February 22nd, 2016

‘आर्थिक रुपान्तरणपछि मात्रै देश समृद्धि हुन्छ’ 

अनिल केशरी शाह, बैंकर्स 
anil shahमानिसहरु बिहान उठेर मनिङ्ग वाकमा एफएम, चिया खाँदा पेपर र बेलुका बसेर टिभी हेर्ने बानी छ । त्यसमा हामीले खालीे देश डुब्न लाग्यो नेताले यो गरेन, त्यो गरेन भन्ने राजनीति समाचार मात्र सुन्न र हेर्नुपर्छ । अब सबै जनाले विचार गरौं कि नेताले राम्रो गरे पनि नराम्रो गरे पनि हाम्रो दैनिक जीवनमा केहि परिवर्तन हुँदैन । राजनीतिक रुपान्तरणको बारेमा मिडियामा कुरा आउनुपर्छ तर  राजनीतिक रुपान्तरण आउँदैमा देशमा परिवर्तन हुँदैन । आर्थिक परिवर्तन हुनुपर्दछ । राणा शासन सिद्धिएपछि पञ्चायतकाल आयो र डेमोक्रेसी पनि आयो साथै त्यो सिद्धिएर अहिले हामी गणतन्त्र तर्फ लम्किरहेका छौं । राजनीतिक रुपान्तरणले देश विकास हुने भए त हामी कहाँ पुग्नुपर्ने हो । जुन देशको अर्थतन्त्र राम्रो छ, जहाँ गएर राम्ररी काम गर्न पाईन्छ त्यहि नेपाली युवा जाने क्रम बढेको छ । नेपालमा आर्थिक रुपान्तरण चाहियो । मिडियाका सबैले अर्थतन्त्रको बारेमा लेख्न शुरु ग¥यौं भने आर्थिक समाचार फ्रन्ट पेजमा आयो भनेदेखि हामीले आर्थिक विकास गर्नु पर्दो रहेछ भन्ने कुरा बल्ल बुझ्छौं । हामी सबै जनाले यो देश बनाउने हो । नेताले मात्रै होइन, राजनीतिक पार्टीले मात्रै पनि होइन । उनीहरुले विकासको वातावरण मात्र बनाउने हो । मिडियाले राजनीतिमा कम र अर्थतन्त्रमा बढि फोकस दिनुप¥यो अनि मात्र हाम्रो देश अघि बढ्छ । 

आज कुनै पनि पत्रिका हेर्ने हो भने अधिंकाशमा राजनीतिक मुद्धा नै कभरेज भएको पाईन्छ । जबसम्म राजनीतिक रुपान्तरण हुँदैन तबसम्म देश बन्दैन भन्ने मनसाय रह्यो भने देश अगाडि बढ्न सक्दैन । आर्थिक रुपान्तरण भयो भने मात्र सबै चिज ठिक हुन्छ । सकारात्मक सोँचबाट मात्रै सकारात्मक प्रतिफल हुन्छ । नकारात्मक छ भने नकारात्मक नै प्रतिफल हुन्छ । मिडियाले दल–दलमा झगडा भयो, देश विग्रियो भनेर मात्रै भन्ने हो भने नेपाली युवाले यो देशमा केही हुँदैन मेरो जिन्दगी बनाउने हो भने पासपोेर्ट बनाउँछु विदेश जान्छु भन्छ र यदि पढेको भए युरोप, अमेरिका नपढेको भए खाडी मुलुकमा पसिना बगाउन जान्छ । कुनै देशको विकास गर्नु छ भने त्यो देशमा युवा चाहिन्छ । यदि त्यो देशको युवाले आफ्नो देशमा भविष्य देख्दैन भने त्यस देशको भविष्य कालो हुन्छ । आज नेपाली युवाले भविष्य नेपालमै देखेका छैनन् । साच्चिकै त्यसमा परिवर्तन ल्याउन सकेनौं भने नेपालको भविष्य कालो हुन्छ । नेपालमै युवालाई बस्ने वातावरण बनाउनु प¥यो । मिडियाले सबैलाई राम्रो खालको समाचार दिन सक्यो भने युवाहरुको अली सकारात्मक सोच हुन्छ की भन्ने लाग्छ । म सँग अन्तर्वार्ता लिन आउनेले बैङ्कि कुरा कम र अरु कुरा बढी गर्नुहुन्छ । देशको चिन्ता अनिल शाहलाई मात्र छैन । ती सकारात्मक सोच भएका साथीहरुलाई समातेर मिडियाका साथीहरुले अगाडि राख्ने हो भने सकारात्मक सन्देश जान्छ की जस्तो लाग्छ । 

नेपाल कृषि प्रधान देश हो । हाम्रो बाउबाजेले जसरी गरेका थिए हामी पनि त्यसरी धान, मकै खेती मात्र गरेका छौं । जुन चिज हामी उत्पादन गर्न सक्छौं त्यो चिजमा केन्द्रित भयौं भने त्यो चिज राम्रो गर्न सकिन्छ भन्नेमा अझै हाम्रो ध्यान गएको छैन । हामीले परम्परागत बाटो छोडेर व्यबसायीक बाटोतिर लाग्नु पर्छ । अंगुर, सुन्तला रोपेर बिदेशमा त्यो उत्पादन सामान पठाउने हुनुपर्छ । त्यसमा हाम्रो फोकस हुनुप¥यो । कृषि, हाइड्रो, पर्यटन, सर्वेक्षण, जनशक्तिको सही प्रयोग आदीमा हामीले फोकस गर्ने हो भने देशमा रुपान्तरण ल्याउन सक्छौं । राजनीतिक पार्टीमा मात्र निर्भर भएर केही हुँदैन । राजनीतिक पार्टी त हामीले भोट दिएर बनाउने हो । हामीले जस्तालाई भोट दिन्छौं, त्यस्तै आउने हो । अर्थतन्त्रका कुरा गर्ने र आर्थिक क्रान्ति गर्नेलाई भोट दिने हो भने सबै राजनीतिक पार्टीले आर्थिक विषयको मात्र भाषण गर्छन् । मिडियाले त्यहि किसिमले सर्पोर्ट गर्नुपर्छ । यसो भइसकेपछि जुन किसिमको रुपान्तरण चाहान्छौं त्यो किसिमको रुपान्तरण अवश्य हुन्छ ।राजनीतिक रुपान्तरण पनि चाहिन्छ तर आर्थिक रुपान्तरण बढि मात्रामा चाहिन्छ । आर्थिक रुपान्तरण आएपछि देशको समृद्धि, स्थिरता सबै हुन्छ । हरेक काम गर्दा सबैभन्दा पहिले म नेपाली हुँ भन्ने भावनाले काम गर्नु पर्छ । त्यसो भयो भने नेपाल र नेपालीको लागि हुन्छ मैले बिशेष रुपले यही कुरालाई उठाइरहेको छु र उठाइरहने छु । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]