September 26th, 2016

मुकुन्द अर्यालको नजरमा : वित्तीय संस्थाहरुले भुल्नै नहुने क्षेत्र

photo mukunda Aryalमुकुन्द अर्याल – अधिकांश आर्थिक क्षेत्र अस्तव्यस्त रहँदा पनि वाणिज्य बैंकहरू कसरी मुनाफामा छन् ? गत आर्थिक वर्षको वाणिज्य बैंकहरूको मुनाफा देखेर आश्चार्यमा परेका एक विद्यार्थीले केही पहिले राखेको जिज्ञासा हो यो । त्यसो त बैंकहरू न्यून लागतको निक्षेप संकलन गर्छन् र केही न केही स्प्रेड राखेर मात्र कर्जा प्रवाह गर्छन् । देशको अर्थतन्त्र असहज अवस्थामा रहे पनि सेवाक्षेत्र व्यापार क्षेत्र फैलिएको छ, तिनीहरू नाफामा नै छन् । बैंकका सेवाका ‘प्रोडक्ट’हरू पनि बढेका छन् अनि गत वर्षको भूकम्प र नाकाबन्दीपश्चात् केन्द्रीय बैंकले बैंकहरूलाई दिएको केही छुट र खुकुलो प्रावधानले बैंकहरू कठिन अवस्थामा पनि मुनाफा हासिल गर्न सक्षम भएका हुन् ।

यही उत्तरबाट पंक्तिकारले उनको जिज्ञासा शान्त गराए पनि तीन दशक एउटा बैंकमा सेवा गरेको एक कर्मचारीको नाताले यो उत्तरबाट आफैं सन्तुष्ट हुन सकिरहेको छैन । त्यसो त नेपालको वित्तीय क्षेत्र अन्य क्षेत्रभन्दा सशक्त र सबल छ । स्वयम् राज्य र सरकारी संयन्त्रहरू राज्य पुनर्संरचना, सञ्चालन, संविधान निर्माण, कार्यान्वयनमा दिशाहीनता र अन्योलबाट गुज्रिरहे पनि नेपालको वित्तीय क्षेत्र जस्तोसुकै अवस्थामा पनि बिनादुर्घटना यहाँसम्म सम्हालिएर आउनु आफैंमा सन्तोषको विषय हो, जसको श्रेय यस क्षेत्रले प्राप्त गर्दैै आएका व्यावसायिक सक्षम नेतृत्वमा जान्छ ।

त्यसो त नेपालको वित्तीय क्षेत्र पनि राजनीतिक रुग्णता, सदाचारहीनताबाट अछुतो छैन, अझै केही वित्तीय क्षेत्रका भान्छेहरू विधि निर्माणको कचहरीमै छिरेर आफूअनुकूलका कानुन निर्माणको प्रयासमा जुटे पनि वित्तीय क्षेत्र, बुद्धिजीविहरू तथा सञ्चारमाध्यमका प्रयासबाट यस्ता प्रयासहरू हालसम्म निस्तेज बनाइँदै आएका छन् । यति कुरा पक्का हो, अन्यत्रको तुलनामा यस क्षेत्रमा व्यावसायिकताको प्रयोग बढी छ । नेपालको वित्तीय क्षेत्र सेवाको आधुनिकीकरणमा समेत धेरै अघि आएको छ । 

हिजो काठमाडौंमा अध्ययन या उपचारनिम्ति बसेको व्यक्तिलाई रकम पठाउन बैंकमा लामो लाइन लागेर ड्राफ्ट या टीटी गरेर हप्तौंमा प्रापकको हात पथ्र्यो, तर आज स्थिति फेरिएको छ । आज बैतडीको गोठालापानीमा बस्ने पिताले झापाको चन्द्रगढीमा बसेर अध्ययन गर्ने छोरालाई निमेषभरमै खर्चपानीका निम्ति पैसा पठाइदिन सक्छन् । आज कुनै व्यापारी वा सर्वसाधारणले आफ्नो ग्याजेटमै वालेट राख्न सक्छ, एक क्लिकमा आफ्नो कारोबार हेर्न, चेक माग्न, भुक्तानी लिन या ब्यालेन्स हेर्नदेखि रकम ट्रान्सफर र उपयोगिताका बिलहरू घरै बसी तिर्नसमेत सक्छ ।

