Monday , November 20 2017

कसरी कमायो नेपाल बैंकले यति धेरै नाफा ? पढ्नुहोस् सीइओ देवेन्द्रप्रताप शाहसँगको विशेष अन्तरवार्ता 

December 9, 2016

debendra-pratap-shah-02देवेन्द्र प्रताप शाह नेपालको ‘जेठो बैंक’ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी विगत १८ महिनादेखि नेपाल बैंकको नेतृत्व सम्हालिरहेका छन् । पछिल्लो पटक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नेपाल  बैंक लिमिटेडलाई कुशलताका साथ अघि बढाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा सर्वविधितै छ । कृषि विकास बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह ३० वर्ष कृषि विकास बैंक र करिब डेढ वर्ष बीमा समितिमा काम गरी नेपाल बैंकमा प्रवेश गरेका हुन् । एक सफल बैंकर्सको छवी बनाएका उनी एक कुशल साहित्यकार र लेखक पनि हुन् । उनले बैंकसँग सम्बन्धित र बाहिरी परिवेशको फिक्सन र नन् फिक्सन पुस्तकहरु पनि लेखेका छन् । उनै बैंकर्स तथा लेखक शाहसँग बैंकिङ खबर डटकमका संवाददाता नारदमुनि सिग्देलले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।


नेपाल बैंकले यो वर्षको सुरुमै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाएको छ । कसरी नाफा कमाउन सफल हुनुभयो ?  
०७२/७३ सालको वासलात आउनुअघिसम्म वित्तीय रुपले यो एउटा ‘सिक’ वा अस्वस्थ बैंक थियो । धेरै बर्ष अघिदेखि यो बैंक ‘बिरामी’ थियो । सरकारी क्षेत्रको ठुलो बैंक भएकाले यसलाई सुधार्नका लागि सरकार निकै लागि पर्यो । खास गरेर राष्ट्र बैंक र दातृ संस्थाको सहयोग लिएर सरकारले नेपाल बैंक सुधारको लागि प्रशस्त समय र साधन खर्च गर्यो । विगतमा करिब ५ बर्षसम्म विदेशी फर्मले समेत यसको ब्यवस्थापन सम्हाल्यो । राष्ट्र बैंक आफैले पनि प्रत्यक्ष व्यवस्थापन गर्यो । तथापी यो बैंक पुरै सुधार हुन सकेन । ठीक यसै बेला २०७१ चैत महिनामा सेयरहोल्डरहरुलाई बैंकको व्यवस्थापन सुम्पिएको हो । नाफाको कुरा गर्दा सुधारका यी प्रयासहरुको प्रसङ्ग स्वतः आउँछन् । नाफाले गर्दा नै अहिले यो ‘स्वस्थ’ बैंक भएको छ ।


त्यसरी विदेशी वा राष्ट्र बैंक आफैले व्यवस्थापन लिँदा कति सुधार भयो त? नाफा त खासै देखिएको थिएन ।
ती सुधारका विभिन्न चरणहरु थिए । तात्कालीक समस्याहरु धेरै थिए । सबैभन्दा चर्को समस्या भनेको बैंकको निष्कृय कर्जा अति नै बढी थियो, पुँजी पुगेको थिएन । बैंक पुरानो ढर्राबाट चलेको थियो, अटोमेसन थिएन । त्यस्तो अवस्थामा धेरै नाफा हुन सक्ने त कुरै थिएन । तर सरकारले खर्च गरेको अनुपातमा सुधार हुन नसकेको ठान्नेहरु पनि छन् ।
त्यसो भए के राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेको अवधिमा पनि अपेक्षित सुधार नभएकै हो त ? 
त्यस्तो मैले कहिले पनि भनेको छैन । ती समयमा पनि सुधार भएका छन् । निष्कृय कर्जा निकै घटेको छ, सरकारबाट पुँजी थपिएको छ, साधारण सेयरहोल्डरहरुले पनि थप लगानी गरेका छन् । तर बैंकको रिजर्भ नेगेटिभ अवस्थामा थियो, । २०७१ चैत्रमा यो बैंकको नकारात्मक रिजर्भ करिब ३ अर्ब रुपैयाँ थियो । पुँजी पर्याप्तताको अनुपात न्युन थियो, पुगेको थिएन । ब्यापार व्यवसाय न्युनतम बिन्दुमा थियो । खर्च अनियन्त्रित थियो ।


