October 4th, 2016

‘बैंकको सुरक्षामा प्रहरी कटिबद्ध’

pratap-sing-thapa-jpgमुलुक अहिले चाडपर्वमय भएको छ । खासगरि दसैँ, तिहार र छठ पर्वको यो समयमा सर्वसाधारणले धेरै नगदको कारोबार गर्छन् । किनमेल, भिडभाड, अस्तव्यस्तता यही बेलामा बढी हुने गर्छ । यो बेला किनमेलका लागि धेरै नागरिकले बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेका हुन्छन् । साविकको तुलनामा धेरै मानिसले बैंकिङ कारोबार गर्ने भएकाले यो समयमा उनीरुमा सुरक्षा चुनौति त हुन्छ नै, योसंगै केही समयपछि झण्डै ३० लाख मानिसहरु काठमाडौँबाट बाहिरिँदैछन्, त्यो बेला बैंक तथा वित्तीय संस्थाको सुरक्षासम्बन्धी विषय पनि अर्को महत्वपूर्ण विषय हो । यसै सन्दर्भमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कारोबार गर्ने सर्वसाधारणको सुरक्षा रणनीतिबारे बैंकिङ खबर डटकमका सह–सम्पादक नवराज कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) प्रतापसिंह थापासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :
 
दसैँको बेला बैंक तथा वित्तीय संस्थाहरुमा धेरै मानिसहरुले नगद कारोबार गरिरहेका हुन्छन् । यो अवस्थामा बैंकमा कारोबार गर्ने नागरिक र बैंक तथा वित्तीय संस्थाको सुरक्षाको लागि प्रहरीको रणनीति कस्तो छ ?
बैंक तथा वित्तीय क्षेत्र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्र हो । प्रहरीको तर्फबाट हामीले उपलब्ध गराउने सुरक्षासम्बन्धी कहिँ कतै कमजोर हुन नदिने हाम्रो प्रयास हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुलाई अहिलेको अवस्थामा कस्तो किसिमको सुरक्षा आवश्यक छ भन्ने विषयमा हामीले छलफल पनि अगाडि बढाइरहेका छौँ । हामीले अनुगमनलाई पनि तिब्रता दिएका छौँ । चुस्त दुरुस्त सेवाका लागि हामीले सम्बन्धित क्षेत्रका सरोकारवालासँग छलफल गरिरहेका छौँ ।

बैंक तथा वित्तीय संस्थाले नै अपनाउनुपर्ने सतर्कता के–के हुन सक्छ ?
बैंक तथा वित्तीय संस्थासंगै सुनचाँदी तथा नगद कारोबार गर्ने संस्थाहरुमा सीसी टिभि जडान गर्न हामीले अनुरोध गरिसकेका छौँ । बैंक तथा वित्तीय संस्थाहरुले प्राइभेट रुपमा सुरक्षाकर्मीहरु पनि राखिसकेको अवस्था छ । संस्थाहरुले राखिसके भनेर हामी चुप लागेर बसेका चाहिँ छैनौँ । हामीले बेलाबेला चेकजाँच गर्ने र उहाँहरुसंग समन्वय गर्ने काम पनि गरिरहेका छौँ । त्यसैले यतिबेला उहाँहरुले हामीसंग समन्वय गरिरहन आवश्यक छ ।  

अघिल्लो वर्ष र अहिलेको सुरक्षा चुनौति कस्तो छ ?
चुनौति भएकैले हामीले विशेष सुरक्षा रणनीति लागु गरेका हौँ । मुलुक सामान्य अवस्थामा नै रहेकाले अघिल्लो वर्ष र अहिलेको सुरक्षा चुनौतिमा खासै फरक त छैन तर चुनौतिहरु अवश्य छन् । त्यसैले हामी त्यसप्रति अत्यन्तै संवेदनशील र सतर्क छौँ । खासगरि दसैँ, तिहार, छठजस्ता पर्वहरुमा नगद कारोबार धेरै हुन्छ । यो बेलामा जोखिम हुन्छ । त्यस्तै धेरै मानिसहरु काठमाडौँ छाडेर बाहिर गएका हुन्छन्, यो अवस्थामा पनि उपत्यकामा चोरीजस्ता घट्नाहरु हुने संभावना प्रवल हुन्छ ।

उपत्यकामा कस्ता किसिमका आपराधिक घटना बढी हुने गर्छन् ?
आपराधिक घटनालाई हामीले विभिन्न ढंगले हेर्ने गरेका छौं । कुनै सामान्य प्रवृत्तिका हुने गरेका छन् भने कुनै ज्यानमारा घटनालाई विशेष चासोको साथ हेर्नुपर्छ । चोरी, डकैती, लुटपाट, आत्महत्या, लागुऔषध, कर्तब्यज्यान, अबैध हातहतियार, आर्थिक कारोबारजस्ता घटना बढी मात्रामा हुने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थालाई कुन अवस्थामा जोखिम हुन्छ यो चाडबाडको बेलामा ?
उहाँहरुले आफ्नै सुरक्षाकर्मी खटाउने र सीसी टिभि राख्ने सवालमा ध्यान दिनुपर्छ । यसबारे हामीले उहाँहरुलाई आग्रह गरिसकेका छाँै । यसो गरिएन भने चुनौति अझै सशक्त हुन सक्छ । तर प्रहरी यस कुरामा प्रतिबद्द र कटिबद्द छ कि हामी कुनै पनि अप्रिय र निन्दनीय घट्ना हुन नदिन निरन्तर सक्रिय छौँ ।

