरेको प्रतिबद्धता र बोलकबोल त्यसै त्यसै खेर गइरहेको छ । फलस्वरुप संस्थाप्रतिको अविश्वसनीयता ज्यादा बढेर गएको छ । 

झन् बैंकहरुमा ल्याइएको पूँजी वृद्धिको ठूलो भारले गर्दा संस्थाहरु “भीरका चिन्दा उधो न उभो” भइरहेको देखिन्छ । यसतर्फ सम्बद्धपक्षले गम्भीरतार्पूक सोचेर हाम्रो बजार अनुसार व्यवहार र संस्थाको कामकाजी प्रवृत्तिलाई अगाडि बढाउनु पर्ने देखिन्छ । अन्यथा वित्त कम्पनीका विकासको आर्थिक आधार धेरै थिए धेरै छ, धेरै छुटेछ भनेर पश्चाताप गर्नु बाहेक अरु के हुन्छ र ? वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरु राष्ट्रबैंकको पूँजी वृद्धि गर्न दिएको निर्देशनले छटपटीमा परिरहेको  देखिन्छन् । जसरी भएपनि जे गरी भएपनि हकप्रद सेयर जारी गरेर तोकिएको पुँजी पूरा गर्न बाध्यात्मक परिस्थिति सृजना गर्न खोजिरहेको छन् । जसले गर्दा सेयर सदस्यहरु कागजीरुपी सेयर किन्ने पीडामा जलिरहेका छन् । “खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छो बाउको अनुहार” भइरहेका छन् । यो पीडा बुझ्ने कसले ? 

अब कस्तो व्यवस्थापन गर्ने ?
अब कस्तो व्यवस्थापन गर्छौं, त्यसमा नै वित्तीय संस्थाको जीवन पद्धति गुज्रिरहेको हुन्छ । उत्पादन र उत्पादकत्व बढाउने, सीमित साधन र स्रोतलाई परिचालन गर्न, बौद्धिका र व्यवस्थापकीय कसीको रुपमा खडा भएको छ । शास्त्रले दिने भनेको ज्ञान, योजना, संगठन, निर्देशन, समन्वय, नियन्त्रण, प्रतिवेदन, वजेट, कर्मचारी मुख्य हुन् । यसलाई व्यवस्थित गर्ने नेतृत्वदायी व्यक्ति नै संगठनको अगुवा हो र उसको कुशलतापूर्वक संयोजनले नै सही निकास दिन्छ र विकासको आर्थिक आधारलाई पहिचान गराउने परिकल्पना ध्येय र उद्देश्य पूर्ति हुन्छ । त्यसैबाट समाजले सहजरुपमा पाउने कुरा उपयोग गर्छ । त्यसैले सञ्चालक र व्यवस्थापन चुस्त दुरुस्त बौद्धिक र दूरदृष्टि भएको हुनुपर्दछ । नत्र आफ्नो मान्छेलाई पद दिने बाहेक अरु केही हुन्न ।

साधारणसभा किन गर्ने ?
कम्पनी वा संस्थाले आफ्ना सेयरधनी सदस्यलाई कम्पनीको विगतको समिक्षा, वर्तमान मौजुदा स्थिती, भावी रणनीतिका बारेमा जानकारी गराउन, सुझाव सङ्कलन गर्न, कतिपय विषयमा सही मार्ग निर्देशन लिन सामान्यतयाः वर्षमा एकपटक कम्पनीको साधारणसभा गर्नुपर्ने प्रावधान राखिएको हुन्छ । विशेष प्रस्ताव र विशेष अवस्थामा जुनसुकै साधारण सभा बस्न  सक्दछ । साधारणसभा सामान्यतयाः सञ्चालक समितिले कम्तीमा २१ दिनको समय राखेर सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र आफ्नो निश्चित प्रस्तावमा छलफल गरी सेयरधनी सदस्यबाट पारित गराई कार्यान्वयनमा लैजाने प्रावधान रहेको छ । तथापि यो कानुन, नियम र विधिका कुरा हुन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ? यो लगानीकर्तालाई दिएको अपनत्व वा अधिकार भन्ने बुझ्न सक्नुपर्छ ।

