November 22nd, 2016

नेपालमा बैंक र बैंकरको उदय : यस्ता थिए देशी बैंकर

suman-bidariसुमन बिडारी – आजको युगमा देशको हरेक जिल्लामा बैंकहरुको पहुँच छ । नागरिकहरुले बैंकमा पैसा राख्ने र बैंकबाट पैसा लिने काम गर्छन् । बैंकमा पैसा राखेबापत नागरिकहरुलाई बैंकले ब्याज दिन्छ र ऋणीको हकमा बैंकले ब्याज असुल्ने काम गर्छ । नेपालमा परम्परागत बैकिङ प्रणालीको विकासको चर्चा गर्नुभन्दा पहिले बैंक के हो ? जान्नु जरुरी छ । 

बैंक के हो ?
पैसा जिम्मा लिने, ऋणमा लगानी गर्ने, चेक सटही गर्ने, नगद स्थानान्तरण गर्ने र साखको सिर्जन गर्ने वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंक नियामक निकाय केन्द्रिय बैंक र कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृती लिई संचालन हुन्छ । 

नेपालमा बैंकिङ कारोबारको सुरुवात
नेपालमा वित्तीय क्षेत्रको विकास हुनुअघि वस्तु विनिमय गर्ने चलन थियो । त्यस बेला धान, मकै, गहूँ, कोदो जस्ता खाद्यन्न साटफेर गरेर कारोबार गर्ने चलन थियो । नेपालमा परम्परागत बैंकिङ प्रणालीको विकासको श्रेय टंकधारी, तेजारथ, साहु महाजन र देशी बैंकरहरुलाई जान्छ । सातौं शताब्दीतिर राजा गुणकामदेबले जनताबाट ऋण लिएर काठमाडौंको पुर्ननिर्माण सम्पन्न गरेका थिए भने आठौं शताब्दीतिर शंखधरले जनताबाट ऋण लिएर नेपाल सम्वत् प्रचलनमा ल्याएको कुरा बंशावलीमा उल्लेख भएको पाइन्छ । नेपालमा परम्परागत बैकिङ प्रणाली अन्तर्गत मुख्यतः ऋण दिने चलन थियो, जसको नेतृत्व टंकधारी, तेजारथ, साहु महाजन र देशी बैंक जस्ता चार बैंकरहरुले गर्थै । टंकधारी जस्ता बैंकरहरुले व्यापारिक ऋण, पारिवारिक ऋण, अन्तर्राष्ट्रिय ऋण र युद्धकालिन ऋण गरि चार प्रकारको ऋण जनतालाई प्रदान गर्थे । 

टंकधारीलाई हटाउन तेजारथको जन्म
टंकधारीहरुले जनतालाई ऋण उपलब्ध गराएबापत जनताबाट चर्को रुपमा ब्याज असुल्थे । ऋणमा अनियमताको साथै जनतालाई शोषण पनि गर्थे । यही कारणले गर्दा तेजारथ जस्ता बैंकरहरुको जन्म हुन थाल्यो । ती बैंकरहरु बिशेषगरि राणाकालिन प्रधानमन्त्री रणोद्धिप सिंहको कार्यकालमा विकसित भएका थिए र उनीहरुको मुख्य उद्देश्य टंकधारीहरुले जनतालाई ऋणमा गरेको शोषणबाट मुक्त गराउनु थियो । तेजारथको कार्यकालमा सुन, चाँदी, गरगहनाहरु धितोमा राखी ५ प्रतिशतको दरले जनतालाई ब्याज उपलब्ध गराउँथे ।  त्यतिखेर ऋण उपलब्ध गराउने स्रोतको रुपमा सरकारी कोष मात्र रहेको थियो । 

तेजारथको असफलताले फेरि जन्मायो टंकधारी
तेजारथले सस्तो ब्याजदर उपलब्ध गराउँदा पनि व्यापारिक आवश्यकताको लागि पुँजी आपूर्ति हुन सकेन । । जसले गर्दा उनिहरु सफल बैंकर हुन सकेनन् । परिणाम स्वरुप साहू महाजनहरुको जन्म भयो । उनीहरुको मुख्य उद्देश्य व्यापारिक प्रायोजनको लागि स्थानिय जनतालाई ऋण उपलब्ध गराउ‘ँथेँ र चर्को रुपमा टंकधारीहरु जस्तै ऋणीबाट ब्याज असुल्थे । त्यतिखेरका साहू महाजनहरु पसल थापेर किनबेच सम्बन्धि ब्यापारको साथै ऋण दिने  र घरमा बसिबसि ऋण दिनेगरि ब्याज लिने खालका थिए । पछि बिस्तारै देशी बैंकहरुको विकास हुन थाल्यो । उनीहरुले जनताको पैसा जिम्मा लिने, जनतालाई ऋण उपलब्ध गराउने, हुन्डी र तमसुकहरुको खरिद बिक्री गर्ने र बैंकसम्बन्धि अन्य कार्यहरु गर्दर्थे । तर देशी बैंकरहरुले टंकधारी जस्तै ऋणीलाई शोषण गर्दथे । 

तरपनि आधुनिक बैंकिङ प्रणालिको विकासमा महत्वपूर्ण योगदान देशी बैंकहरुको नै पाइन्छ । देशी बैंकरहरुले नै मानिसलाई अनौपचारिक रुपमा वित्तीय कारोबार गर्न सिकाए । पछि यसले औपचारिक रुप लियो । मानिसहरुले औपचारिक रुपमा वित्तीय कारोबार गर्नुपर्ने आवश्यकता महशूस गर्न थाले । फलस्वरुप, वि.सं. १९९४ कात्तिक ३० गते नेपाल बैंकको स्थापना भयो । त्यसपछिका दिनहरुमा बैंकिङ प्रणालीको समयसापेक्ष विकास हुँदै आज हामी आधुनिक बैंकिङ प्रणालीमा प्रवेश गरिसकेका छौँ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]