October 19th, 2016

भुकम्पपछि बीमा कम्पनीले गरे १२ अर्ब भुक्तानी 

bima samitiगत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म १२ अर्ब तीन करोड दुई लाख रुपैयाँ भुक्तानी गरिएको छ । बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको प्रिमियम भुक्तानी भई सो रकम विभिन्न बीमा कम्पनीमार्फत घरधनीलाई उपलब्ध गराएको बताएको छ । सो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पबाट आवासीय घर तथा ठूला महलको समेत क्षति भएको थियो ।

समितिका अध्यक्ष प्रा डा. फत्तबहादुर केसीले बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसारको अभिवृद्धि गरिएपछि अहिले त्यसप्रति उनीहरुको चासो र सरोकार वृद्धि भएकामा खुसी व्यक्त गरे । उनले बीमा व्यवसायबाट आव २०७१/७२ मा ३६ अर्ब २८ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको जानकारी दिँदै २०७०/७१ मा ३० अर्ब ४३ करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बताए । सो रकम १९ प्रतिशतले बढी हो ।

विसं २०२५ मा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नका लागि नियमकारी निकायका रुपमा अर्थ मन्त्रालयको एकाइका रुपमा बीमा समितिको स्थापना भएको थियो । विसं २०४९ मा आएको बीमा ऐनले सो व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारीका साथ स्वायत्त संस्थाका रुपमा समितिलाई स्थापित गरेको हो ।

सम्बन्धित घरधनीले भूकम्प जानुअगाडि बीमा गरेका ती घर, अपार्टमेण्ट तथा मलको सङ्ख्या १७ हजार आठ सय ४० घर रहेको र सोही अनुसारको दाबी परेकामा एक हजार चार सय ९७ घरको प्रिमियम भुक्तानीको प्रक्रिया चलिरहेको छ । केही जटिल प्रक्रियाका समस्या रहेका दाबीउपर बीमा दाबी उजुरी छानबिन समितिले छानबिन गरिरहेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार एकपटक भुक्तानी भएपछि पुनः आएका परकम्पबाट क्षति भएका घर तथा आवास भत्किएकाले पनि समस्या बढेको छ ।

नेपालमा नौओटा जीवन बीमा कम्पनी तथा १६ ओटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । घर, मोटरलगायतको गरिने बीमा निर्जीवन कम्पनीले गर्ने गर्दछन् । बीमा गर्न चाहने सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउनका लागि पछिल्लो समय बीमा समितिले सबै कम्पनीलाई थप व्यवस्थित बनाउन चुक्ता पूँजी बढाउन आग्रह गरेको छ ।  

अर्थशास्त्री राधेश्याम मालाकारले कुनै पनि विपत् तथा भवितव्यबाट जीवन तथा भौतिक सम्पत्ति जोखिममा रहँदा नजिकका आफन्तले त्यसको क्षति प्राप्त गर्न सक्ने हुँदा बीमा सेवालाई ग्रामीण भेगसम्म पुर्याउन खाँचो रहेको बताए । अहिले कृषि, पशुपालन, विभिन्न बाली तथा उद्योगमा पनि बीमाको व्यवस्था भएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]