हालसम्म मोबाइल बैंकिङका ग्राहक करिब १७ लाख, ई–बैंकिङका ग्राहक ५ लाख, करिब २००० एटीएम आउटलेट आदि पुगेको तथ्यांकले वित्तीय क्षेत्रले आधुनिकतातर्फ मार्दै गएको फड्को झल्काउँछन् । वित्तीय क्षेत्रको उदारीकरणपश्चात् बैंकिङ शाखाको विस्तार र कारोबारको आकारमा भारी वृद्धिको बाबजुद नेपालको बैंकिङ क्षेत्र विभिन्न आधारहरूमा अझै पनि धेरै पछाडि छ । यी आधारहरूमध्ये न्यून वित्तीय पहुँच, असमावेशिता, बचतमा नकारात्मक ब्याजदर, घट्दो उद्योग क्षेत्रको योगदान, वित्तीय र कृषिक्षेत्रबीच सम्बन्धको अभाव, कमजोर ग्राहक सेवा, कमजोर वित्तीय साक्षरता, वाफिया निर्माणमा स्वार्थ समूह हावी हुनुजस्ता प्रमुख छन् । 

अबको बाटो 
नेपालको इतिहासमा सधैं असहज अवस्थाबाट गुज्रने गरेको अर्थतन्त्रमा यसको मेरुदण्डका रूपमा रहेको वित्तीय क्षेत्र भने सबलै रहनु निश्चय पनि सन्तोषको कुरा हो । तर, यो क्षेत्र आफू मात्र सबल रह्यो, यसको सबलताबाट नेपालको औद्योगिक उत्पादनमूलक क्षेत्र लाभान्वित हुन सकेन भन्ने आरोपबाट भने यो क्षेत्र उम्कन नसकेको अवस्थामा देशको उत्पादन, आय, रोजगारी वृद्धि गर्ने इन्जिनका रूपमा विकास गर्न पहलहरू आरम्भ गर्नु आवश्यक छ ।

पहुँच विस्तार 
सर्वप्रथम त बैंकहरूले हरेक नेपालीको बैंक खाता भन्ने सरकारको नारालाई सार्थक बनाउन न्यूनतम जनशक्ति र प्रविधिको प्रयोगमा न्यून लागतका सेवा बिन्दुहरू विस्तार गर्नु आवश्यक छ ।

बैंकिङ सञ्जालमा जनता
पहुँच विस्तारपश्चात् सर्वसाधारणलाई निक्षेपदेखि कर्जा करारसम्म बैंकिङ नेटमा ल्याउन वित्तीय संस्थाले नै सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्छ ।

समावेशिताको विस्तार
सामान्यतया धनाढ्य र मध्यमवर्ग मात्र बैंकिङ सञ्जालमा छिर्ने तर निम्नस्तरका जनता कहिल्यै बैंकभित्र नछिर्ने वर्तमान परिपाटीमा परिवर्तन ल्याउन विगतका गरिबसँग बैंकिङजस्ता कार्यक्रमहरू विकास र विस्तार गर्न सबै बैंकले पहल गर्नु आवश्यक छ ।

बालबालिका, युवा लक्षित कार्यक्रम 
नेपालका भविष्य तथा वर्तमानका रूपमा रहेका बालबालिका र युवा पुस्तालाई विदेश पलायन हुनबाट रोकी नेपालमै अडाइराख्न वित्तीय क्षेत्रले योगदान दिनुपर्छ । बालबालिकालाई सानैदेखि बचत गर्न सिकाएर, युवाकालमा उनीहरूका सिर्जनशील नवप्रवर्तनात्मक अवधारणाहरूलाई बैंक ऋणसँग आबद्ध गराई उनीहरूमा उद्यमशीलताको बिजारोपण गर्न सके देश र समाज निम्ति वित्तीय क्षेत्रको ठूलो गुन हुन्छ ।

लगानीमैत्री कर्जा व्यवस्थापन 
वित्तीय क्षेत्रको प्रक्रियागत झन्झट, बारम्बारको श्रम अशान्ति, ग्राहकभन्दा राजनीति उन्मुख व्यवस्थापन तथा कर्मचारीजस्ता कारण सेवामा भनेजति छिटोछरितो र विश्वसनीयता ल्याउन नसकेकैले वित्तीय क्षेत्रको कर्जा व्यवस्थापन लगानीमैत्री नरहेको गुनासो यस क्षेत्रले सुनेको नसुन्यै गर्न मिल्दैन ।  

वित्तीय क्षेत्र र कृषिबीच सम्बन्ध
नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको कृषिक्षेत्रको व्यवसायीकरणनिम्ति उत्पादनदेखि बजारीकरणसम्मका सबै श्रृंखलामा वित्तीय क्षेत्रले अन्य सरोकारवालाका साथमा सहयोगको हात बढाउनुपर्छ ।

सकारात्मक ब्याजदर 
वास्तविक मूल्यवृद्धि दोहोरो अंकबाट चलिरहँदा निक्षेपको ब्याजमा रहेको न्यूनताले बचतकर्ताहरू दण्डित महशूस गरेका छन्, यसबाट बचत निरुत्साहित हुनुका साथै अन्य क्षेत्रले धेरै उतारचढाव भोग्नु त परेकै छ, साथै पुँजी पलायनको खतरा पनि बढाएको छ । अतः सकारात्मक ब्याजदर निर्धारणमा वित्तीय क्षेत्रले ध्यान दिनुपर्छ ।

सेवाको गुणस्तर अभिवृद्धि 
अचेल एटीएम, ई–बैंकिङ प्रयोगको वृद्धिसँगै बैंक र ग्राहकबीचको दूरी पनि बढ्दो छ । बिरामीको उपचारनिम्ति लाममा बसेको बैंक ग्राहकले एटीएम मेसिनले रकम नदिँदा विकल्पका निम्ति फलानो उपाय अपनाउनुहोस् भन्ने सन्देशसम्म दिँदैन, मानौं ग्राहकको खाँचोमा बैंकको कुनै चासो छैन । बैंकहरूको सेवामा आधुनिकतासँगै मानवीय पक्ष हराउँदै गएको, सेवा यान्त्रिक भएको, हार्दिकता हराउँदै गएको ग्राहकको आरोप वित्तीय क्षेत्रले सुन्नुपर्छ । 

वित्तीय साक्षरता 
वित्तीय साक्षरता बैंक या ग्राहक कसका लागि ? यस प्रश्नको जवाफ खोज्न अलमल रहँदा यसले गति पाउन सकेको छैन । वास्तवमा यो कुनै एकका लागि नभई दुवैका लागि हो र यसको पहल संगठित हुनुका नाताले वित्तीय क्षेत्रले नै लिनुपर्छ ।

लगानीमैत्री कर्जा व्यवस्थापन 
वित्तीय क्षेत्रको प्रक्रियागत झन्झट, बारम्बारको श्रम अशान्ति, ग्राहकभन्दा राजनीतिउन्मुख व्यवस्थापन तथा कर्मचारी आदिका कारण सेवामा भनेजति छिटो–छरितो र विश्वसनीयता ल्याउन नसक्दा यसले लगानीका निम्ति सकारात्मक वातावरण तयार हुन नसकेको तर्फ वित्तीय क्षेत्रले ध्यान पुर्याउनुपर्छ । 

सामाजिक परिचालक परिचालन 
ऋण घिन हो भन्ने जस्ता समाजमा व्याप्त अनेकन नकारात्मक सोचबाट माथि निकाली सदुपयोग गरे रिन सुन हो, उत्पादन हो भन्ने भावनात्मक परिवर्तन समाजमा ल्याउन व्यापक रूपमा सामाजिक परिचालकहरू परिचालन गर्नु आवश्यक छ । 

राष्ट्रिय एवं सामूहिक पहल 
माओवादी सशस्त्र युद्ध आरम्भ भएयता उद्यमी–व्यवसायीलाई शोषक, मुनाफाखोरका रूपमा चित्रण गर्ने र उनीहरूलाई सक्दो आर्थिक शोषण गर्ने अभ्यास, बढ्दो ऊर्जासंकट र आर्थिक अन्योल तथा निराशाका कारणले साहस, पुँजी, सिर्जनशीलताका परिचालक धेरै उद्यमी पलायन भए, या त उनीहरू सजिलो व्यापार क्षेत्रमा लागे अथवा देशकै सीमा नाघे, जसबाट देशका युवा जनशक्तिको रोजगारी खोसिनुका साथै राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान घट्ने क्रम जारी रह्यो ।

अब नेपाललाई यस दुर्दशाबाट फर्काएर सामान्य स्थितिमा ल्याउन नयाँ सोच, उद्यमशीलताको प्रयोग गर्ने उद्यमीहरूलाई राष्ट्रिय अर्थतन्त्रका सारथिको रूपमा सम्मान गर्ने परिपाटी विकास गर्नुपर्छ । अवधारणा, श्रम, सीप, साहस, कच्चापदार्थ, पुँजी सबैको संयोजनबाट उद्यमशीलताको विकास हुने र अघिल्ला सर्तहरू पूरा नभई वित्तीय क्षेत्रले एक्लै केही गर्न नसक्ने परिप्रेक्ष्यमा त्यसैले यी सबैको संयोजननिम्ति सम्बद्ध सबैको सामूहिक पहलको खाँचो छ ।

उत्पादन तथा औद्योगिक वातावरणदेखि देशको समग्र आर्थिक परिवेश सन्तोषजनक नरहेको अवस्थामा अनुत्पादक मात्र होइन, प्रत्युत्पादकसमेत रहेका गाडी कर्जादेखि ट्रेडिङलगायतका कर्जाबाट बैंकिङ क्षेत्रले मात्र तर मार्नु सामाजिक न्यायको दृष्टिमा उपयुक्त मान्न सकिँदैन । अनुत्पादनशील क्षेत्रबाट आकर्षक मुनाफा आर्जन गर्ने र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केही लाख रकम खर्चेर समाजसेवीका रूपमा देखिन खोज्ने बैंकहरूको शृंगारिक छविमा व्यापक परिवर्तनको खाँचो छ, अब बैंकहरूले आफ्नो ‘मनिलेन्डर’को छविबाट माथि उठी मनि मेकर तथा समाज रूपान्तरण गर्ने संस्थाका रूपमा उभ्याउनु आवश्यक छ ।

देशमा राजनीतिक स्थिरताको अभाव तथा स्वयं राजनीतिक दल नै दिशाविहीन तथा अन्योलग्रस्त रहेको वर्तमान जटिल कालखण्डमा उत्पादनका साधनहरूमध्ये महत्वपूर्ण साधन पुँजीको परिचालकका रूपमा रहेका वित्तीय संस्थाका काँधमा रहेको सामाजिक बैंकिङको जिम्मेवारी जति गह«ौं भए पनि समाजको उत्थान र वित्तीय संस्थाको अस्तित्व दुवैको रक्षा खातिर वहन नगरी धेरै छैन ।

यस परिदृश्यमा अब बैंकहरूले आधुनिक बैंकिङका साथसाथ सामाजिक बैंकिङतर्फको यात्रा अघि बढाउन विलम्व गर्नु हुँदैन, ताकि आफ्नो सबलता अरू क्षेत्रमा सदुपयोग गरेन, केवल आफूले मात्र तर मा¥यो भन्ने भावी पुस्ताको सम्भाव्य आरोपबाट वित्तीय क्षेत्र जोगिन सकोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]