October 21st, 2016

यी हुन्, यस साता चर्चामा रहेका बैंकिङ समाचारहरु

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । दशैँ सकिएपछिको पहिलो यो साता नेपाल राष्ट्र बैंकले आफ्नो प्रवक्ता परिवर्तन गर्यो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको व्याज बढाए । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

राष्ट्र बैंकमा प्रवक्ता परिवर्तन
नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका त्रिलोचन पंगेनिलाई सो जिम्मेवारीबाट मुक्त गर्यो । पंगेनीको ठाउँमा राष्ट्र बैंकले सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई प्रवक्ता बनायो । पंगेनीलाई राष्ट्र बैंक व्यवस्थापन विभागमा सारियो । 

बुधबारदेखि कर्पोरेट क्रिकेट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाँच दिने तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट बुधबारदेखि सुरु भयो । एसएस इभेन्टस् प्रालिद्धारा आयोजित प्रतियोगितामा १९ टिमको सहभागीता रहेको छ । सहभागी टोलीमा १३ बैंक, १ मिडिया हाउस र ५ कर्पोरेट हाउस छन् ।

कर्जाको व्याजदर बढ्यो
लगानी योग्य पुँजी (तरलता) कम हुँदै गएको भन्दै बाणिज्य बैंकहरुले यसै साताको सोमबारदेखि ऋणको ब्याज दर बढाए । बैंकहरुले ०.५ प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज दर बढाएका हुन् । हाल ब्यापारिक तथा व्यवसायिक प्रकृतिका ऋणको मात्रै ब्याज दर वढाइएको बैंकरहरुले बताएका छन् । घर तथा गाडि कर्जाको ब्याज दर भने तत्काल बढाइएको छैन ।

शाखा, सेवा तथा प्रविधि विस्तार
सिभिल बैंक र बुम रेमिटबीच सम्झौता सम्पन्न भयो । सिद्धार्थ बैंकले “सिद्धार्थ बैंक स्मार्ट“ नामक नयाँ मोबाइल बैंकिङ्ग एप्लिकेशन बजारमा ल्यायो । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्स बीच रेमिट्यान्स सम्झौता भयो । 

सेयर निष्काशन तथा बाँडफाँड
कृषि बिकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्यो । साताको बुधबार टुरिजम डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गर्यो । सूर्योदय लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड भयो । प्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडको बुधबार काठमाडौँमा सम्पन्न सातौं वार्षिक साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई १५५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्तावलाई पारित गर्यो । माछापूछ्रे बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दियो । काष्ठमण्डप डेभलपमेन्ट बैंकले पनि २५ प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति पायो । आईसीएफसी फाइनान्स कम्पनीको सोमबार सम्पन्न १३ औँ साधारणसभाले १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्यो । यससँगै राष्ट्र बैंकको निर्देशनअनुप ८० करोड पुँजी पुगेको कम्पनीले जनाएको छ । मितेरी डेभलपमेण्ट बैंकले सोमबारदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्यो । 

मर्जर तथा एक्विजिसन
सेञ्चुरी बैंक र अरनिको डेभलपमेन्ट बैंकबीच खरिद सम्झौता सम्पन्न भयो । सिभिल बैंक लि.र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लिमिटेड (आईएलएफसीओ) को एकीकृत कारोबार यसै सातादेखि सुरु भष्यो । 

सहयोग, सम्मान तथा अनुदान
युरोपियन बिजिनेस एसेम्ब्लीले महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई म्यानेजर अफ दि इयरबाट पुरस्कृत गर्यो । बैंकले बेष्ट इन्टरप्राइजेज पुरस्कार पाएको हो ।  नेपाल बैंकर्स संघले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई सम्मानित गर्यो । बेलायती पत्रिका “द बैंकर” ले हरेक वर्ष सार्वजनिक गर्ने सूचीमा विश्व र एशिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री २०१६ घोषित भएका पूर्व अर्थमन्त्री डा. महतलाई एसोसिएशनले पनि सम्मानित गरेको हो । प्रभु मनि ट्रान्सफरले प्रभु लक्की सेभेन तेस्रो र चौथो हप्ताका विजेता सार्वजनिक गर्यो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै वित्तीय संस्था
आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर ओम डेभलपमेन्ट बैंकले रक्तदान कार्यक्रम र बिन्दबासिनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गर्यो । 

नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्यो भने बुधबार एक अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्यो । 

नेपाल धितोपत्र बोर्ड 
काठमाडौँ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर बनेको गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर कारोबार नखुलाएपछि नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग्यो ।  त्यस्तै, बोर्डले गैह्र आवासिय नेपाली संघ (एनआरएन) लाई धितोपत्रको दोस्रो बजारमा सहभागि गराउने विषयमा अध्ययन गर्नका लागि नेपाल धितोपत्र बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा अलग्गै समिति गठन गर्यो । 

अन्य
आइक्यानका पूर्वअध्यक्ष सुबोध कर्णलाई मातृशोक पर्यो । सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गर्यो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]