अहिले २०७३ सम्म आइपुग्दा के भयो त?debendra-pratap-shah-03
तपाईले सुरुकै प्रश्नमा पनि सोधिसक्नुभएको छ, सबैभन्दा बढी नाफा कमाउने बैंक भयो । तर गत बर्ष सम्पति बेचेर भएको नाफा रकम समेत बैंकको हिसाबमा आउने भएकोले सबैभन्दा बढी नाफा कमाउने बैंक देखिएको हो । वास्तवमै आफ्नो नियमित कारोबारबाट सबै भन्दा बढी नाफा कमाउने बैंक भइसकेको भने होइन । आगामी बर्षहरुमा यसको नाफा २०७३ को तुलनामा घट्ने छ, तर यसलाई सामान्य रुपमा लिनुपर्छ ।


नाफा घट्दा पनि सामान्य रुपमा लिने त?
यसको जवाफ माथिकै भनाइमा आइसक्यो । सधै सम्पती बेच्ने काम त गर्ने कुरा भएन नि ।


२०७३ सम्म किन सम्पति बेच्नुभयो त?
नेपाल राष्ट्र बैंकले तोकेअनुसार यस बैंकको पूँजी पर्याप्तताको अनुपात कम्तिमा १०५ हुनुपर्ने थियो । २०७१ असारमा यो ४.५८५ मात्र थियो । यो नपुग्दा राष्ट्र बैंकले नेपाल बैंकलाई सजाय नै गर्ने स्थिति आइसकेको थियो । २०७३ असार मसान्तको अन्तिम म्याद दिइएको थियो । त्यसैले पनि सम्पति त नबेची नहुने अवस्था थियो । 


राष्ट्र बैंकले नै सम्पति बेच्न भनेको थियो?
हो । राष्ट्र बैंक र सरकारकै सुझाव अनुसार बेचिएको हो । म आउनुअघि नै संचालक समितिले पनि पास गरिसकेको रहेछ । 


अब यो बर्ष सम्पति बेच्नुहुन्न?
केही कम्पनीहरुको सेयर बेच्न सकिएला तर जग्गा बिक्री चाहिँ अब २०७२÷७३ को जस्तो प्राथमिकतामा राख्नेछैनौँ । 


खासमा बैंकको पँुजी कति पुग्यो अहिले?
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५० करोड रुपैयाँ छ । एक वर्षभित्रै ८ अर्ब रुपैयाँ पुर्याउने योजना छ । त्यसका लागि हामी २३ प्रतिशत हकप्रद सेयर जारी गर्नेछौ । 


निक्षेप र कर्जा कति पुग्यो ?
कुल कर्जा असार मसान्तसम्म ६३ अर्ब रुपैयाँ थियो । एक बर्ष अघि ५३ अर्ब रुपैयाँमात्र थियो । अहिले असोज मसान्तसम्म त्यो बढेर ६६ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकको कुल निक्षेप अहिले ८४ अर्ब रुपैयाँ रहेको छ । 


बैंकका अन्य सकारात्मक पक्षहरु के–के हुन् ? 
यस बैंकका १ सय २६ वटा शाखा छन् । सबै ग्राहकको हिसाब गर्दा ८ लाख पुग्छन् । शाखारहित बैंकिङबाट सबै सेवासुविधा दिन नसकिने हुँदा यो सेवा नेपाल बैंक लिमिटेडले हालसम्म चलाएको छैन । हाम्रो बैंकको ४० वटा एटीएम छ । यस बैंकमा काम गर्ने कर्मचारी देशैभरीको गरेर २५ सय छन् । र अर्को महत्वपूर्ण कुरा विगतमा थुप्रै वित्तीय चुनौति झेलेको यो बैंक सशक्त बैंकको रुपमा अघि बढ्दै गरेको बैंक हो ।  


