रुपा कोइराला – बैंक तथा वित्तीय संस्थाहरुले ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्ता पुँजी पुर्याउन प्रथमतः मर्जरको बाटो अपनाए । मर्जरबाट नपुगेको सानो पुँजी अब हकप्रद सेयर र बोनस सेयर जारी गरेर पुर्याउने क्रममा बैंकहरु छन् । त्यस्तै, सर्वसाधारणको लगानी बढाउन र आफूलाई मजबुद बनाउन भन्दै जलविद्युत् कम्पनीहरुले पनि आईपीओ जारी गरिरहेका छन्, भने कतिपय गर्ने क्रममा छन् । यसैबिच, हाल हकप्रद सेयर या आईपीओ जारी गरिरहेका र जारी गर्ने तरखरमा रहेका कम्पनीहरुको बारेमा यहाँ चर्चा गरिन्छ :
सेयर खुलिरहेका कम्पनीहरु
मिथिला लघुवित्त विकास बैंकको हकप्रद सेयर निष्काशन मंगलबारदेखि बन्द हुँदैछ । कम्पनीले गत साउन ६ गतेसम्म कायम सेयरधनीका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । जसअनुसार, कम्पनीको २ कित्ता सेयर हुनेले १ कित्ता हकप्रदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको १ सय रुपैयाँ अंकित दरका १ लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद सेयर सिभिल क्यापिटल मार्केट लिमिटेडले निष्काशन गरेको हो । सिभिल क्यापिटलको कार्यालय र मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु आवेदनका लागि खुला गरिएको छ ।
मेगा बैङ्क नेपाल लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुलिरहेको छ । बैंकले १ सय रुपैयाँ अङ्कित दरका ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन भदौ २९ गतेसम्म खुला रहने मेगा बैंकले जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । हकप्रद शेयर खरिदका लागि मेगा बैंकको उपत्यकाभित्र र बाहिरका शाखा कार्यालयहरुका साथै ग्लोबल आईएमई क्यापिटलको कार्यालय, जमल, काठमाडौँमा आवेदन दिनुपर्ने बताइएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको ३० प्रतिशत अर्थात दश बराबर तीन कित्ता हकप्रद शेयर खुलेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरका ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रदका लागि साउन १७ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद शेयरका लागि असोज ९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडको ३ बराबर १ कित्ताका दरले हकप्रद शेयर भदौ १२ गतेदेखि खुलिरहेको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद शेयर गरेको हो । असोज १६ गतेसम्म खुला रहने शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्ताका लागि दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको छ । १०० रुपैंया अंकित दरका १ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हाल ३ करोड ६० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको ५० प्रतिशत हकप्रद वितरण पश्चात चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । आगामी असोज १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रदका लागि साउन २० गतेसम्म कायम लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रेहको छ । वोमी माइक्रोफाइनान्सको शाखा कार्यालय र सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत हकप्रदका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै, माउण्ट मकालु डेभलपमेण्ट बैंकको १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद शेयर विहिबारदेखि खुलेको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । साउन २० गतेसम्म कायम बैंकका शेयर धनीले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले एनआइबिएल क्यापिटल र बैंकका शखा कार्यालय मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।
सेयर खुल्न लागेका कम्पनीहरु
माछापुच्छ्रे बैंकले पनि हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद जारी गर्दैछ । यसका लागि कम्पनीले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ भने आइतबारदेखि बुक क्लोज हुने जानकारी गराएको छ ।
समता माइक्रोफाइनान्स वित्तीय संस्थाले १ सय रुपैयाँ अंकित दरका ९४ लाख ८० हजार रूपैयाँ बराबरका ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ११ करोड रुपैंया बराबरको हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्विकृति पाएको छ ।
हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २२० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि कुल १ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ ।