November 21st, 2016

आइतबार पहिरो गएको बजारमा सोमबार ६.६७ अंकको वृद्धि, कारोबारमा देखियो गिरावट

stockआइतबारको पहिरोपछि सोमबार सेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ६.६७ अंकले बढेर १६०६.२९ अंकमा पुग्दा पनि कारोबार रकममा भने गिरावट देखिएको हो । आइतबार एक अर्ब २३ करोडको कारोबार भएको बजारमा सोमबार एक अर्बको कारोबार पनि हुन सकेन । दिनभरिमा एक सय २७ वटा कम्पनीको १३ लाख ८६ हजार आठ सय ९५ कित्ता सेयर पाँच हजार सात सय ३७ पटक खरिदविक्रि हुँदा ९२ करोड ८७ लाख ५७ हजार छ सय ७७ रुपैयाँ पुँजी परिचालन भयो । 

बजारमा ठूलो गिरावटपछि राम्रा कम्पनीको सस्तो सेयर उठाउने लगानीकर्ता आएपछि सोमबार बजारमा सुधार देखिएको हो । होटल फाइनान्स र अन्य समूहले सोमबारको बजारलाई सुधारेका छन् । यी समूहहरु क्रमशः २२.४१, १२.१७ र २०.२५ अंकले बढेका छन् । यी समूहलाई बैंकिङ र व्यापार समूहले क्रमशः ७.६४ र १.१२ अंकले सघाएका छन् । विकास बैंक, जलविद्युत् र बीमा भने क्रमशः १३.६४, ०.६५ र १०.७३ अंकले घटेका छन् । 

कारोबारका आधारमा अग्रस्थानमा रहेको एभरेष्ट बैंकको सोमबार १२ करोड ८० लाख रुपैयाँ मात्रै परिचालन भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको झन्डै साढे पाँच करोड रुपैयाँ परिचालन भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ४० लाखको कारोबार हुँदा प्रिमियर इन्स्योरेन्सको तीन करोड ९१ लाखको कारोबार भएको छ । सिद्धार्थ बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । एनबी इन्स्योरेन्स प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेपाल एसबिआई बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ । 

सृजना फाइनान्सका सेयरधनी १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले ५.६० अंकले कमाएका छन् । सिनर्जी फाइनान्स, साल्ट ट्रेडिङ, नागरिक लगानी कोष, नेपाल टेलिकम, एआईसि एसिया बैंक लगायतले पनि धेरथोर कमाएका छन् । 

लक्ष्मी लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले पौने आठ प्रतिशत गुमाएका छन् । सेती फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले पाँच प्रतिशत गुमाएका छन् । कैलाश विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, ज्योती विकास बैंक, विजय लघुवित्त, हिमालयन जेनेरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

बजारको आफ्नै नियम हुन्छ । साना, ठूला उतार चढावहरु आई नै रहने हुन्छ । यसलाई यही अर्थमा बुझेर आफ्नो लगानीको सुरक्षामा ध्यान दिनु नै बुद्धिमानी हुने विश्लेषकहरुको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]