November 9th, 2016

विश्वकै शक्तिशाली पदमा अर्बपति ट्रम्प : के होला अमेरिकाको भविष्य ?

trump

रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । मत परिणमअनुसार उनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिनटनलाई पछि पार्दै अमेरिकाको ४५ औँ राष्ट्रपति बन्न सफल भएका हुन् । आधिकारिक रुपमा २७० इलेक्टोरल मत पाएको घोषणा भएपछि उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै धन्यवाद ज्ञापन गरेका छन् । समर्थकहरुलाई निराश नपार्ने प्रतिज्ञा समेत जाहेर गरेका छन् । आफ्ना देशवासीलाई मात्र नभई अन्य देशहरुलाई पनि न्यायपूर्ण व्यवहार गर्ने उनले बताएका छन् । 

ट्रम्पको हेडक्वार्टरमा विजयको उत्साह छाउँदा यता, क्लिन्टनले भने चुनावको विषयमा आज केही पनि प्रतिक्रिया नदिने भएकी छिन् । दुई कार्यकाल राष्ट्रपति भएका डेमोक्रेट पार्टीका राष्ट्रपति बाराक ओबामाले भने चुनावको दिन सम्बोधन गर्दै ’जे भए पनि भोलि बिहान सूर्य उदाउँछ’ भनेका छन् । उक्त भिडियो अहिले अमेरिकामा भाइरल भएको छ । 

यसअघि, ट्रम्पले फेरि पनि आफूले हारे नतिजा अस्विकार गर्ने बताएका थिए । निर्धारण गरिएभन्दा बढी समय  मतदान केन्द्र खुला राखेको आरोप उनले लगाएका थिए । उनकै पक्षमा बढी मत देखिएसँगै ट्रम्प पहिलोपटक गभर्नरको रुपमा कहिल्यै काम नगरेका व्यक्ति अमेरिकी राष्ट्रपति बनेका छन् । साथै, उनले सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बन्ने रेकर्ड समेत राखेका छन् । 

अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्र हो । अमेरिकाको राजनीतिक परिवर्तनले विश्वका सबै मुलुकलाई प्रभावित बनाउने गर्दछ । अब डोनाल्ड ट्रम्पले अमेरिकाको भविष्यको निर्णय गर्नेछन् भने अमेरिकाको भविष्यले विश्व अर्थतन्त्रको भविष्य निर्धारण गर्नेछ ।  

को हुन् डोनाल्ड ट्रम्प ?
सत्तरी वर्षका ट्रम्प जीवनशैली, व्यवहार, सम्पत्ती लगायतका कारण सँधै चर्चामा रहन्छन् । उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ उनले तीन पटक विवाह गरेका छन् । पहिलो विवाह इभाना जेल्नी कोभासँग, दोस्रो मार्ला मेपलसँग र तेस्रो मिलिनिया नर्ससँग भएको थियो । उनी अहिले तेस्री श्रीमतीसँग छन् । । उनी न्यूयोर्कको प्रख्यात ट्रम्प टावरमा बस्छन् । ट्रम्प विलासी जीवनशैलीका सौखिन भए तापनि उनका पिता फ्रेड ट्रम्प एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । यसै कारण विशेषतः अमेरिकाका मध्यम वर्गियहरुले ट्रम्पलाई खुबै रुचाउँछन् । 

मध्यम वर्गीय परिवारमा जन्मिएर पनि रियलस्टेटमा लगानी गरेर फ्रेडले ठूलो सफलता हात पारे । नतिजास्वरुप आज डोनाल्ड ट्रम्प एक अर्वपतिको जीवन बाँचिरहेका छन् । यसबाहेक, ट्रम्प होटल र ट्रम्प प्यालेस लगायत उनका नामका थुप्रै सम्पत्तीहरु विश्वका थुप्रै सहरमा छन् । 

घरमा ट्रम्पलाई हतियारसँग खेलिरहेको भेटेपछि १३ बर्षको छँदा ट्रम्पलाई उनका पिताले न्यूयोर्क मिलिटरी एकेडेमीमा पठाए । गतल व्यवहार गरेको भन्दै उनी त्यहाँबाट निकालिए । लगत्तै अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कूलमा भर्ना भएर उनी व्यापार पढ्न थाले । त्यसपछि ट्रम्पले पारिवरिक व्यापारमा पिताको साथ दिए । रियलस्टेट बिजनेशसँगै, होटल र क्यासिनोमा लगानी विस्तार गरे । सन् १९७० मा घाटामा रहेको ग्राण्ड हायात होटललाई सात करोड डलरमा किनेर मर्मत गरी उनी रातारात करोडपती बन्न पुगे । 

सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्स जस्ता ब्युटि कन्टेस्ट आयोजना गर्ने कम्पनीका मालिक थिए । कतिपय पुराना मिस युनिभर्सहरुले ट्रम्पको तारिफ गरेका छन् ।  कतिपयले उनीमाथि पटक पटक यौन दुव्र्यवहारको आरोप पनि लगाएका छन् । ट्रम्प विगतमा ’द एप्रिनटेस’ नामक टेलिभिजन सो समेत सञ्चालन गर्थे । यसले उनलाई सेलिब्रेटी बनायो । सन् २००४ मा उनको शो अमेरिकामा प्रख्यात बन्यो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]