December 5th, 2016

१५४४ अंकमा झर्यो सेयर बजार : सिद्धार्थको बोनसले तान्यो लगानीकर्ता

stockसोमबार पनि सेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखि गिरावटको क्रममा रहेको सेयर बजार निरन्तरको गिरावटसँगै १५४४.६० अंकमा कायम भएको छ । दिनभरिमा बजार २६.३५ अंकले घटेको हो । उत्पादनमूलक बाहेक सोमबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १७३.३८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २५.१, ५६.०८, ३३.९४, ३८.३, ८.३ र १.७३ अंकले घटेका छन् । उत्पादनमूलक समूह भने सामान्य २.३२ अंकले बढेको छ । 

मुलुकको राजनीति झझन् अन्यौलतातर्फ धकेलिँदै गर्दा सेयर लगानीकर्ताको मनोबल पनि खस्किएको पाइएको छ । आइतबार ७४ करोडको कारोबार भएको सेयर बजार सोमबार ६४ करोडको कारोबारमा सीमित भएको छ । दिनभरिमा १४० वटा कम्पनीको आठ लाख ९० हजार पाँच सय चार कित्ता सेयर चार हजार नौ सय ८२ पटक खरिदविक्री हुँदा कुल ६४ करोड ७७ लाख ७० हजार नौ सय १७ रुपैयाँ पुँजी परिचालन भएको हो ।

सिद्धार्थ बैंकको आकर्षक बोनस प्रस्तावले लगानीकर्तालाई आकर्षित गरेको छ । बैंकको ११ करोड ८३ लाख सात हजार पाँच सय २८ रुपैयाँको कारोबार भएको छ । मेगा बैंकको बोनस र हकप्रद प्रस्तावले भने खासै लगानीकर्ता तान्न सकेको छैन । बैंकको सवा पाँच करोडको मात्रै कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको चार करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको झन्डै तीन करोडको कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको दुई करोड ६७ लाख रुपैयाँको कारोबार हुँदा नेपाल एसबिआई बैंकको झन्डै साढे दुई करोडको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ९२ लाख, मञ्जुश्री फाइनान्सको एक करोड ८६ लाख, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ६० लाख रुपैयाँ र स्टान्डर्ड चार्टर्ड बैंकको एक करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । 

अरुण फाइनान्स र नमस्ते वित्तीय संस्थाका सेयरधनीले ९.९५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका सेयरधनी ९.५१ प्रतिशथका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक र एनबि इन्स्योरेन्सका सेयरधनीले साढे ७ प्रतिशतको हाराहारीमा कमाएका छन् । यसबाहेक, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्किम १, साना किसान विकास बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, बरुण हाइड्रोपावर, सिद्धार्थ इन्स्योरेन्स, सिनर्जी फाइनान्स, वोमी माइक्रोफाइनान्स, युनियन फाइनान्स, सिद्धार्थ बैंक, टुरिजम डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, कन्काई विकास बैंक र कालिका माइक्रोक्रेडिटका सेयरधनीले पनि कमाएका छन् ।

सोमबारदेखि नै हकप्रद सेयर निष्काशन गरेको नागबेली लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ९.९२, ९.५९, ९.४३ र ९.१६ प्रतिशतका दरले गुमाएका छन् । नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, वेस्टर्न डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स लगायतका सेयरधनीले पनि धेरै गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]