November 6th, 2016

‘क’ वर्गका बैंकले केके काम गर्छन् ? हेर्नुस् विस्तृतमा

banking‘बैंक’ यस्तो वित्तीय संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् र आवश्यक पर्दा ऋणको रुपमा पुँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । कसैलाई कर्जा आवश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी बैंकबाट ऋण लिन सकिन्छ । विशेषतः मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचलित कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश अनुसार चाहेको बेला झिक्न पाउने गरी पैसा राखिदिने र ब्याजमा ऋण दिने गरी आर्थिक कारोबार गर्ने संस्थालाई बैंक भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु राज्यको कानुन बमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ बमोजिम सोही ऐनको दफा ३१ मा ‘क’ ‘ख’ ‘ग’ ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था को व्यवस्था गरिएको छ । सो वर्गीकरण अनुसार २०० करोड रुपैयाँ चुक्ता पुँजी भएका बैंकलाई वाणिज्य बैंक अर्थात् क वर्गका बैंक भनिएको छ । हाल यस्ता बैंकहरु नेपालमा २८ वटा रहेका छन् । राष्ट्र बैंकको २०७२ सालको मौद्रिक नीति अनुसार ‘क’ वर्गका बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी तोकिएको छ । यस्ता बैंकहरु राष्ट्रिय स्तरका बैंक हुन् । उनीहरुले ठुला उद्योग, ठुला व्यवसायहरु, तथा राष्ट्रिय स्तरका ठुला आयोजनाहरुमा पनि लगानी गरेका हुन्छन् । उनीहरुको शाखा संजाल तथा एटीएमहरु पनि धेरै हुन्छन् । यी बैंकहरुको क्षेत्राधिकार पनि धेरै हुन्छ । मुलतः यस्ता बैंकहरुले देशैभरी शाखा संचालन गर्न पाउँछन् ।

वाणिज्य बैंकहरुले निक्षेपका रुपमा बचत स्वीकार गर्ने र कर्जा अर्थात ऋण प्रदान गर्ने कार्यका अतिरिक्त एक ठाउँको रकम अर्को ठाउँमा पठाउने, विप्रेषण कारोबार गर्ने, विदेशी मुद्रा सटही गरिदिने, प्रतीतपत्र कारोबार गर्ने र अन्तर्राष्ट्रिय लेनदेनलाई सजिलो बनाउने, ड्राफ्ट तथा टि.टी मार्फत् पैसा पठाइदिने, सरकारी कारोबार गर्ने, सुनचाँदी कर्जा, ओभर ड्राफ्ट सुविधा, बैंक ग्यारेन्टी जस्ता विभिन्न वित्तीय कारोबारहरु समेत गर्ने गर्दछन् । 

समग्रमा वाणिज्य बैंकहरुले गर्ने कार्यहरु निम्नानुसार छन् :    

  • निक्षेप संकलन गर्ने तथा निक्षेपको भुक्तानी दिने । 
  • बिदेशी विनिमयको कारोबार गर्ने ।
  • हायर पर्चेज, हाउजिङ, हाइपोथिकेशन, लिजिङ तथा सेवा व्यवसायको लागि कर्जा दिने । 
  • मर्चेन्ट बैंकिङ कारोबार गर्ने ।
  • स्वदेशी वा बिदेशी बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने ।
  • राष्ट्र बैंकको निर्देशनको अधीनमा रही क्रेडिटकार्ड, डेविटकार्ड, चार्जकार्ड लगायत अन्य वित्तीय उपकरणहरु जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धी कार्य गर्ने एजेण्ट नियुक्त गर्ने । 
  • राष्ट्र बैंकले तोकेको सर्तमा राष्ट्र बैंकको एजेण्ट भई नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
  • नेपाल राज्यभित्रमा वा बिदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चाँदी, शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिदबिक्री गरिदिने, शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असुलउपर गर्ने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरीदबिक्री गर्ने वा सकार गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेञ्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पुँजी परिचालन गर्ने ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]