November 21st, 2016

एक कलको शुल्क तीन सय !

satelite-phoneएक मिनेट फोन गरेको शुल्क कति लाग्ला रु दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय रुपैयाँ शुल्क लाग्छ भन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट तीन सय रुपैयाँ शुल्क तिर्दै आएका छन् । 

तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय रुपैयाँ र नेपालीलाई दुई सय रुपैयाँ शुल्क लिने गरेका छन् । स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ रुपैयाँ शुल्क काट्ने भएकाले आफूले प्रतिमिनेट तीन सय रुपैयाँसम्म शुल्क लिने गरेको तिलिजाले बताए । तीन वर्षअगाडि एक लाख ४५ हजार रुपैयाँमा स्याटलाइट प्रविधिको फोन र १२ हजार पाँच सय रुपैयाँमा विदेशी नम्बरकोे सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए । “यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने ।

उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ । बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आउनुभएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गर्नुभए पनि त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ ।

धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौँ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]