November 7th, 2016

ग्लोबल आईएमई बैंकको नाफामा ३४ प्रतिशतको बढोत्तरी, यस्तो छ समग्र प्रगति विवरण

global ime bankग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले नाफामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ दशमलव १८ प्रतिशतले बढोत्तरी गरेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ३१ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

७ अर्ब १५ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २७ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ८० अर्ब ३४ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ६७ अर्ब १६ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमाससम्ममा ५२ अर्ब १० करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा प्रगति गरेपछि बैंकको समग्र नाफा पनि बढेको छ । यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४० दशमलव ४४ प्रतिशतले बढेर ८२ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ०५ प्रतिशतले बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रोभिजनमा बैंकले १५ करोड ९३ लाख रुपैयाँ राखेको छ । तीन महिनाको अवधिमा बैंकले १० करोड ७५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । जोखिमयुक्त सम्पत्ति र निष्कृय कर्जा घटाउन पनि बैंक सफल भएको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ८६ प्रतिशतले घटेर ११ दशमलव ९३ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा पनि शुन्य दशमलव २७ प्रतिशतले घटेर १ दशमलव ७१ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव  ५५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २१ द्यशमलव ७८ गुणा, नेटवर्थ प्रति शेयर १ सय २७ दशमलव १६ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]