साधारणसभाका विषयगत विवरण कस्ता हुन्छन् ?
सञ्चालक समितिकोे तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, बैंक वासलात, नाफा नोक्सानको बाँड–फाँड हिसाब, नगद प्रवाह विवरण, सेयर पुँजी तथा स्वामित्व बढी लगानीकर्ता सेयरधनीको विवरण जगेडा तथा कोषहरु, ऋणपत्र तथा वण्ड, तिर्न बाँकी कर्जा सापटी निक्षेप हिसाब, भुक्तानी दिनुपर्ने विलहरु अन्य दायित्वहरु, नगद मौज्दात, कार्यालय सञ्चालन खर्च, सम्भावित नोक्सानी व्यवस्था, पुँजीकोष तालिका, प्रमुख लेखानीतिहरु राखेर वित्तिय संस्थाहरुले कतिपय पुस्तिकाहरु नै सेयरधनी महानुभावहरुको हातमा पार्ने गरिन्छ । सोही विषयमा छलफल र निष्कर्षमा पुग्नको लागि समान्यतयाः आ.व.को आरम्भ श्रावणदेखि पौषमसान्तसम्ममा सम्पन्न गरिसक्ने लहरकै रुपमा साधारण सभाहरुको सूचना राष्ट्रिय दैनिक पत्रिकामा आइरहेका हुन्छन् । 

यथार्थ : साधारणसभा या रत्यौली ?
विधि र कानुनको आधारमा त साधारण सभा हुन्छन् । तर व्यवहारमा कम्पनीको एक/दुई सय कित्ता सेयर किन्ने अनि निश्चित मान्छेले आफ्ना मनका निश्चित कुरा पोख्ने, स्वादले भन्ने, सञ्चालक समितिले सुन्ने,  मन लागेको विषयमा मनले खाएको उत्तर दिने, अनि कम्पनी सचिवले राखेको प्रस्तावमा ताली ठोक्ने, पास–पास भन्दै बाहिर राखिएको लञ्च वा जलपान वा डिनर खाने, तमासा हेर्ने किसिमको रत्यौलीको तालमा सकिने व्यवहारिक व्यवस्था नै वर्तमान मौजुदा साधारणसभाको यथार्थता हो भन्ने कुरा सबै सेयरधनीले बुझेको कुरा हो । सेयरधनीको उपस्थिती कोरम पुर्याइदिने आवश्यकताको अवस्थामा टुङ्गिएको देखिन्छ । यो नै साधारणसभाको यथार्थ उपलब्धि हो । जसलाई घरबाट विवाहका लागि बेहुला अन्माएपछि घरुली महिला र संगीनीहरूले स्वतन्त्रतापूर्वक खेलिने रत्यौली जस्तै कुनै जिम्मेवारी रहँदैन, मात्र मनोरञ्जनमा केन्द्रित हुन्छ । त्यस्तै हुन्छन्, आजभोलीका साधारणसभाहरू ।

समाधान के ?
सम्बद्ध पक्षले आफूलाई आफैँले बनाएको नियम कानुन पालन गर्नुपर्दछ । आफ्नो हैसियत तथा संस्थाको अवस्था र स्थिति अनुसारको नीति÷विधि ल्याउनुपर्दछ । कार्यान्वयन प्रणाली अत्यन्त पारदर्शी चुस्त र दुरुस्त राख्न सक्नुपर्छ । सेयरधनीसँग जे प्रतिबद्धता गर्ने हो त्यो पूरा गर्नैपर्छ । बोल्ने तर पूरा नगर्ने प्रतिबद्धता व्यक्त गर्नु हुँदैन । सपना देख्नपर्छ तर आफूलाई मात्र पूरा हुने, सेयरधनी वा राष्ट्रका बारेमा केही पनि गर्न नसक्ने सपना देख्नुहुँदैन । आफ्ना मान्छेलाई लाखौँका विज्ञापन दिने, सामाजिक दायित्वका नाममा भरौटे चाकडीबाजलई रकम दिने, अत्यधिक फजुल खर्च वृद्धि गर्ने र आफू मोज गर्ने, करोडौँको गाडी चढ्ने, मोज मजा र विलासीको जीवनयापन गर्ने, तर लैनो गाई बेचेर, घर जग्गा बेचेर, लगानी गर्ने सेयरकर्ता, अझ साना सेयरकर्तालाई भने सँधै आश्वासन मात्र दिने व्यवस्थाले समाधान निस्कँदैन । झन् बल्झन्छ । यी पक्षलाई निरुत्साहित गर्न सके समाधान निस्कन्छ, वित्तीय संस्थाप्रति मोह जाग्छ, लगानीकर्ता उत्साहीत हुन्छन् । अन्यथा “पुसको घाम फासफूस” भने झैं कुन दिन खोक्रो आडम्बरमा अडिएको संस्था धाराशाही हुन्छ भन्न सकिन्न । त्यसैले सम्बद्ध सबैले बेलैमा सोच्न सके मात्र वर्तमानलाई बेचेर भविष्यलाई किन्छु भन्ने भावमा गरिएका लगानी राष्ट्रहित र लगानीकर्ताको हितमा जान सक्छ र पर्खेर बसे फर्केर आउन सक्छ । 

Facebook Comments

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *