November 18th, 2016

बैधानिक भारु साट्न भारत सरकार तयार, राष्ट्र बैंकले गठन गर्यो समिति 

nepal rastra bank 1नेपाल राष्ट्र बैंकको निरन्तर सक्रियतापछि भारतीय नोट साट्ने बारे भारत सरकार लचिलो भएको छ । त्यसका लागि नेपालमा रहेका भारतीय बैधानिक नोटहरु संकलन गर्न र सो बारे अध्ययन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा अर्थ मन्त्रालय, विदेशी विनिमय विभाग, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ लगायतको सहभागिता रहेको छ । जसमा आनन्द ढकाल, भिष्म ढुंगाना, अनिल केशरी शाह, कृष्ण लामिछाने, र वासु अधिकारी सदस्य रहेका छन् । उक्त समितिले ५ सय र एक हजार दरका भारु नोटलाई बैंकिङ च्यानलमा ल्याउने छ । तर यस्ता नोटहरु बैध नोटहरु हुनुपर्ने छ । राष्ट्र बैंक स्रोतका अनुसार नक्कली नोट तथा आयस्रोत नखुलेका नोटहरुलाई मान्यता दिइने छैन । समितिले आइतबारसम्म काम सम्पन्न गरिसक्ने छ ।

यसअघि नै भारत सरकारले पनि नेपालमा रहेका भारु सटहिबारे समस्या समाधान गर्न समिति गठन गरिसकेको छ । पटक पटक राष्ट्र बैंक र भारत सरकारबीच भएको छलफल तथा भारतीय रिजर्ब बैंकका गभर्नर र नेपाल राष्ट्र बैंकका गभर्नरबीचको लगातार बार्ता पछि भारत सरकार नेपालमा रहेका बैंधानिक नोट साट्न तयार देखिएको हो ।  राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालको आग्रहमा भारु नोट सटहिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्ण बहादुर महरा समेत लागिपरेका थिए । यस विषयमा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन बार्ता गरेका थिए भने अर्थमन्त्री कृष्णवहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीसँग कुराकानी गरेका थिए। त्यसैगरी भारतीय रिजर्ब बैंकका गभर्नर उर्जित पटेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालले फोनबार्ता गरेका थिए । सरकारी सक्रियतासँगै समिति गठन भएकाले अब भारु सटहि कार्य केहीदिनमै अघि बढ्ने राष्ट्र बैंकले जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]