December 6th, 2016

हकप्रद सेयर खुलेका दर्जन बढी बैंकहरु

पछिल्लो समयमा पुँजी बढाउन भन्दै हकप्रद सेयर निश्कासन गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष सुरु भएयता २७ बैंक तथा वित्तीय संस्थाले करोडौँ कित्ता हकप्रद सेयर निश्कासन गरेका छन् । नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएका मध्ये केहिले हकप्रद सेयर निश्कासन गरिसकेका छन्, कतिपयले खुलाएको हकप्रद सेयर अझै खुला छ भने कतिपयले हकप्रद खुलाउने तयारी गरेका छन् । हकप्रद सेयर निश्कासन गरिसकेका बैंक तथा वित्तीय संस्थाहरुमा प्राइम कमर्सियल बैंक, सेञ्चुरी कमर्सियल बैंक, माउन्ट मकालु डेभलपमेण्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ, सहारा विकास बैंक, लक्ष्मी लघुवित्त, अरनिको डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सेती फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, हिमालयन बैंक, जनता बैंक, काष्टमण्डप डेभलपमेण्ट बैंक, माछापूछ्रे बैंक र नागबेली लघुवित्त रहेका छन् ।

अझै हकप्रद खुला रहेका वित्तीय संस्थाहरु
कतिपय बैंक तथा वित्तीय संस्थाहरुको सेयर अझै खुला छ । हकप्रद निष्काशन गरेका वित्तीय संस्थाहरुमध्ये, सेती फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, हिमालयन बैंक, जनता बैंक, काष्टमण्डप डेभलपमेन्ट बैंक, माछापूछ्रे बैंक र नागबेली लघुवित्तको सेयर निष्काशन खुला रहेको छ ।

हकप्रद सेयरपछि पुँजी वृद्धि

 

himalayan-bank

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडले सात बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरका ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । गत असोज १२ गते हकप्रद निष्कानशको स्विकृति पाएको बैंकले शुक्रबार (कात्तिक २६ गते) देखि आगामी मंसिर ३० गते सम्मका लागि हकप्रद निष्काशन खुला गरेको हो । हिमालयन बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हिमालयन बैंक लिमिटेड, कमलादी, काठमाडौं र शाखा कार्यालयहरु तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमार्फत् उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल हिमालयन बैंकको चुक्तापुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ रहेको छ । ७ बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँनी पाँच अर्ब १४ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार, अबको आठ महिनामा बैंकले दुई अर्ब ८६ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

 

maxapuxre

 माछापुछ्रे बैंक
माछापुछ्रे बैंक लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा मंसिर १९ गतेदेखि पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । हाल माछापूछ्रे बैंकको चुक्तापुँजी ३ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई हाल कायम चुक्तापुँजीको २० दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ । बोनस र हकप्रद दुबै जारी गरेपछि बैंकको पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

janata-bank

जनता बैंक
जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्री प्रबन्धक एनसिएममा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल जनता बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । हकप्रद सेयर वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्छ । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले तोकेको समययावधि अब आठ महिना मात्रै बाँकी छ । यो आठ महिनामा बैंकले चार अर्ब ९१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्नेछ ।

kastamandap-development

काष्टमण्डप डेभलपमेण्ट बैंक
काष्टमण्डप डेभलपमेण्ट बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९९ लाख ७४ हजार एक सय ७० रुपैयाँ बराबरका १६ लाख ९९ हजार चार सय ७१ दशमलव ७० कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि निष्काशन गरेको हो । उक्त हकप्रदका लागि आगामी मंसिर ३० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलपोखरी, काठमाडौं र काष्ठमण्डप डेभलपमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखाहरुमार्फत उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ । हाल काष्टमण्डप डेभलपमेन्ट बैंकको चुक्तापुँजी ६७ करोड ९८ लाख ९६ हजार छ सय ८० रुपैयाँ रहेको छ । उक्त हकप्रद निष्काशनपश्चात् बैंकको चुक्तापुँजी ८४ करोड ९८ लाख ७० हजार आठ सय ५० रुपैयाँ पुग्नेछ । काष्टमण्डप राष्ट्रिय स्तरको विकास बैंक हो । आगामी असार मसान्तसम्ममा बैंकले चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्नेछ ।  

