September 26th, 2016

‘‘हुण्डी’ निरुत्साहित गर्नैपर्छ’

dp-sir-2नेपाली आम युवाहरुले गर्व गर्नलायक एक यूवा उद्यमी हुन् डिपि अर्याल । जापानबाट नेपालमा पैसा भित्राउने कार्यमा उनको ठुलो योगदान छ । उनकै नेतृत्वमा जापानबाट नेपालमा औपचारिक रुपमा रेमिट्यान्स भित्रिन सुरु भएको हो । जापनीजहरुले गर्ने मेहनत, उनीहरुले बुझेको समयको महत्व र सिकेको कुरालाई नेपालमा समेत कार्यान्वयन गर्नुपर्नेमा यी युवा उद्यमीको जोड रहँदै आएको छ । लगनशीलता, अध्ययन र मेहनतको पर्यायबाचीका रुपमा समेत चिनिने उनी ‘ईजिलिङ्क रेमिट्यान्स’का कार्यकारी अध्यक्ष हुन् । त्यसबाहेक उनले नेपालको शैक्षिक क्षेत्र, कृषि क्षेत्र, सहकारी क्षेत्र र पर्यटन क्षेत्रमा लगानी गरेका छन् । जापानमा रहेका नेपालीबाट नेपालमा रेमिट्यान्स भित्राउने कार्यमा लागि परेका उनै युवा उद्यमी डपी अर्यालसँग बैंकिङ खबर डट कमले गरेको ‘रेमिट्यान्स बार्ता’ यहाँ प्रस्तुत गरिन्छ ।  

हाल ईजिलिङ्क रेमिट्यान्सको सेवा कहाँ–कहाँ छ ?
नेपालमा त अधिराज्यभरी नै इजीलिङ्कको सेवा विस्तार भईसकेको अबस्था छ । ग्रामीण भेगदेखि सहरसम्म केही नपुगेका ठाउँमा पुग्ने प्रयासमा छौं । अन्तर्राष्ट्रिय रुपमा हेर्दा हामीले सुरुवात नै जापानबाट गरेका हौँ । जापानका कुनै पनि ठाउँबाट नेपालमा ‘ईजिलिङ्क रेमिट्यान्स’बाट सजिलै रेमीट्यान्स पठाउन सकिन्छ । हामीले सुरुवात गर्दा जपानमा १७÷१८ हजार नेपाली थिए । तर अहिले ६० हजारको हाराहारीमा पुगिसकेका छन् । उनीहरुलाई काउन्टर थपेर, सुचना दिएर सरल तरीकाले सेवा दिनु नै यसको लक्ष्य हो । साथै अरु २/३ वटा देशमा पनि छिट्टै हाम्रो सेवा विस्तार हुँदैछ । 

भनेपछि जापानवाट नेपालमा रेमिट्यान्स बढ्दै गएको छ भनेर भन्न सकिन्छ  ? 
हो, जापानमा नेपालीहरु बढीरहेका छन् । त्यहाँ आम्दानी पनि राम्रै गरीरहेका छन् । यसअर्थ जापानबाट नेपालीहरुले पठाउने रेमिट्यान्सको भोलुम बढ्दै गएको छ । किन कि अहिले जापानमा नेपालीहरुको संख्या बढीरहेका कारण पनि त्यहाँबाट भित्रिने रेमिट्यान्स बढेको छ । 

नेपालभित्र पनि अब आन्तरिक सेवा सुरु गर्ने होला नि ? 
नेपाल राष्ट्र बैंकले हालैमात्र रेमिट्यान्स कम्पनीहरुलाई नेपाल भित्रै रेमिट्यान्स् गर्न लाईसेन्स दिने नीति ल्याएको छ । हामीले पनि त्यसमा दर्ता गराईसकेका छौं । अहिलेसम्म बैंकहरुसँग सहकार्य गरेर डोमेस्टिक रेमिट्यान्स् गर्न पाईन्छ । अब हामी लाईसेन्सको पर्खाईमा छौँ । त्यसपछि यो सेवा हामीले आम नेपालीहरुलाई दिने छौं ।  

