November 2nd, 2016

यसरी प्रयोग गर्नुहोस् ‘ई’बैंकिङ सेवा

bankingई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् ।

ई बैंकिङको प्रयोग 

  • ब्यालेन्स हेर्ने
  • खातामा पाएको ब्याज छुट्टै हेर्ने
  • स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने
  • नयाँ चेक बुकको अनुरोध गर्ने
  • हराएको चेक रोक्काको अनुरोध गर्ने
  • शाखालाई ग्राहकको सन्देश दिने

ई बैंकिङको खाता 
ई बैंकिङ प्रविधिको विकास हो । पछिल्लो समयमा मोवाइलबाटै इ बैंकिङ कारोबार गर्न थालीएको छ । प्रविधिको विकासले बेंकसम्म पुग्न नपर्ने र कम समयमै काम गर्न सकिने भएको हुँदा इ बैंकिङ प्रविधिले सरल र सहजिकरण गरेको छ । खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त भएपछि त्यसै अनुसार ई बैंकिङ सेवा सुचारु गर्न सकिन्छ । 

 बैंकिङ सेवामा ध्यानदिनुपर्ने कुरा 

  • आफ्नो युजर नेम र पासवर्ड गोप्य राख्नुपर्छ अर्थात अरु कसैलाई दिन ुहँदैन । 
  • निजी कम्प्युटर वा नीजि मोवाइलबाट मात्रै सेवा उपभोग गर्नु बुद्धिमानी हुन्छ । 
  • साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड चोरी हुन सक्ने सम्भावना बढी भएकोले सावधानी अपनाउनुपर्छ ।
  • आफ्नो कार्य सकिएपछि लग आउट गर्न भुल्नु हुँदैन । 

डेबिट कार्ड :

बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो । 

क्रेडिट कार्ड :

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन । 

मोबाइल बैंकिङ :

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ ।  

मोबाइल बैँकिङका सुविधाहरु

एकाउन्ट र कारोबारका बारेमा जानकारी । 
आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सकिने सुविधा । 
रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज गर्न सकिने सुविधा । 
आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने सुविधा । 
विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने सुविधा 

 

मोबाइल बैँकिङको विकास 
मोबाइल बैँकिङको पहिलो चरणको रुपमा एसएमएस बैँकिङलाई लिने गरिन्छ । सन् १९९९ मा स्मार्ट फोनको प्रचलन आएसँगै युरोपियन बैँकहरुबाट मोबाइल वेभको अवधारणा सुरु भएको हो । प्रविधिको विकाससँगै एनरोइड सिस्टमको विकास तथा विस्तारले विभिन्न एनरोइड एपहरु जन्मायो र मोबाइल बैँकिङको अवधारणालाई विकास एवम् विस्तार गर्न मद्धत गर्यो ।

शाखारहित बैंकिङ :

बैंकको शाखा नभएका स्थानमा सरल तथा सहज रूपमा वित्तीय पहुँच पुर्याउनका लागि ल्याइएको एक अवधारणानै शाखारहित बैंकिङ सेवा हो । यसअन्तर्गत बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई जिम्मेवारी दिनेगरी अभिकर्ताका रूपमा सम्झौता तोकिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयलाई खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स–सानो ऋण लगानीलगायत सेवा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् । बैंकहरुले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेकका स्थानहरु विशेषगरी ग्रमिण ठाउँहरुमा शाखारहित बैंकिङ सेवा विस्तार गर्न पाउने व्यवस्था छ । 

यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् । यस्तो बैंकिङ सेवा भुकम्पको समयमा गाउँगाउँमा भुक्तानी वितरण गर्नको लागि बढी प्रयोग भएको पाइन्छ । 

नेपालमा ५ सय भन्दा बढी शाखारहित बैैंकहरु सञ्चालनमा आइसकेका छन् ।  यस्ता शाखारहित बैंकिङ सेवाले पिछडिएका, दुर्गम र दुरदराजका मानिसहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । एउटा बैंकले शाखा विस्तार गर्नका लागि करीब ४० लाख रुपैँया भवन निर्माणमा मात्रै खर्च गर्नुपर्ने हुन्छ । तर शाखारहित बैंकिङ सेवा प्रवाह गर्दा भौतिक निर्माणको लागि बैंकहरुको खर्च नलाग्ने भएका कारण यो सेवा बैंकहरुले प्रभावकारी मानेका छन् । शाखारहित बैंकिङ सेवामा बैंकहरुले प्रयोगमा ल्याएका सबै सेवा सुविधाहरु दुरुस्तै दिन सकिन्छ । नेपालमा वित्तीय साक्षरता वृद्धि गर्नको लागि समेत ‘शाखारहित बैंकिङ सेवा’ले महत्वपूर्ण भूमिका खेलेको छ ।

‘अन्तर–बैंक विद्युतीय भुक्तानी प्रणाली’ :

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) को समतामूलक सहभागीता रहेको छ । बैँक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ । 

नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ( ल्ऋज्ी(क्ष्एक्० हो । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् । 

केके छन् सुविधा ?
अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णा रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन र तलब भुक्तानी, रेमिट्यान्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । यस्ता कारोबारहरु उक्त प्रणालीमा चरणवद्ध रुपमा लागू हुने व्यवस्था गरिएको छ । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । हाल नेपाली रुपैयाँ लगायत तोकिएका विदेशी मुद्राहरुका कारोबार गर्न सकिने प्रावधान रहेको छ । 

कसरी लिने सेवा ?
अन्तरबैंक विद्युतीय भुक्तानी कारोबारका लागि ग्राहकले आफ्नो बैंकमा भुक्तानी लिने र दिने दुबै पक्षको बैंक खाताको विवरण, कारोबारको किसिम, रकम लगायतका जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । यद्यपि, सम्बन्धि बैंकलाई कारोबार सम्पन्न गर्न अन्य कुनै विवरण अनिवार्य रुपमा आवश्यक भएमा त्यस्तो जानकारी थप माग गर्न सक्नेछ । 

यस प्रणालीमार्फत गरिने हरेक कारोबारमा ग्राहकलाई सामान्य शूल्क लाग्नेछ । यो शूल्क कारोबारको किसिम हेरेर भुक्तानीदिने वा लिनेमध्ये एक पक्षलाई लाग्नेछ । ग्राहकलाई लाग्ने सेवा शुल्कको थप जानकारीका लागि ग्राहकले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]