November 27th, 2016

‘सहकारीमैत्री’ सहकारी ऐन ल्याउने तयारी

ministryसहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विगत चारवर्षदेखि थन्किएर रहेको सहकारी विधेयकलाई पारित गर्ने तयारी भइरहेको बताएका छन् । भक्तपुरको बालकोटमा आयोजना भएको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री थानीले सहकारी ऐन अत्यावश्यक भएकाले ऐन ल्याउने तयारी भएको बताएका हुन् । अब आउन लागेको सहकारी ऐन सहकारी सिद्धान्त, मूल्य र मान्यता विपरीत नआई सहकारीमैत्री रहने उनको भनाइ थियो । 

देशको कुनाकुनामा सहकारी संस्थाले गरिबीको रेखामुनि रहेको जनतालाई पुँजी सङ्कलन र आर्थिक उन्नतिमा टेवा पुर्याइरहेको चर्चा गर्दै मन्त्री थानीले भने– “देशको कुनाकुनामा सरकार पुग्न सकेको छैन तर सहकारी पुगेको छ, गाउँका बासिन्दाको गर्जो टार्ने, घर खर्च, छोराछारीको पढाइ खर्च, बिरामी खर्च टार्ने आम नागरिकको अभिन्न अङ्ग बनेको छ ।” उनका अनुसार, देशभर ३३ हजार सहकारी संस्था रहेका छन् भने ती सहकारीमा ५३ लाख नागरिक सदस्य छन् । ६१ हजारलाई प्रत्यक्ष र १०औँ लाख नागरिकलाई अप्रत्यक्ष रुपमा रोजगारी दिइरहेको सहकारी संस्था अझ विश्वसनीय रुपमा सञ्चालन हुनुपर्ने उनको जोड थियो । सहकारीमा बचत तथा ऋणमा सबैभन्दा बढी विकृति रहेको औँल्याउँदै उनले यसका लागि समयमै सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले विश्वका सहकारी संस्थाबाट नेपालले पनि पाठ सिक्नुपर्ने चर्चा गर्दै सहकारी संस्थालाई विश्वसनीय बनाउन सके देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । सोही अवसरमा ‘देशान्तर साप्ताहिक’का सम्पादक कवीर राणाले सहकारी संस्था नै देशको आर्थिक उन्नतिको मेरुदण्ड भएको चर्चा गर्दै सहकारीको उन्ततिका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । 

नेपाली काँग्रेस भक्तपुरका सचिव उद्धव सिलवाल, भिवोर बैंकका प्रबन्धक अशोककुमार भण्डारी, सुप्रिम विकास बैंकका रमेश लामिछानेलगायतले सहकारी जनतालाई सेवा दिने संस्थाका रुपमा स्थापित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री थानीले मैत्रीय ज्येष्ठ सदस्य लक्ष्मी घिमिरेलाई नगदसहित सम्मान प्रदान गरे भने सहकारीका उत्कृष्ट सदस्यहरु चन्द्रलक्ष्मी श्रेष्ठ, युनिक सिलवाल, हेमबहादुर खड्का, तारानारायण श्रेष्ठ, राजेन्द्र खत्री र नरहरि सिलवाललाई सम्मान गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी संस्थाले संस्थाको सेयर पुँजी एक करोड २८ लाख ९९ हजार सात सय रुपैयाँ पुगेको बताउँदै सदस्यहरुको आर्थिक उन्नतिका लागि सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा निक्षेप बचत रु १२ करोड ८८ लाख नौ हजार ८३८ रहेको जानकारी दिए । त्यसैगरी ऋण लगानी रु ११ करोड ४८ लाख ४९ हजार ८४२ रहेको र खुद नाफा रु २० लाख ५० हजार ७९० रहेको उनले बताए । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]