तपाईको जापानसँगको नेटवर्क धेरै छ, यस अर्थ जापानबाट नेपालमा लगानी भित्राउनेबारे पनि यहाँले केही सोच्नुभएको होला नि ? 
म विश्वको करीब २० वटा देशमा घुमेको छु । जापानले मात्रै होईन सबै देशका मानिसले नेपालमा लगानी गर्न चाहेका छन् । म अमेरिका जाँदा त्यहाँको चेस बैंकको एउटा समुहसँग मेरो भेट भएको थियो । उनीहरुले मलाई नेपाली सामानहरु अमेरिका पठाउनेसम्बन्धी एउटा प्रस्ताव गरे । मैले यस विषयमा अध्ययन गरेर जवाफ दिने भनेर नेपाल फर्किएँ । नेपाल आएर मैले त्यसबारे अध्ययन गरेँ । नेपालमा मैले एउटा सामान पठाउने मूल्यमा चीनबाट २० वटा समान अमेरिका जाँदो रहेछ । त्यसैले लगानी भित्र्याउनका लागि संसारको बजार कसरी अगाडि बढीरहेको छ भन्ने कुरा हामीले अध्ययन गर्न आवश्यक छ । त्यस्तै गरी लगानीमैत्री वातावरण सृजना गर्नुपर्छ । त्यसका लागि शान्ति, सुरक्षा, सुव्यवस्था, राजनीतिक स्थायित्व लगायतका कुरामा राज्य संवेदनशील हुन जरुरी छ । किनभने लगानीकर्ताले जहिले पनि आफ्नो लगानीको सुरक्षा हेर्छ । त्यसैले वैदेशिक लगानी भित्र्याउनका लागि राज्यले पहिला उचित वातावरणको सृजना गर्न सक्नुपर्छ । 

उसो भए छिमेकी देशबाटै लगानीको आशा गर्न सकिन्छ त ? 
त्यसो मात्रै होइन । लगानी संसारकै मुलुकहरुबाट गर्न सकिन्छ । अहिले विश्व नै एउटा ग्लोवलाइजेसन भइसकेको अबस्था छ । तर खास कुरा राजनीतिक स्थायीत्वकै हुन आउँछ । हामीसँग सानो बजार छ । हाम्रो देशको २÷३ करोड जनसंख्या भनेको त्यति ठूलो जनसंख्या होइन । हाम्रो देशमा व्यवसाय गर्न आउने लगानीकर्ताहरुले हामीसँग नजिक रहेका संसारका वैभवशाली र धेरै जनसंख्या भएका मुलुकहरुमा आफ्नो व्यापार विस्तार गर्न सक्छन् । यसअर्थ यहाँ लगानीको संभावना बढी नै छ त्यसैले ती लगानीकर्ताहरुलाई आकर्षित गर्न, हाम्रा समृद्ध छिमेकी देशहरुसँगको सम्बन्ध, हाम्रो लगानी नीति, लगानीको वातावरणबारे हामीले उनीहरुलाई स्पष्ट पार्नुपर्छ । यो भनेको राजनीतिक स्थायित्व, शान्ति र लगानीमैत्री वातावरणकै आवश्यकता हो । 

राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई न्युनतम २० करोड रुपैयाँ पुँजी पुर्याउन सीमा तोकिदिएको छ, यसमा यहाँको धारणा के छ ?
राष्ट्र बैंकले सबैलाई २० करोड भनेको छैन । रेमिट्यान्स कम्पनीको काम कर्तव्य र अधिकार हेरेर राष्ट्र बैंकले पुँजी वृद्धिको सीमा तोकिदिएको छ । मैले बझेअनुसार कुनै रेमिट्यान्स कम्पनीले विदेशको कम्पनीसँग एजेन्ट बनेर काम गर्छ भने २ करोड पुर्याउनुपर्छ भनिएको हो । विजनेशको भोलुम अनुसार त्यसको विकास गर्दै जाने क्रममा यसलाई नराम्रो पक्ष भन्न सकिदैन । तर नियामक निकायले सोच्नुपर्ने कुरा के हुन सक्छ भने नीति बनाउनुअघि रेमिट्यान्स कम्पनीहरुसँग सरसल्लाह र सुझाव लिँदै अहिलेको ट्रेन, रेमिट्यान्सको योगदानलगायतका विषयलाई अध्ययन गरेर अघि बढेको भए अझै राम्रो हुने थियो । फिलिपिन्स, बंगलादेश, भारतलगायतका देशमा रेमिट्यान्सको भूमिका कति धेरै छ ? नेपालमा पनि त्यस्तै छ । तर नियामक निकायले सम्बन्धित सरोकारवालासँगको छलफलपछि नीति नियम बनाउने हो भने यसलाई अझै फराकिलो बनाउन सकिन्छ । 

