September 28th, 2016

दुई वर्षभित्र पूर्वका ३२ जिल्लामा अप्टिकल फाइबर : प्राधिकरण र टेलिकमबिच ५ अर्बको सम्झौता

optical-fiberनेपाल टेलिकमले अबको दुई वर्षभित्रमा काभ्रे पूर्वका सबै जिल्लामा अप्टिकल फाइबल विस्तार गरिसक्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामिण दुरसञ्चार कोषमार्फत ताप्लेजुङको चिवाभञ्जाँङदेखि काभ्रेको पाँचखालसम्म ३२ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौंतापत्रमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगाम्बर झा र नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार, टेलिकमले दुईवर्षभित्र काभ्रे पूर्वका सवै पहाडी जिल्लामा फाइबर विस्तार गरिसक्नुपर्ने उल्लेख छ । करिब एक हजार किलोमिटर फाइबर बिछ्याउन टेलिकमले चार अर्ब रुपैयाँको प्रस्ताव पेश गरेकोमा प्राविधिक कारणले केही महँगो हुने भन्दै पाँच अर्ब रुपैयाँ पुर्याएर सम्झौंता गरिएको बताइएको छ । 

यस्तो छ टेलिकमको नक्सांकन
टेलिकमले फाइबर विस्तारका नक्साकंन समेत गरिसकेको छ । जसअनुसार, प्रदेश एकका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संङ्खुवासभा, सुनसरी, मोरङ उदयपुर, खोटाङ, तेह्रथुम र भोजपुर जिल्लामा फाइबर विस्तारको काम गर्नेछ । प्रदेश दुईमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट , बारा, पर्सा, चितवन र प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुङ्गा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गर्नेछ ।

सम्झौताअनुसार, टेलिकमले ३२ जिल्लामा एक सय गिवावाइट सम्मको डेटा ट्रान्सफर हुने गरी फाइबर विस्तार गर्नेछ, जसलाई चारसय गिगावाइटसम्म विस्तार गर्न सकिनेछ । विस्तारित फाइबर प्राधिकरणलाई बुझाएर मात्रै व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पाउने समेत उल्लेख गरिएको छ । त्यस्तै, टेलिकमले राष्ट्रिय प्रशारण लाइन नपुगेका स्थानमा बैकल्पिक उर्जाको व्यवस्था गरेर सेवा दिनुपर्ने बताइएको छ । 

टेलिकमले काम सुरु गर्नका लागि ३० प्रतिशत रकम अग्रिम रुपमा पाउनेछ भने काम सुरु भएपछि थप ३० प्रतिशत र बाँकी रकम भने टेलिकमले काम सकिएपछि मात्रै पाउनेछ । प्राधिकरणले टेलिकमका सबै कामको निरीक्षण गरी सर्टिफाइड गर्नेछ । 

मध्य पहाडी क्षेत्रलाई इन्टरनेटको पहुँचमा पुर्याउन पुर्वको स्लटलाई  टेलिकमसँग सहकार्य गरेर गाउँगाउँका स्कुल, हेल्थपोष्ट लगायत सार्वजनिक स्थलमा इन्टरनेटको पहुँच विस्तार गरिने टेलिकमकी नवनियुक्त प्रवन्ध निर्देशक राजभण्डारीले बताईन् । कार्यक्रममा सञ्चार सचिव दिनेशकुमार थपलियाले विकासका लागि पूर्वाधार महत्वपूर्ण भएकाले टेलिकम पूर्वाधारको विकास गर्न सक्षम रहेको बताए ।

टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]