विगतमा नेपाल बैंक लिमिटेडमा के कस्ता समस्या पाउनुभयो ?
 अटोमेसनमा समस्या थियो । हाम्रा शाखाहरु दुईवटा सफ्टवेरले चलेका थिए । अब एउटै सफ्टवेरले काम गरेको छ । यसर्थ अहिले हामीसँग केन्द्रिकृत सफ्टवेर छ ।


चालू वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई कसरी लिनुभएको छ ? 
वित्तीय स्थायित्वका लागि यी नीतिहरु आएका हुन् जुन स्वागतयोग्य छ । विपन्न वर्गमा २ प्रतिशत कर्जा प्रवाह बैंक आफैले प्रत्यक्ष गर्नु भनिएको छ । त्यसको हामीले यसअघि नै पालना गरिसकेका छौँ । तर अरु बैंकहरुलाई समस्या हुन सक्छ । हामीलाई छैन । ब्याजदरको करिडरको कुरा पनि ठीक छ । उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने कुरा पनि राम्रो छ । समग्रमा मौद्रिक नीति स्वागतयोग्य छ । 


नेपाल बैंक लिमिटेडले उत्पादनशील क्षेत्रमा र बिपन्न बर्गमा कति लगानी गरेको छ ?
राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा २० प्रतिशत पुर्याउन भनेको छ । हाम्रो त्यो भन्दा बढी छ । विपन्न बर्गमा पनि राष्ट्र बैंकका निर्देशनअनुसार हामीले कर्जा लगानी गरेका छौँ । यसमा हामीलाई समस्या छैन । 


बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनशील क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा बढी देखिन्छ । यसले बैंक तथा वित्तीय संस्थाको लगानी जोखिम निम्त्याइरहेको छ भनिन्छ नि ?
राज्यका तर्फबाट उत्पादनशील क्षेत्रमा जोड दिनु ठिकै हो । तर उत्पादनशील क्षेत्रमै लगानी गर्ने यी संस्थाहरुको दायित्व होइन । यसको दायित्व त लगानीकर्ता वा व्यवसायीहरुको मागबाट निर्धारण हुने हो । माग भएको क्षेत्रमा कर्जा प्रवाह गर्नाले दुबै पक्षलाई फाईदा हुन्छ । हामीले जोखिम त हेरिरहेका हुन्छौँ । त्यसैले जोखिम बढी हुने क्षेत्रमा कर्जा प्रवाह गर्दैनौँ । उत्पादनशील क्षेत्रमा लगानी गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । तर निमनकारी निकायले दिएको निर्देशनको त पालना हुनैपर्छ । हाम्रो आफ्नै पनि जोखिम व्यवस्थापनको समुह छ । राष्ट्र बैंकले पनि जोखिमको न्यूनीकरण गर्न ‘रिस्क बेस्ड सुपरभिजन’ चलाएको छ । 


राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्य पनि देखिन्छ, यसले वित्तीय क्षेत्रको स्थायित्वमा कस्तो खालको परिवर्तन ल्याउला ?
यो नीतिले वित्तीय क्षेत्रमा राम्रै काम गरेको छ । वित्तीय संस्था भनेको जनताको सम्पतीबाट चल्ने संस्था हुन् । जनताको पैसा चलाउने संस्था च्याउ उम्रेजस्तो हुनु राम्रो होईन । देशको वित्तीय स्थायीत्वमा समस्या पर्न सक्छ । धेरै अव्यवस्थित र न्यून पुँजी भएका संस्थालाई घटाएर व्यवस्थित गराउनु त राम्रो कुरा हो ।