 

seti-finance

सेती फाइनान्स
सेती फाइनान्स लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्काशन खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ५१ हजार ७८६ कित्ता सेयर बुधबार (मंसिर १ गते) देखि निष्काशन खुला गरेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ । हाल कम्पनीको ६ करोड ३४ लाख ५२ हजार ४०० रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद जारीपछि पुँजी नौ करोड ५१ लाख ७८ हजार ६०० रुपैयाँ थपिने छ । असार मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।

nmb

 एनएमबि माइक्रोफाइनान्स

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ बराबर १ दशमलव २ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर सोमबार (मंसिर ६ गते) देखि निष्काशन गरेको हो । कात्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन सक्नेछन् । हकप्रदको लागि पुस १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनएमबि माइक्रोफाइनान्सको विभिन्न कार्यालय सहित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंक र एनएमबि क्यापिटल लिमिटेडबाट कम्पनीको सेयरमा आवेदन दिन सकिन्छ । हाल एनएमबि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर वितरण गरिसकेपछि कम्पनीको पुँजी १० करोड १२ लाख रुपैयाँ पुग्ने छ ।
 

nagbeli

 नागबेली लघुवित्त
नागबेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दुई बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले सोमबार (मंसिर २० गते) बाट उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले १०० रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद निष्काशन पुस २४ गतेसम्म खुला रहने बताइएको छ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्ता पूँजी वृद्धिका लागि हकप्रद बितरण गर्न लागेको हो । उक्त हकप्रदको अन्तिम म्याद पुस २४ गतेसम्म मात्र रहेको छ । नागवेली लघुवित्तको हाल २ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीमा हकप्रद निष्काशन पछि पूँजी ३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
 
यस्तै केही संस्थाले हकप्रद सेयर निश्कासनको तयारी गरिरहेका छन् । सेवा विकास बैंक, नागबेली लघुवित्त विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नमस्ते वित्तीय संस्था, सगरमाथा फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक र देवः विकास बैंक भने हकप्रद सेयर निष्काशनको क्रममा छन् । धितोपत्र बोर्डको अनुमति पाएर कतिपय संस्थाले हकप्रद निष्काशनको मिति घोषणा गरिसकेका छन् भने कतिपयले मिति तोक्न बाँकी छ ।
 
हकप्रद निष्काशनको मिति घोषणा गरिसकेका संस्थाहरु   

 

western

वेस्टर्न डेभलपमेण्ट बैंक
वेष्टर्न डेभलपमेण्ट बैङ्क लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयरको निष्काशन आगामी बुधबार (मङ्सिर २२ गते) देखि खुला हुँदैछ । बैंकले एक सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पुस २६ गते सम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ । हकप्रद सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
 

sewa

सेवा विकास बैंक
सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद प्रतिशतको हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले आगामी विहीबार (मंसिर २३ गते)देखि निष्काशन गर्न लागेको हकप्रद २७ गतेसम्म खुला रहनेछ । बैंकको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल सेवा विकास बैंकको चुक्तापुँजी ४२ करोड ५५ लाख ५५ हजार २ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ ।

namaste

नमस्ते वित्तीय संस्था
नमस्ते वित्तीय संस्था लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर आगामी पुस ८ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । उक्त हकप्रद निष्काशन माघ १३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था घोराइबाट उक्त हकप्रद भर्न पाइनेछ । हाल कम्पनीको चुक्तापुँजी तीन करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद वितराणपश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
 
हकप्रद निष्काशनको मिति तय गरि नसकेका संस्थाहरु

 

sagarmatha

 सगरमाथा फाइनान्स
सगरमाथा फाइनान्स लिमिटेडले कम्पनीले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार तीन सय ९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट पाइसकेको छ । कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मंसिर २४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । जसअनुसार, मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद भर्न पाउनेछन् । हाल कम्पनीको चुक्तापुँजी ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।
 

deva

देवः विकास बैंक
देवः विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ ।
बैंकले ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
हाल देवः विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ पुग्नेछ ।

saptakoshi

सप्तकोसी डेभलपमेण्ट बैंक
सप्तकोसी डेभलपमेण्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल सप्तकोसीको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्नेछ ।   
 

kanchan

कञ्चन डेभलपमेण्ट बैंक
कञ्चन डेभलपमेण्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड ९० लाख रुपैयाँ बराबरका नौ लाख ९० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापुँजी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्तापुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।

manjushree

मञ्जुश्री फाइनान्स लिमिटेड
मञ्जुरी फाइनान्स लिमिटेडले १७५ प्रतिशत अर्थात एक बराब एक दशमलव ७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ४३ लाख ८६ हजार तीन सय ७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल फाइनान्सको चुक्तापुँजी २५ करोड रुपैंया रहेको छ । यसबाहेक फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख रुपैयाँ नाघ्नेछ ।
 
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजि बढाएर ८ अर्ब, विकास बैंकको साढे २ अर्ब रुपैयाँ र अन्य वित्तीय संस्था र लघुवित्त संस्थाको पुँजी बढाउने भनेपछि बैंकहरु धामाधम हकप्रद सेयर निश्कासन गरेर पुँजी बढाउन लागि परेका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]