बैंकिङ कारोबार गर्ने नागरिकहरुले चाहिँ कतिको असुरक्षित हुन्छन् यो बेला ?
हो, बैंक तथा वित्तीय संस्थामात्रै नभएर त्यहाँ कारोबार गर्ने सर्वसाधरणले पनि यो बेला विशेष ध्यान पुर्याउनुपर्छ । आफैले पनि थोरै संयमता अपनाउनुपर्छ । नागरिकको सुरक्षाका लागि अहिले हामीले साइकल तथा मोटरसाइकलमा सुरक्षा गस्तीहरु खटाएका छौँ । ती गस्ती काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खटिएका छन् । सम्भावित घट्नाहरुलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने विभिन्न नाकाहरुमा चेकजाँचलाई कडा पारिएको छ ।

यो बेला बैंकिङ कारोबार गर्ने नागरिकहरुले ध्यान पुर्याउनुपर्ने कुराहरु के–के हुन् ?
कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट धेरै रकम झिकेर हिँड्नु जहिले पनि जोखिमपूर्ण हुन सक्छ । अहिले विभिन्न कार्ड, एटिएम तथा चेक हुन्छन् । ती कार्ड तथा चेकको प्रयोग गर्न सकिन्छ । पैसा निकाल्नै जरुरी भयो र निकालेको अवस्थामा आफुले एकदमै साना कुरामा संयमता अपनाउनुपर्छ । किनभने घट्ना हुने भनेकै सानातिना कमजोरीलाई ख्याल नगर्दा हो । सकेसम्म यस्तो कारोबार मदिरा सेवन गरेको अवस्थामा नगर्ने, ठूलो नगद कारोबार गर्दा एक्लै नजानेजस्ता सामान्य कुराप्रति ध्यान पुर्याउनुपर्छ ।

घर छाडेर जानेहरुले पैसा, गरगहना जस्ता सम्पति घरमा राख्नुहुँदैन । यदी मूल्यवान सामान झिक्न नमिल्ने अवस्थामा छ र लामो समयका लागि घर छाड्नुपर्ने अवस्था छ भने प्रहरीलाई जानकारी गराउनुपर्छ । त्यसको निगरानी प्रहरीबाट हुनेछ । बजारमा जाँदा पनि असुरक्षित ढंगले पैसा लिएर हिँड्नुहुँदैन । भिडभाडमा जाँदा बहुमुल्य गरगहना लगाउनुहुँदैन । गरगहना लगाए पनि बाहिरै देखिने गरी वा थुत्न मिल्ने गरी लगाउनुहुँदैन । यदि लुटपाट भईहालेको अवस्थामा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराइहाल्न म अनुरोध पनि गर्न चाहान्छु ।  
 
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
अपराधिक घटनाहरु न्युनीकरणका लागि नागरिकको भूमिका निकै महत्वपूर्ण हुन्छ । नागरिक होसियार नभएको कारण बिभिन्न घटनाहरु घट्न गरेका छन् । त्यसैले कुन घटना कसरी हुन्छ, कहाँ के भइरहेको छ भन्ने सूचना हामीलाई दिनुपर्यो । त्यहाँ प्रहरी पुगेर सत्यतथ्य बुझ्ने काम गर्छ । जनताबाट त्यसरी सहयोग भयो भने हामीले तुरुन्तै नियन्त्रण गर्न सक्छौ र अपराध रोक्न सक्छौं । यदी कुनै कारणवश घटना घटिहाल्यो भने सही सूचना दिएर सहयोग गरिदिनुहुन सर्वसाधारणलाई आग्रह गर्दछौं । जसले गर्दा हामीलाई अनुसन्धान गर्न सजिलो हुन्छ र अभियुक्त छिटो पक्राउ पर्छ । कानूनी कारवाही गर्नलाई र सबुत बमोजिम प्रमाण संकलन गर्नको लागि पनि हामीलाई जनताकै सहयोग चाहिन्छ । पीडित पक्षदेखि लिएर अन्य पक्षको हामीलाई सहयोग चाहिन्छ, त्यो भयो भने हामी काम गर्न सक्छौँ । कानूनको पालना गर्ने जनताले हो, ट्राफिक नियमको पालना गर्ने जनताले हो यस्तो सोचको विकास भयो भने प्रहरीलाई धेरै सहयोग हुन्छ । धेरैजसो घटनाहरु जनताको लापारबाहीले भएको पाइन्छ । जतिपनि घटना भएका छन् यसमा हामी अलि सुरक्षाको भावनाले सुरक्षित भएर एउटा असल नागरिकले निभाउनुपर्ने भूमिका निभायौंै भने प्रहरीलाई त्यही नै ठूलो सहयोग हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]