यहाँको अनुभव र विचारबाट हेर्दा नेपालको रेमिट्यान्स क्षेत्रका चुनौतिहरु के के देख्नुहुन्छ ? 
अहिले हरेक बैंकहरुले आफ्नो मुख्य व्यवसाय नै रेमिट्यान्स हो कि जस्तो गरी काम गरिरहेका छन् । रेमिट्यान्स कम्पनीका लागि यो एउटा चुनौति हुन सक्छ । हामीले ठूलो बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग बसेर छलफल गर्दा पनि यो कुरा राखिरहेका छौँ कि तपाईहरुसँग अन्य थुप्रै बाटाहरु हुँदाहुँदै पनि तपाईहरु किन रेमिट्यान्समा आएर होमिनुहुन्छ ? नेपाल सरकारबाट विधिवत रुपमा दर्ता भएर काम गरिरहेका ४०÷५० वटा रेमिट्यान्स कम्पनीहरु छन् । किन हामीसँग बैंकहरुले प्रतिष्पर्धा गर्नुहुन्छ ? भन्ने कुरा हाम्रो कुरा हो । ८ अर्बको पुँजी भएका बैंकहरुले रेमिट्यान्सको कारोबार गर्नु उचित हुँदैन । दुई करोडको कम्पनीसँग उहाँहरुले प्रतिष्पर्धा गर्नु पनि उचित हुँदैन । तर उहाँहरुले हामीले भन्दैमा यो काम त रोक्नुहुन्न होला । मैले यसलाई रेमिट्यान्स कम्पनिहरुकै एउटा चुनौतिको रुपमा लिएको छु । त्यस्तै ‘हुण्डी’ व्यवसाय रेमिट्यान्स कम्पनीहरुको लागि अर्को चुनौति हो । देशबाट मानिसहरु विदेश नगएको अवस्थामा र देशभित्रै काम गरेको अबस्था सृजना भयो भने त्यो पनि चुनौती बन्न सक्ला, तर त्यो कुरा राष्ट्रिय हितकै लागि हुन्छ भने रेमिट्यान्स कम्पनिले बाटो बदल्नुपर्छ र यसलाई चुनौतीकै रुपमा मैले हेरेको छैन । किन कि नेपालमै रोजगारी सृजना भयो भने  मलाई त्यतिबेला दुख लाग्ने छैन, जतिबेला देशमै रोजगारीको अवस्था सृजना हुने छ । तर आजको नेपालको परिस्थितिलाई विश्लेषण गर्ने हो भने अझै २० वर्ष नेपालमा रेमिट्यान्स कम्पनीहरुको लागि त्यति ठूला चुनौतिहरु मैले देखेको छैन ।  

यति धेरै रेमिट्यान्स आउँछ तर त्यो उत्पादनशील क्षेत्रमा सदुपयोग हुन सकेको छैन भन्ने कुरा धेरैतिरबाट आइरहन्छ । खासमा के हो ? 
रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौँ भन्ने हाम्रो नारा नै हो । वर्तमान प्रधानमन्त्रीले हालै गर्नुभएको एउटा भाषणमा यही नारासँग नजिक रहेर केही कुरा बोल्नुभएको छ । त्यसैले राज्यले पनि रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहेको छ भन्ने बुझिन्छ । तर यसबारे के भइरहेको छ र कसले अनुसन्धान गरिरहेको छ भन्ने कुरा कसैलाई थाहा छैन । त्यो रिसर्च कति विश्वसनीय छ भन्ने कुरा पनि कसैलाई थाहा छैन । जे भएपनि पछिल्लो समय रेमिट्यान्सको ठूलो हिस्सा उत्पादनशील क्षेत्रमा लगानी भएको अबस्य छ । किन भने विदेश जाने व्यक्तिले बैंकमा पैसा जम्मा गर्नु पनि राष्ट्रिय उत्पादनमै लगानी हुनु हो । अर्को कुरा विदेशबाट फर्केर आएका धेरै व्यक्तिहरु आफै उत्पादन क्षेत्रमा लाग्नुभएको छ । साथै विदेशबाट पठाएकै रकम कतै न कतै कृषिमा पनि जोडिएको छ । त्यसैले उत्पादन क्षेत्रमा लगानी भएको छैन भन्ने होइन । यद्यपी विदेशमा दुःख गरेर पठाएको रकमलाई अझै बढी सदुपयोग गर्न र उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने खाँचो रहेकै छ ।  

अन्तिममा विदेश जाने र विदेशमा भएकाहरुलाई के भन्न चाहानुहुन्छ ?  
जो विदेश जानुहुन्छ, उहाँहरुलाई म विदेश जानुअघि राम्रो परामर्श तथा अध्ययन गरेर जानका लागि आग्रह गर्न चाहान्छु । त्यहाँ पुगेपछि अनौपचारिक माध्यमबाट नेपालमा पैसा नपठाउनुस् किन कि हामीले हुण्डी निरुत्साहित गर्नैपर्छ । दुखको कमाईलाई जोखिममा पार्नु र राज्यको नीति नियमभन्दा बाहिर गएर गतिविधि गर्नु तपाईकै लागि हानिकारक हुन्छ । त्यसैले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनुस् । स्वस्थ रहनुस् व्यस्त रहनुस् भन्न चाहान्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]