December 8th, 2016

नेपालमा विदेशी मुद्रा कसरी साट्न सकिन्छ ? जान्नुहोस् विस्तृतमा 

foreign-currencyसामान्यतयाः विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशी मुद्रा साटेर नेपाली रुपैंया लिनका लागि मनी एक्सचेन्ज कम्पनीहरुको सहायता लिन सकिन्छ । नेपालमा राष्ट्र बैंकले विनिमय दर तोकेका २१ ओटा देशका मुद्रा सटहीको कार्य मनी एक्सचेन्ज कम्पनीले गर्न पाउँछन् । 

कसरी साट्ने मुद्रा ?
मनी एक्सचेन्ज कम्पनीहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुका लागि ल्याएको नीति अनुरुप, १ देखि ५०० सम्मका विदेशी मुद्राहरु साट्ने हकमा पैसा सटही गर्न चाहने व्यक्ति वा संस्थाको परिचय खुल्ने कागजातहरु (जस्तै, आइडी कार्ड, नागरिकता, भेहिकल लाइसेन्स आदि) साथमा लिएर आएको खण्डमा उसले ५०० सम्मको विदेशी मुद्रा साट्न पाउँछ । तर ५०० भन्दा माथिका विदेशी मुद्राहरु साट्ने हकमा भने पैसा सटही गर्न लागेको व्यक्तिको भिसा लागेको पासपोर्ट, कुन प्रयोजनको लागि मुद्रा सटही गर्न लागेको यसको विस्तृत विवरण सहितको कागजात र यदि विदेशबाट कमाएर ल्याएको मुद्रा भए त्यहाँ रहँदा काम गरेको कम्पनीको विवरण समेतको कागजात पैसा साट्न लागेको व्यक्तिको साथमा भएमा मात्र ५०० भन्दा माथिको करेन्सी साट्न पाउने प्रावधान छ । अहिले नेपलमा राष्ट्र बैंकले तोकेको विनिमय दरको संख्या जतिओटा छन्, ती सबै देशका मुद्राहरु साट्न सक्ने इजाजत राष्ट्र बैंकले मनी एक्सचेन्जर कम्पनीहरुलाई दिएको छ ।

नियमन र अनुगमन राष्ट्र बैंकबाट
जसरी बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्छ, मनी एक्सचेन्जको काम गर्ने संस्थाहरुलाई नियमन गर्ने काम पनि राष्ट्र बैंकले नै गर्दछ । नेपाल राष्ट्र बैंकले मनी एक्सचेन्ज बजारमा जस्तो नीति लागु गर्छ त्यहि आधारमा नेपालका मनी एक्सचेन्जर कम्पनीहरु संचालित हुन्छन् । मनी एक्सचेन्जर कम्पनीहरुको अनुगमन पनि राष्ट्र बैंकले नै गर्ने गर्दछ । पूर्ण रुपमा राष्ट्र बैंकको नियन्त्रणमा हुने भएकाले राष्ट्र बैंकले चाहेको जुनसुकै समयमा पनि यी कम्पनीहरुको अनुगमन गर्न सक्छ । यसअघि राष्ट्र बैंकले धेरै पटक मनी एक्सचेन्ज कम्पनीहरुको अनुगमन कार्य गरिसकेको छ । ऐन विपरित काम गर्ने मनी एक्सचेन्जर कम्पनीहरुलाई राष्ट्र बैंकले ऐन बमोजिमको कारबाही समेत गर्न सक्छ । अनुगमनको कार्य राष्ट्र बैंकले फिल्डमै गएर वा राष्ट्र बैंकको कार्यालयबाटै गर्न सक्ने व्यवस्था ऐनमा छ ।

 छाता संगठन
“मनी एक्सचेन्ज एसोसियसन अफ फिन” मनी एक्सचेन्ज कम्पनीहरुको छाता संगठन हो । देशभरका मनी एक्सचेन्ज कम्पनीहरुको हक हितको लागि काम गर्ने र मनी एक्सचेन्ज कारोबारलाई व्यवस्थित बनाउने उद्देश्य अनुरुप यो संगठनको स्थापना गरिएको हो । संगठनका अध्यक्ष केशव कुमार बस्नेतको नेतृत्वमा यो संगठनले काम गर्दै आएको छ । तर पनि आजका दिनसम्ममा मनी एक्सचेन्ज कम्पनीहरुका लागि एसोसिएसनले जति पनि कार्य गरिनुपर्ने हो, क्रियाशील भएर काम नगरेको गुनासो मनी एक्सचेन्ज कम्पनीका संचालकहरुको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]