November 26th, 2016

२० अर्ब भारु नोटका ‘पहाडझैँ खातहरु’ फोहोरमा फालिँदै 

भारत सरकारले पाँच सय र एक हजार दरका भारु नोटहरु खारेज गर्ने निर्णय गरेपछि त्यहाँको केन्द्रीय बैंकलाई करिब २० अर्ब रुपियाँ बराबरका काम नलाग्ने नोटहरु यसै महिना नष्ट गर्नुपर्ने जिम्मेवारी आइलागेको छ । अघिल्लो मार्चसम्म पाँच सय र एक हजारका करिब ९० अर्ब भन्दा बढी संख्यामा नोटहरु बजारमा रहेको बताइन्छ जसबाट नष्ट गर्नुपर्ने नोटहरुको परिमाण केही अनुमान गर्न पनि सहयोग पुग्छ । केन्द्रीय बैंकले च्यातिएका र ढुसी परेका नोटहरुलाई नियमित रुपमा नष्ट गर्दै तिनीहरुलाई चम्किला नयाँ नोटले प्रतिस्थापन गर्ने गर्दछ । 

ic

फोहोरमा फालिने छ २० अर्ब भारु

रिजर्भ बैंक अफ इण्डियाले त्यसरी नोट नष्ट गर्ने क्रममा ब्रिकेट अर्थात कम धुँवा निकाल्ने एक किसिमको प्राङ्गारिक उर्जाको स्रोत बनाउने गरेको छ । तर त्यो आम रुपमा बनाइने ब्रिकेट भन्दा फरक रहेको छ । भारतमा खासगरी खेतीपातीबाट निस्कने फोहोरबाट बनाइने ब्रिकेट खाना पकाउन, बत्ती बाल्न र तातो बनाउन प्रयोग गर्ने गरिन्छ । कोइलाभन्दा सस्तो मूल्य पर्ने ब्रिकेटले कम खरानी निकाल्छन् र प्रदूषण पनि कम गराउने गर्छ । भण्डारण गर्न पनि सजिला त्यस्ता ब्रिकेट कारखानाहरुमा तरल पदार्थ तताउने इन्धनका रुपमा पनि प्रयोग गरिन्छन् । ती स्वचालित मेसिनहरुले नोटलाई एकदमै उपयुक्त ढंगले नष्ट गरिदिन्छन् । 

ic

तर केन्द्रीय बैंकका एक जना अधिकारीका अनुसार नोटबाट बनाइने ब्रिकेटहरु कडा भएपनि चाँडै फुट्नसक्ने भएकाले त्यस्ता काममा प्रयोगमा आउँदैनन् । त्यही भएर केन्द्रीय बैंकका भारतभरका १९ वटा कार्यालयमा रहेका २७ वटा ब्रिकेट बनाउने मेसिनहरुले अब नष्ट गर्नुपर्ने नोटका एकदमै साना आकारका ब्रिकेटहरु बनाउने छन् जसलाई भारतका फोहोर फाल्ने विशाल ल्याण्डफिल क्षेत्रमा विसर्जन गरिनेछ ।

नोट नष्ट गर्ने काम चुनौतिपूर्ण 

कहिलेकाहीँ त्यसरी नष्ट गरिने नोटहरु पुनर्प्रयोग गर्न सकिने चिजहरु जस्तै फाइल, क्यालेन्डर, आकर्षक सज्जासहितका कलम, कप लगायत उपहारमा दिइने सामाग्री बनाउन पनि प्रयोग गरिन्छ । अमेरिकामा पनि त्यस्तै खालको प्रचलन रहेको छ, जहाँ त्यसरी नष्ट गर्नुपर्ने नोटहरु गुप्तचर निकायहरुमा पठाइन्छ । काम नलाग्ने नोटहरु टुक्रा–टुक्रा पारेर कतिपय अवस्थामा फोहोर फाल्ने ल्याडफिल साइटमा पठाउने वा फेडेरल रिजर्भ बैंक घुम्न आउने आगन्तुकहरुलाई उपहारका रुपमा दिने चलन छ । भारतको केन्द्रीय बैंकका अधिकारीहरु २० अर्ब बराबरका बैंक नोट नष्ट गर्नु ठूलो चुनौती हुने बताउँछन् ।

विगतमा १६ अर्ब नष्ट गरिएको 

सन् २०१५–१६ मा भारतले करिब १६ अर्ब बराबरका सडेका नोटहरुलाई नष्ट गरेको थियो । बैंकिङ प्रणालीमा झण्डै पाँच लाख नक्कली नोटहरु फेला परेपछि करिब १४ अर्ब बराबरको नोट सन् २०१२ देखि २०१३ सम्म नष्ट गरिएका थिए । एक जना अधिकारी भन्छन्, ‘त्यति ठूलो परिमाणमा नोटहरु नष्ट गर्न खासै चुनौती छैन किनभने हामीसँग पर्याप्त नोट टुक्र्याउने र ब्रिकेट बनाउने एकदमै बढी क्षमता भएका उपकरणहरु छन्, ती स्वचालित मेसिनहरुले नोटलाई एकदमै उपयुक्त ढंगले नष्ट गरिदिन्छन्।’ त्यही भएर नचल्ने भारतीय नोटका पहाड जत्रो आकारका खातहरु केही समयभित्रै साँच्चिकै फोहोरमा रुपान्तरण हुनेछन् ।

imagesभारतमा नगद तथ्य

चीनपछि भारत सबैभन्दा ठूलो नोट उत्पादक र प्रयोगकर्ता हो । सन् १९३५ मा करिब १२ करोड ४० लाख रहेको बैंक नोटको संख्या सन् २०१६ सम्म आइपुग्दा बढेर ९० अर्ब पुगेको छ । भारतमा सन् १८६१ मा कागजका सरकारी नोटहरुको प्रयोग प्रचलनमा आएको थियो ।
सन् १९३५ मा रिजर्भ बैंक अफ इन्डियाले नगद आपूर्तिको पनि जिम्मेवारी लिएको थियो । १९२० को दशकको लगभग अन्त्यसम्म भारतीय नोटहरु ब्रिटेनमा छापिने गरेका थिए । भारतमा बैंक नोट छाप्न चारवटा प्रेस र सिक्काहरु बनाउने चारवटा टक्सारहरु रहेका छन् ।
(रिपोर्ट : बीबीसीबाट) 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]