November 19th, 2016

तीन सरकारी बैंकहरु : पहिलो त्रैमासमा कसको प्रगति कस्तो ?

banksनेपाल बैंक, कृषि बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्व भएका बैंकहरु हुन् । यी बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण सार्वजनिक गरिसकेका छन् । विवरणअनुसार, राष्ट्रिय वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । कृषि विकास बैंक र नेपाल बैंकको नाफा बढेको छ । नेपाल बैंकले पहिलो त्रैमासमा एक अर्बभन्दा बढी नाफा कमाएको छ । नाफा घटे पनि राष्ट्रिय वाणिज्य बैंकको नाफा कृषि विकास बैंकको भन्दा बढी छ ।  

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५० करोड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड ८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १७ दशमलव ७४ प्रतिशतले वृद्धि गरी १ खर्ब ४६ अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १४ दशमलव ८६ प्रतिशत बढाएर ८५ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ 

बैंकको खुद व्याज आम्दानी गत असोज मसान्तको तुलनामा १४ दशमलव ८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा २२ दशलमव १६ प्रतिशत घटेर ५८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा १० करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिम वापत ३३ करोड १९ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १ अर्ब २३ करोड ४७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममाबैंकको निष्क्रिय कर्जा शुन्य दशमलव २१ प्रतिशतले घटेर ३ दशमलव ३० प्रतिशत कायम भएको छ भने जोखिम भारित सम्पत्ति शुन्य दशमलव ८८ प्रतिशतले बढेर ११ दशमलव ५३ प्रतिशत कायम भएको छ । 

कृषि विकास बैंकको नाफा ४२ करोड
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको ४६ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले २८ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ७ दशमलव ५९ प्रतिशत वृद्धि गरी ८५ अर्ब ६६ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ८१ अर्ब १३ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ दशमलव ७२ प्रतिशत बढी हो । त्यस्तै खुद व्याज आम्दानी ४७ दशमलव ९४ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ३२ प्रतिशत बढेर ३० अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा २५ करोड ८० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५८ करोड ११ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ८ अर्ब ८० करोड ७७ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १६ दशमलव ७१ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ८३ प्रतिशतले रहेको छ । 

बैंकको प्रति शेयर आम्दानी ३६ दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ५१ गुणा, प्रतिशेयर नेटवर्थ ३ सय २१ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६३ प्रतिशत रहेको छ ।

नेपाल बैंकको नाफा एक अर्ब
नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १६ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय ६२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले ४४ करोड ४३ लाख रुपैंया मात्र नाफा कमाएको थियो ।

६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६७ दशमलव ९५ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २ सय ५२ दशमलव २० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । 

बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ६६ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ । 

यो अवधिमा ६ करोड ९५ लाख रुपैंया खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैंया राखेको छ भने जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रुपैंया राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३ दशमलब १० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति १२ दशमलब १२ प्रतिशत रहेको छ । 

बैंंकको प्रतिशेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ दशमलव २९ गुणा, प्रतिशेयर नेटवथ १ सय २३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]