राज्यको अर्थतन्त्र कमजोर छ, तर यहीँ फेरी बैंकिङ क्षेत्रको निकै सबल मानिन्छ ।  यसलाई कसरी लिनुभएको छ ?
यदि बैंक वा वित्तीय संस्थाले नोक्सान गर्न थाले भने त्यो देशका लागि खतरा सम्झनुपर्छ । नोक्सानमा पर्नु भनेको जनताको ढुकुटीबाट खर्च गर्नु हो । जनताको बचतबाट खर्चं हुन थाल्यो भने जनता आतंकित हुने अवस्था आउँछ । नाफा गरिरहेका संस्थाहरु डुब्ने समस्या हुँदैन । यो त बचतकर्ता र सेयरहोल्डरका लागि राम्रो कुरा हो । सरकारका लागि पनि राम्रो कुरा हो किनभने यी संस्थाहरुले सरकारलाई कर तिर्छन् । कुनै पनि राष्ट्रका ठुला बैंक तथा वित्तीय संस्था नोक्सानमा जानु भनेको त्यो राष्ट्रको अर्थतन्त्रको लागि बिलकुल राम्रो होइन । अमेरीकामा हाउजीङ लगानीबाट बैंक डुबेका थिए । सोही समयमा त्यहाँ आर्थिक संकट बढेको थियो । बैंकहरुले नाफा गरिरहँदा मध्यम अबधिमा देशको अर्थतन्त्र पनि खस्केको हुँदैन । 


तपाईको अनुभव अनुसार एउटा बैंकलाई सफलतापूर्वक अघि बढाउन के र कसरी ब्यबस्थापन गर्नुपर्छ ?  
सबैभन्दा पहिला नेतृत्व गर्ने मान्छे आफै गम्भीर र इमानदार हुनुपर्छ । मान्छेमा व्यवस्थापन गर्ने आ–आफ्नो तरिका हुन्छ । तर तरिका जस्तै भए पनि नतिजा आउनु पर्छ । भनिन्छ, बिरालोको रङ्गको खासै अर्थ हुन्न, मुसा मार्ने हुनपर्यो । प्रायः ठुला संस्थाहरु भिन्दै संस्कृतिबाट संचालित हुन्छन् । सोहि संस्कृति बुझेर आवश्यक ठाउँमा हस्तक्षेप गरेर नराम्रो कामलाई नियन्त्रण गर्न सक्नुपर्छ । कामको आधारमा बाहेक भेदभाव गर्नुहुन्न । ब्यबस्थापनमा योजना र दृष्टिकोण हुनुपर्छ । त्यसैगरी संस्थाको समस्या र लक्ष्यलाई पनि बुझ्नुपर्छ । अनि ड्राइभ चाहिन्छ ।
 
अब अर्को प्रशंग जोडौँ, तपाई साहित्यमा पनि उत्तिकै सक्रिय देखिनुहुन्छ । साहित्यमा विधामा के गर्दै हुनुहुन्छ ?
हो म साहित्यपटि पनि सक्रिय छु । आजभोलि अलि बढी व्यस्तताका कारण लेख्न पाइरहेको छैन । यद्यपी समय मिलेसम्म अध्ययन त गरिरहेको हुन्छु  । तर त्यसैमा सीमित रहँदा मलाई अलि चित्त बुझिरहेको छैन  ।


किन यस्तो भयो त? पहिले नि, हैनकै लेख्नुहुन्थ्यो?
बैंकको सिइओ भएपछि साहित्यको लागि समय निकाल्न नसकिने रहेछ । घर परिवारको लागि त समय हुँदैन, अब साहित्यको लागि कहाँबाट समय ल्याउँ?


तपाईले हालसम्म कतिवटा किताब लेख्नुभयो, ती कुन–कुन हुन् ? 
तीनवटा किताब छ, खास गरेर मेरो झुकाव कथा साहित्यमा हो । खासै चर्चित छैनन् । यद्यपी ‘अपरिचित देश’ कथा संग्रह, ‘केही साहित्यकारहरुसित’ अन्तवार्ता संग्रह र ‘आफ्नै परिवेश’ नन फिक्सन किताब छन् ।


तपाईलाई बुझ्न कुनचाहिँ किताब बढी सहयोगी होला?
’आफ्नै परिवेश’ । यो नन–फिक्सन किताब एउटा बैंकरको अनुभव हो, तपाईलाई पनि चाख लाग्ला ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *