October 10th, 2016

कुन अवस्थामा निर्जिबन बीमाबाट फाइदा लिन सकिन्छ ? (रिपोर्टसहित)

insuranceबीमा एउटा सुरक्षा संयन्त्र हो । मानव जीवनको आवश्यकता र घटना दुवैको जोखिन न्यूनिकरण गर्नको लागि बीमा यन्त्रको रुपमा बीमालाई लिन सकिन्छ । कुनै दुर्घटना वा असामायिक मृत्यु भयो भने के गर्ने ? मानव जीवनको मृत्यु यो बेला हुन्छ भनेर हामीले किटान गर्न सक्दैनौँ । त्यसैले अस्वभाविक निधन भयो भने आकस्मिकताको समयमा बीमाले ठूलो सुरक्षा गरेको हुन्छ । वर्तमान समयसम्म पनि धेरै मानिसमा बीमा गर्नुपर्छ भन्ने धारणा भएको पाइँदैन । यसमा बीमाको प्रचारप्रसार गर्न नसक्नु हाम्रो ठूलो कमजोरी होला । विमाको फाइदाहरुको बारेमा पूर्ण रुपमा जनमानसमा सुचना पुर्याउन नसकेको कारण पनि मानिसहरु विमाबारे अनविज्ञ छन् । त्यसैले जनचेतनाको प्रभाव पनि वृद्धि गर्दै सर्वप्रथम त हामीले विगतमा भएका कमी कमजोरीलाई मुल्यांकन गर्दै बीमाको पहुँच बढाउने तथा नयाँ पुस्ताहरुमा विमा गर्ने परम्परा पनि बसाल्न जरुरी रहेको छ । जीबन र निर्जिबन गरी बीमा दुई प्रकारका हुन्छन् । यसमध्ये निर्जिबन बीमाका बारेमा यहाँ चर्चा गरिन्छ । 

सामान्यतयाः चल अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तरगत दुर्घटना, औषधीपचार खर्च, तेस्रो पक्ष दायित्त्व, उत्पादन दायित्त्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । यदि सम्पत्तिको बीमा गरिएको छ भने कुनै कारणवश सम्पत्ति नाश भएमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छ । कम्पनीहरुले शतप्रतिशत नभए पनि अधिकतम ९० प्रतिशतसम्म भुक्तानी गर्छन् । सो रकमले मानिसले फेरि सम्पत्ति जोड्न सक्छ । मानिस फेरि पहिलेकै अवस्थामा आउन सक्छ । अन्यथा यस्ता दुर्घटनाले करोडपति पनि फुटपाथमा आउन बेर लाग्दैन । 

कसरी गर्ने निर्जिवन बीमा ? 
सबैभन्दा पहिलो कुरा, मानिसले आफ्नो कुन सम्पत्तिको बीमा गर्ने हो, निश्चित गर्नुपर्छ । सम्पत्तिको अवस्थाअनुसार कुनकुन जोखिमको रक्षावरण गर्ने हो, त्यो पनि निश्चत गर्नुपर्छ । यदि घरको बीमा गर्ने हो भने घर खोलाको छेउमा छ भने बाढीको जोखिमसमेत कभर गर्ने गरी बीमा गर्नुपर्छ । त्यसपछि कम्पनीमा गएर आवेदन दिनुपर्छ । साथै केवाईसी फर्म पनि भर्नुपर्छ र आफ्नो सम्पतिको आवश्यक प्रमाणपत्र बुझाउनुपर्छ । साथै सम्पत्तिको मालिकको फोटो, नागरिकताको फोटोकपी, यदि कम्पनी हो भने प्रबन्धपत्र, नियमावली, प्यान नम्बर आदि बुझाउनुपर्छ । कम्पनीले बिमितको आवेदन स्वीकार गरेपछि बीमा शुल्क निर्धारण गर्छ । बीमा शुल्क भुक्तानी गरेपछि करार सुरु हुन्छ । 

