सहकारीमा सर्वसाधारणको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । हाल सञ्चालित ३३ हजार सहकारीमा करिब ५५ लाख सर्वसाधारण आबद्ध भएको बताइन्छ । सहकारीमा आवद्ध हुने सर्वसाधारणको संख्या उल्लेख्य रुपमा बढेपनि सरकारले शिक्षा तथा तालिममा लगानी गर्नेतर्फ भने ध्यान नदिएको पाइएको छ ।
सहकारीका सञ्चालक तथा सदस्यलाई तालिम दिन सहकारी विभागअन्तर्गत केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र क्षेत्रीयस्तरमा ५ वटा तालिम केन्द्र छन् । यसबाट गत आर्थिक वर्षमा ९४९ सहकारीकर्मीले मात्र विभिन्न तालिम प्राप्त गरेका छन् । सरकारले आवश्यक बजेट नबढाएकाले तालिमको संख्या बढाउन नसकेको सहकारी विभागको भनाई छ । प्रशिक्षण केन्द्रले हाल प्रशिक्षक प्रशिक्षण, व्यावसायिक योजना तर्जुमा, व्यवस्थापन तथा लेखापालन, रणनीतिक योजना दर्जुमा, बजार व्यवस्थापन, नेतृत्व विकासलगायतका तालिम सञ्चालन गर्दै आएको छ ।
सहकारीका सञ्चालक तथा सदस्यहरूलाई तालिम तथा शिक्षाका लागि नाफाबाट निश्चित प्रतिशत छुट्याउने व्यवस्था छ । साथै, कोषको रकमबाट सदस्य र सञ्चालक तथा कर्मचारीको तालिमका लागि खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, यी व्यवस्थाहरु कार्यान्वयनमा आउन सकेका छैनन् । कोषको रकम सदस्यहरूलाई लाभांशका रूपमा बाँड्ने र सञ्चालकहरूले विदेश भ्रमणका लागि समेत खर्च गर्न गरेका छन् ।