October 30th, 2016

बैंक खाता खोल्दै हुनुहुन्छ ? हेर्नुस्, आवश्यक पर्ने कागजपत्रहरु

bank-accountखाता एक प्रकारको कारोबार बिवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंक तथा बित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरुको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैंक खाता हो । खातामा पैसा जम्मा गर्दा भौचर भरेर गरिन्छ । ग्राहकले कारोवार गरेको विवरण बैंकले रेकर्ड राखिदिन्छ । खाता खोलेर निर्धारीत रकम जम्मा गरिसकेपछि बैंकले चेकबुक उपलव्ध गराउँदछ । आफूले जम्मा गरेको रकमबाट चेक खिचेर ग्राहकले आफूलाई आवश्यक परेजति रकम झिक्न सक्दछ । पछिल्लो समयमा चेकबुकका साथै एटीएम कार्डबाट पनि पैसा झिक्न सकिने प्रविधिको विकास भएको छ । खातावाला व्यक्ति वा संस्थाले जम्मा गरेको रकम, उक्त रकमको ब्याज, आफ्नो कारोवार, ब्याज र ब्याज आर्जन बापत तिरेको कर रकमका बारेमा जानकारी दिनेगरी बैंकहरुले कारोबार विवरण उपलव्ध गराउँदछन् जसलाई ‘स्टेटमेन्ट’ पनि भनिन्छ । जसमा कुन मितिमा कति रकमको कारोबार कोसँग भएको हो भन्ने कुरा उल्लेख हुने हुँदा खाता खोल्ने व्यक्ति वा संस्था ठगिन पाउँदैन । 

ग्राहक पहिचान नीति (KYC)
कुनै विजनेसमा आफ्नो ग्राहक तथा उपभोक्ता पहिचान गर्ने प्रक्रियालाई केवाईसी अर्थात नो योर क्लायन्ट्स भनिन्छ । आफ्नो कम्पनीसँग कुनै प्रकारले जोडिन आउने व्यक्ति कुनै पनि काण्डमा फसेको छ÷छैन वा उसको पहिलेका रेकर्डहरु कस्ता छन्, कुनै अपराधिक क्रियाकलापमा संलग्न पो छ कि ? लगायतका जानकारी लिने प्रक्रिया (केवाईसी) ग्राहक पहिचान हो । आफ्नो लगानी तथा कारोबारको सुरक्षाका लागि बैंक तथा वित्तीय संस्थाहरुले केवाईसीको प्रयोग गर्ने गरेका छन् । चोर, ठग, आतंककारी लगायतबाट आफ्नो संस्थालाई टाढा राख्नका लागि पूर्वसावधानीस्वरुप उक्त प्रणालीको प्रयोग गरिन्छ । (केवाईसी) ग्राहक पहिचान प्रकृयाले कुनै पनि संस्थालाई सम्भावित जोखिमबाट बचाउने काम गर्दछ । विशेषतः बैंक तथा वित्तीय संस्थाहरुले उपभोक्ता नीति, उपभोक्ता पहिचान विधि, कारोबारको व्यवस्थापन र जोखिम व्यवस्थापनमा आधारित रहेर आफ्नो (केवाईसी) ग्राहक पहिचान नीति तय गर्दछन् । 

खाता खोल्न के चाहिन्छ ? 
बैंक खाता खोल्न सजिलो छ । यसका लागि धेरै रकमको आबश्यकता पर्दैन, कतिपय बैंकहरुले निशुल्क खाताको सुविधा पनि ल्याइसकेका छन् । सम्बन्धित निकायले जारी गरेका सामान्य आफ्नो परिचय खुल्ने कागजहरु र फोटो भएपछि बैंक खाता खोल्न सकिन्छ ।  बैंक खाताको लागि नागरिकताको प्रमाणपत्र, खाता खोल्ने व्यक्तिको फोटो, ग्राहकको पहिचान पूर्ण रुपमा झल्किने गरी पारिवारिक ३ पुस्ते विवरण (बाबु बाजेको नाम उल्लेख भएको) सहित पूर्णरुपले भरेको आवेदन फारम, आवश्यक न्यूनतम रकम, तथा व्यक्तिको (हस्ताक्षर) दस्तखत नमूना भए पुग्छ । नानीबाबुको हकमा संरक्षकको हैसियतले अभिभावकको नागरिकता, फोटो र आवेदन फाराममा हस्ताक्षर आवश्यक पर्दछ  । 

बैंक खाताको बिवरण :
बैंक खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चल्ती खाता, बचत खाता र मुद्दती खाता चलन चल्तीमा रहेका प्रमुख खाताहरु हुन् । 

चल्ती खाता : आफुले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतया ः ब्याज प्राप्त हुँदैन । उद्योग, व्यापार र कार्यालयहरुका लागि मात्रै यो खाता बढी उपयोगी हुन्छ ।

बचत खाता : बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एकैदिनमा धेरैपटक पैसा झिक्न सकिँदैन । यस किसिमको खातामा रकम झिक्दा एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्य तथा साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । यस खाताबाट बैंकमा सुरक्षित तवरले रकम जम्मा हुनुका साथै ब्याज सहित आबश्यक परेको बेलामा निकाल्न सकिन्छ । विद्यार्थी, युवा, गृहस्थी, बृद्धबृद्धा सबैका लागि यो खाता उपयोगी र सरल हुन्छ ।

मुद्दती खाता : मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा  ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अबस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयूक्त हुन्छ । यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडिनै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]