कसरी पाउने भुक्तानी ?
बीमा गरिएको सम्पत्तिको क्षति हुनेबित्तिकै जतिसक्दो छिटो कम्पनीलाई खबर गर्नुपर्छ । अधिकतम १५ दिनभित्र खबर गरिसक्नुपर्छ । कम्पनीलाई सूचना दिनेबित्तिकै कम्पनीले सर्भेयर पठाउँछ । सर्भेयरले क्षति भएको सम्पत्तिको मूल्यांकन गरेर कम्पनीमा बुझाउँछ । सोही मूल्यांकनअनुसार दुर्घटना भएको प्रमाणित हुने कागजपत्र कम्पनीमा बुझाउनुपर्छ । त्यसपछि कम्पनीले दाबी भुक्तानी गर्छ । आफूले गरेको बीमा सम्पत्तिको कस्तो खालको जोखिम वहन गर्छ, कस्तो खालको अवस्थमा भुक्तानी गर्छ, दाबी कसरी गर्ने, कहाँ गर्ने, कस्तो कागजपत्र बुझाउने भन्ने खालको जानकारी बीमालेखमा नै लेखिएको हुन्छ । 

कस्तो अवस्थामा भुक्तानी पाइँदैन ?
यदि बिमितले गरेको दाबी नियमसंगत छैन भने भुक्तानी पाउन सकिँदैन । त्यस्तै, कानुनले बर्जित गरेको कारणबाट दुर्घटना भई सम्पत्तिको क्षति भएको रहेछ भने भुक्तानी पाइँदैन । जस्तै, सवारीसाधनको बिमा गरिएको छ तर, सवारीधनीले मादक पदार्थ खाएर सवारी साधनको दुर्घटना भएको रहेछ भने कम्पनी भुक्तानी गर्न बाध्य हुँदैन । 

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु
सबैभन्दा पहिला बीमा गर्ने सम्पत्तिमा पर्ने सक्ने जोखिमहरु निश्चित गर्नुपर्छ । सोहीअनुसार बिमा गरिनुपर्छ । सम्पत्तिको उचित मूल्यांकन गर्नुपर्छ । बीमा गर्दा अर्काको करकापमा गर्नुहुँदैन । बीमा गरेपछि आफूले गरेको बीमालेखको राम्रोसँग अध्ययन गर्नुपर्छ । बीमाले कुनकुन जोखिमको रक्षावरण गर्ने हो, त्यसबारेमा जानकार हुनुपर्छ ।

निर्जीवन बीमा खरिद गर्नुपूर्व ध्यान पुर्याउनुपर्ने कुराहरू बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ :

  • किन र केका लागि बीमा योजना खरिद गर्न लागिएको हो भन्नेबारेमा आफू प्रस्ट हुनुपर्छ ।
  • सबैलाई एकै खाले योजना नसुहाउने भएकाले आफूलाई कुनचाहिँ योजना ठीक छ भनी जानकारी हासिल गर्नुपर्छ । 
  • कसैको बहकाउमा नआई आफ्नो आवश्यकताअनुुसारको बिमा योजना खरिद गर्नुपर्छ । 
  • घर तथा सवारीसाधनको बीमा गर्दा आफ्नो लागत केकस्तो छ भन्ने ध्यानमा राखेर सही योजना छनोट गर्नुपर्छ । 
  • बीमा योजना खरिद गर्दा एकैचोटि भारी योजनातिर लाग्नु हुँदैन । 
  • आफूले खरिद गर्न लागेको बीमा योजनाले आफ्नो साधन वा घरको सम्पूर्ण जोखिमलाई ओगट्छ कि ओगट्दैन भन्नेबारे ध्यान पुर्याउनुपर्छ । 
  • कुनै पनि बीमा योजना खरिद गर्नुपहिले आफ्नो व्यापार वा बीमा गरिने साधनमा के–कस्ता समस्या तथा अप्ठ्यारा आउन सक्छन्, ती बारे पूर्ण अध्ययन गर्नुपर्छ ।
     

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]