September 6th, 2016

युटीएलले पायो युनिफाइड लाइसेन्स : अब दूरसञ्चारसम्बन्धि सबै सेवा युटीएलबाट

utlदूरसञ्चार सेवाप्रदायक कम्पनी युनाइटेड टेलिकम कम्पनी लिमिटेड (यूटीएल)ले आधारभूत दूरसञ्चार सेवा (युनिफाइड लाइसेन्स) प्राप्त गरेको छ । यूटीएलले पुरानो रोयल्टी बक्यौताको चौथो किस्ताको रकम चुक्ता गरेपछि सोमवार आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको हो । यससँगै यूटीएल आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र पाउने दोस्रो सेवाप्रदायक बनेको छ । अब उसले जीएसएम मोबाइललगायतका दूरसञ्चारसम्बन्धी सबै सेवा सञ्चालन गर्न पाउने भएको छ । यसअघि स्मार्ट टेलिकमले मात्र आधारभूत दूरसञ्चार सेवाको अनुमति प्राप्त गरेको थियो ।

एक वर्षभित्र ४२ जिल्लामा जीएसएम नेटवर्क
नेपाल दूरसञ्चार प्राधिकरणले २०६९ चैत २९ मा यूटीएल र स्मार्ट टेलिकमलाई आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र दिने निर्णय गरेको थियो । यसअघि प्राधिकरणले यूटीएलको किस्ताबापतको शुल्कलगायत बक्यौता नबुझाएको भन्दै युनिफाइड लाइसेन्स दिइएको थिएन । त्यसअघि समेत ‘रोलआउट प्लान’ बुझाउन गरेको ढिलाइ, प्राधिकरणबाट ‘प्लान’ स्वीकृत नहुँदा र बक्यौता रकम बाँकी रहेका कारण पटकपटक उक्त अनुमतिपत्र रोकिँदै आएको थियो ।

गत वैशाखमा प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले युटीएलको ‘रोलआउट प्लान’समेत स्वीकृत गरिसकेको छ । अनुमतिपत्र जारी भएसँगै कम्पनीले स्वीकृत ‘रोल आउट प्लान’अनुसार अबको १ वर्षभित्र ४२ जिल्लामा जीएसएम नेटवर्क विस्तार गरिसक्नुपर्ने शर्त छ । अनुमतिपत्रका त्यस्तै दोस्रो वर्षमा थप १७ जिल्ला र तेस्रो वर्षमा मुलुकभर नै त्यस किसिमको नेटवर्क विस्तार गरिसक्नुपर्ने हुन्छ । 

'लेभल अफ प्लेइङ फिल्ड'
हाल नेपाल टेलिकम, एनसेल, युटीएल, स्मार्ट, सीजी र नेपाल स्याटेलाइट गरी ६ ओटा दूरसञ्चार सेवाप्रदायक कम्पनी टेलिफोन सेवा प्रदायक कम्पनी सञ्चालमा रहेका छन् । ६ ओटै सेवाप्रदायकलाई फरक फरक समयमा फरक फरक शर्तसहित अनुमतिपत्र दिइएको छ । यसरी फरक फरक अनुमतिपत्र भएका सेवाप्रदायकहरूलाई समान धरातलमा (लेभल अफ प्लेइङ फिल्ड) ल्याउने सरकारको नीति छ । यसबाट दूरसञ्चार सेवाको क्षेत्रमा थप प्रतिस्पर्धा भई सस्तो, सरल र गुणस्तरीय सेवाका साथै थप लगानी भई ग्रामीण क्षेत्रसम्म सेवाको विस्तार हुने विश्वास लिइएको छ ।

भारतीयहरूको मुख्य लगानी रहेको युटीएलले नेपालमा सन् २००२ देखि सेवा सञ्चालन गर्दै आएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म युटीएलका ५ लाख २६ हजार ग्राहक रहेका छन् । नेपालको दूरसञ्चार क्षेत्रमा युटीएलले टेलिफोनमा २ प्रतिशत र इन्टरनेटमा शून्य दशलमव ४७ प्रतिशत बजार हिस्सा ओगेटेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]