September 13th, 2016

नेपालमा इन्टरनेट चलाउँदा एकै वर्षमा यसरी बाहिरियो दुई अर्ब

bandwidthनेपालका कम्पनीहरुले इन्टरनेट चलाउँदा एक वर्षमा झन्डै दुई अर्ब रुपैयाँ विदेशीने गरेको छ । यस्ता कम्पनीहरुले इन्टरनेट चलाउन विभिन्न मुलुकबाट व्यान्डविथ खरिद गर्दा एक वर्षमा झन्डै २ अर्ब रुपैयाँ बाहिरिने गरेको हो । इन्टरनेट सेवा प्रदायकले सरकारको विदेशी मुद्रा सिफारिसमा विभिन्न मुलुकबाट ब्यान्डविथ खरिद गर्ने गर्दछन् । सोही आधारमा निकालिएको तथ्यांकले यस्तो देखाएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ०७२ वैशाखदेखि गत वैशाखसम्ममा ब्यान्डविथका लागि कम्पनीहरूले १ अर्ब ८० करोड ९६ लाख २९ हजार ६ सय ६२ रुपैयाँ बराबरको सिफारिस लिएका छन् । ०७१ वैशाखदेखि गत वर्ष वैशाखसम्ममा भने १ अर्ब ६३ करोड २५ लाख ५ हजार ९९ रुपैयाँ बराबरको रकम ब्यान्डविथ खरिदका लागि सिफारिस भएको थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा १७ करोड ७१ लाख २४ हजार ५ सय ६२ रुपैयाँ बढी सिफारिस भएको हो ।

के हो ब्यान्डविथ?
कम्प्युटर नेटवर्कको भाषामा ब्यान्डविथ भनेको डाटाको प्रसारण दर हो । तोकिएको समयमा कति डाटा प्रसारण हुन्छ भन्ने आधारमा यसको मापन गरिन्छ । प्रायः डाटालाई बिट्स र समयलाई सेकेन्डमा गणना गरेर यसको मापन हुन्छ । डाटाको गति बढ्दै गएपछि त्यसलाई ‘मिलियन्टस अफ बिट्स प्रतिसेकेन्ड (मेगाबिट्स प्रतिसेकेन्ड (एमबीपीएस)’ वा ‘बिलियन्स अफ बिट्स प्रतिसेकेन्ड (गिगाबिट्स प्रतिसेकेन्ड (जीबीपीएस)’ मा मापन गर्ने गरिन्छ । 

ब्यान्डविथ इन्टरनेट र इन्टरनेटमार्फत हुने आवाज तथा दृश्य प्रसारणको मुख्य आधार हो । उच्च दरको ब्यान्डविथ भए इन्टरनेट र इन्टरनेटमार्फत हुने आवाज तथा दृश्यको प्रसारण गति पनि तीव्र हुन्छ । फरकफरक सेवाका लागि चाहिने न्यूनतम ब्यान्डविथ पनि फरक हुन्छ । 

एसएमएसजस्ता अंक र अक्षर लेखेर तत्काल पठाइने सन्देशका लागि १ हजार बिट्स प्रतिसेकेन्ड गतिभन्दा कमको ब्यान्डविथले समेत काम गर्छ । आवाजसहितको सन्देश र कुराकानीका लागि भने प्रतिसेकेन्ड ५६ हजार बिट्सभन्दा बढी (५६ केबीपीएस) को ब्यान्डविथ जरुरी हुन्छ। स्ट्यान्डर्ड डेफिनेसन भिडियो (४८० पी) को आदानप्रदानका लागि कम्तीमा १ मोगाबिट्स प्रतिसेकेन्ड र हाई डेफिनेसन (७२० पी) भिडियो आदानप्रदानका लागि कम्तीमा ४ एमबीपीएस प्रतिसेकेन्ड गतिको ब्यान्डविथ चाहिन्छ । ब्यान्डविथका साथै सूचना प्रविधि पूर्वाधार, ब्यान्डविथ चुहावटको अवस्थालगायतका कुराले पनि इन्टरनेटको गतिमा असर पर्छ । 

नेपालमा कसरी भित्र्याइन्छ ?
नेपाली कम्पनीहरूले अहिले भारतको बाटो हुँदै भारतीय, सिंगापुर र हङकङका कम्पनीसँग ब्यान्डविथ किन्दै आएका छन् । नेपाल टेलिकमले भारतीय कम्पनीसँग ब्यान्डविथ किनेर एडीएसएल, जीपीआरएस र थ्रिजी सेवा चलाइरहेको छ । त्यस्तै अरू कम्पनीहरूले पनि भारत, सिंगापुर र हङकङका कम्पनीसँग ब्यान्डविथ किनेर इन्टरनेट सेवा चलाउँदै आएका छन् । अहिले नेपाली सेवा प्रदायकले विराटनगर, वीरगन्ज र भैरहवा नाकामा जोडिएका अप्टिकल फाइबरमार्फत ब्यान्डविथ नेपाल भित्र्याउँदै आएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]