October 25th, 2016

सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् रविन्द्र भट्टराईका महत्वपूर्ण टिप्सहरु

rabindra bhattaraiतलमाथि हुने शेयर बजारको प्रकृति नै हो । केही समयअघिसम्म निरन्तर बढेको बजार हाल आएर केही करेक्सन् भएको अवस्थामा छ । अहिले धेरै कम्पनीहरुले नाफा घोषणा गरेर कतिपय कम्पनीको बुक क्लोज भईसकेको छ । जसका कारण बजारमा शिथिलता आएको छ । बुक क्लोजिङ भईसकेका कम्पनीका सेयर किन्नेले त्यसको नाफा बर्ष पछि पाउँछन् । त्यसैले नाफा पाउनेहरुको कारोवारमा निरन्तरता छ । तर नाफा नपाउनेको भने कारोबारमा कमि अएको छ ।

चाडपर्वमा सामान्यतया पैसाको आवश्यकता पर्छ । त्यही आवश्यकता पुरा गर्न कतिपय लगानीकर्ताले सेयर बेच्छन् भन्ने कुराको प्रभाव होला कि भन्ने कुरा हो । यद्यपी चाडपर्वको आवश्यकताका लागि बेचिने सेयरले खासै असर गर्दैन । बजारको ट्रेन्ड नै भदौपछि कारोवारमा कमी आउने खालको छ । विगत १४ बर्षमध्ये १२ वर्षको सेयर बजार इतिहास हेर्ने हो भने बैशाख महिनादेखि साउन वा भदौसम्म उच्च विन्दुसम्म पुग्ने गरेको देखिन्छ । यसको अर्थ एक बर्षको अवधिमा सबैभन्दा उच्च बिन्दु बैशाखदेखि भदौसम्मको समयमा पुग्ने हो । अहिलेसम्म नेप्सेका उच्चतम बिन्दु पनि यही अवधिभित्र बनेका छन् । ०६५ सालदेखिको बजारलाई विश्लेषण गर्ने हो भने त्यसयता पनि साउन भदौमै उच्च विन्दुमा पुगेको छ । त्यसपछि मार्केटमा अलि गिरावट देखिएको छ र यो वर्ष पनि त्यसैलाई पछ्याईरहेको देखिन्छ । 

सेयर मार्केटका लगानीकर्ताले सँधै सतर्क रहनुपर्छ । चाडपर्वको बेलामा त झन् विशेष ध्यान दिनुपर्छ । पैसा लगानीकर्ताको हो, उसको लगानी बचाउनु त जहिले पनि उसको प्रथामीकतामै पर्ने कुरा हो । आफ्नो सावाँ बचाउन राम्रा कम्पनीमा लगानी गर्ने कुरा लगानीकर्ताको पहिलो प्रथामीकतामा पर्नुपर्छ । त्यसैले चाडपर्वमा मात्रै नभएर लगानीकर्ताले सँधै सावधानी अपनाउनुपर्छ । 

चार 'ई' लाई पछ्याऔँ
लगानीकर्ताले बजारमा लगानी गर्न आउन अघाडी बजारको बारेमा बुझ्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । यसमा पहिलो ४ ओटा Eको कुरा हुन्छ । पहिलो शिक्षा Education, दोस्रो माकेटमा प्रवेश ‘Entry’, तेस्रो अनुभव ’Experience’ र चौथो बाहिरीने ‘Exit' । यसलाई पछ्याउन सक्यो भने जोखिम हुँदैन । सबैभन्दा महत्वपुर्ण त शिक्षा नै हुन्छ । शिक्षा नभईकन मार्केटमा छिर्नु ठूलो जोखिम मोल्नु हो । सिकेर वा अनुभव लिएर बजारमा छिर्दा केई न केई जोखिम कम हुन्छ । 

क्षमताअनुसारको लगानी गरौँ
सेयरमा फाईदा जो कोहीले पनि लिन सक्छन् । यो बजार यसको वा त्यसको भन्ने हुँदैन । यो बजारमा छिरेर सम्पती बढाउन चाहने, थोरथोरै बचेको पैसा लगानी गरेर पैसा कमाउन चाहानेले नै यो बजारबाट कमाउने हो । बजार ठूलो पुँजी हुने वा शहरियाको मात्र हो भन्ने धारणा गलत हो । तर लगानीकर्ताले सेयरमा लगानी गर्दा जहिले पनि बुझेर लगानी गर्नुपर्छ । बुझ्नको लागि पहिला शिक्षा, तालिम, पत्रपत्रीका पढ्ने, क्षमताअनुसार लगानी गर्ने र सावाँ नगुमाउने गरी लगानी गर्नुपर्छ । 

राख्ने र बेच्ने सेयर छुट्याऔँ
सेयर मार्केटमा छिर्नुअघि यथेष्ठ जानकारी लिनुपर्छ । हल्लाका भरमा हतारिएर छिर्नुहुँदैन । मार्केटले तपाईलाई १२ महिनानै अवसर दिइरहेको हुन्छ । सेयर मार्केट भनेको दुई महिनापछि बन्द हुने वा निश्चित समयको व्यापार हैन । यहाँ सँधैभरि कारोबार भईरहन्छ । बजारमा कहिले कम्पनी सस्तो भईरहेका हुन्छन, कहिले महंगो भईरहेका हुन्छन् । त्यहाँ कुन कम्पनी कस्तो भनेर चिन्नुपर्छ । ‘मैले राख्ने सेयर र बेच्ने सेयर’ भनेर छुट्याउन सक्नुपर्छ । ती सबै कुरा छुट्याउन सक्ने हुनु भनेको शिक्षाले नै हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]