November 21st, 2016

बीमा समितिका अध्यक्ष केसीको कार्यकाल सकिँदै, भावी अध्यक्षका लागि दुई दर्जनको दौडधुप

fatta bahadur kc

बीमा समितिको अध्यक्ष पदका लागि झण्डै दुई दर्जन आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष प्रा.डा.फत्तबहादुर केसीको कार्यकाल सकिन करिब एक महिना बाँकी रहँदै भावी अध्यक्षका लागि ती आकांक्षीले दौडधुप तिब्र पारेका छन् । डा. केसीको कार्यकाल यही पुसमा सकिँदैछ । 
बीमा समिति नेपालको बीमा ब्यवसायलाई ब्यवस्थित, बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा ऐन, २०४९ अनुसार स्थापना गरिएको एक स्वशासित संस्था हो । यस संस्थाले नेपालका बीमा कम्पनीहरुलाई नियमन गर्ने गर्दछ । नेपालमा बीमा व्यवसायलाई अत्यन्तै सम्भावनायुक्त व्यवसायका रुपमा पनि हेरिएको छ । पछिल्लो समय बीमा व्यवसायको अवस्था पनि निकै राम्रो देखिन्छ । त्यसैले पनि  बीमा कम्पनीहरको नियामक बीमा समितिको भावी अध्यक्ष पदका लागि  पूर्वसचिवदेखि बीमा कम्पनीका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायतले दौडधुप थालेका हुन् । समितिको अध्यक्ष बन्न चाहानेहरु करिब महिना दिन अघिदेखि नै अर्थमन्त्रालय धाउन थालेका श्रोतको दाबी छ ।  

को–को छन् आकांक्षी ?

बीमा समितिको अध्यक्ष पदका लागि बीमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष विजयबहादुर शाह पनि इच्छुक देखिएको बताइएको छ । उनलाई बिमक संघले नै अध्यक्षका लागि अघि सारेको पनि बुझिएको छ ।
श्रोतका अनुसार अध्यक्ष बन्ने होडमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे, पोखरा विश्वविद्यालयकै प्राध्यापक दिपक भण्डारी, पुनर्बीमा कम्पनीका सीइओ चिरायु भण्डारी, बैंकर लक्ष्मण घिमिरे, हरि घिमिरे, पूर्व सचिवलगायत केही बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु अर्थ मन्त्रालय पुगेका हुन् । अर्थमन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बीमा समितिको अध्यक्ष पदका लागि झण्डै २ दर्जन अकांक्षीले मन्त्रालयमा पुगेर लबिङ गरिरहेका छन् । ती अधिकारीका अनुसार केही दिनमै मन्त्रालयले अध्यक्ष पदका लागि निवेदन पनि आह्वान गर्दैछ । 
 
बीमा कम्पनीमा आवद्ध भएका व्यक्तिको के होला ?  

बीमा कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका आकांक्षीहरुको आकांक्षा भने पूरा नहुने भएको छ । मन्त्रालयका ती अधिकारीका अनुसार त्यस्ता व्यक्ति नियमकारी निकायको प्रमुख हुँदा काम कारबाही प्रभावकारी नहुने मन्त्रालयको ठहर छ । 

को होला त अध्यक्ष ? 

अर्थमन्त्री कृष्णबहादुर महराले बीमा समितिको अध्यक्षमा बीमा क्षेत्रलाई बुझेको विज्ञ तर बीमा कम्पनीमा आवद्ध नभएको व्यक्तिलाई ल्याउने तयारी गरेको उनको निजि सचिवालयले जनाएको छ । श्रोतका अनुसार उनको रोजाईमा पोखरा विश्वविद्यालयका निर्देशक तथा बीमा विज्ञ प्रा. डा. रविन्द्र घिमिरे पर्न सक्छन् । घिमिरे पनि कम्युनिष्ट धारका व्यक्ति भएकाले अर्थमन्त्रीले उनलाई रोज्न सक्ने अर्थमन्त्रीका सहयोगिहरुको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]