Tuesday , January 24 2017

बैंकिङ संक्षेप

एक महिनामा २० एटीएमबाट छ लाख ठगी, दुई भारतीय पक्राउ 

अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । दुवै जनाले एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग सोध्ने गरेका पाइएको छ ।

ग्राहकले आफ्नो एटिएम प्रयोग गरी थोरै रकम निकालेर निकाल्ने तरिका सिकाएपछि ग्राहक निस्किना साथ उनीहरुले एटिमले सोधेको समय थप लिन चाहनुहुन्छ भन्ने मेनुमा गएर हुन्छ भन्ने बटम थिचि रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा इन्टरनेट सुस्त भएका बेलामा ग्राहकले रकम प्राप्त नभई छोडेर गएपछि तपाई थप समय लिन चाहनुहुन्छ भन्ने मेनुमा गई ‘हो’ भन्ने बटनमा थिचेर रकम निकाल्ने गरेका थिए । 

विगत एक महिनाको अवधिमा दुवै जनाले २० स्थानमा भएका बुथबाट रु छ लाखभन्दा बढी रकम ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस
 

तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका केसी पक्राउ

करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका प्रकाश केसी पक्राउ परेका छन् । बनेपा नगरपालिका– ११ निवासी ५० वर्षीय केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको हो । 

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र पाँच करोड २५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला गरेको थियो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो । 

हाल उनलाई पक्राउ गरी सजाय तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

विश्व बैंकको १६ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनर्निर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्य्विधि, २०७३ लाई स्वीकृत गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । समितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा भेषराज कँडेल छन् । रासस
 

स्वर्ण जयन्तीको अवसरमा कृषि विकास बैंकले सम्पन्न गर्यो रक्तदान कार्यक्रम

कृषि बिकास बैंक लिमिटेडले आफ्नो ५० औं स्थापना दिवस (स्वर्ण जयन्ति) को अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कृषि बिकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिको आयोजनामा बैंकको मुख्य कार्यालय स्थित तालिम हलमा सम्पन्न उक्त कार्यक्रममा ११६ जना कर्मचारीहरुले रक्तदान गरे । 


 

आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखरमा

पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टार्कटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फहराएका छन् । गत पुस २० गते तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फहराएका हुन् । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो ।

पण्डित सर्वोच्च शिखर सगरमाथा, आठौँ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सो हिमालहरुमा आईएमई लोगोअंकित झण्डा फहराउन सफल भएका छन् ।

आफ्नो स्थापना कालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका पाँच लाख २० हजारभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

लगानी कोषले ल्यायो मोबाइल एप सेवा, बचत रकम र विवरणबारे जानकारी पाइने

नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेशनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवा सुरु गरेको छ । पोखराबाट शनिवारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेका कोषले बताएको छ । 

कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीे र नार्कका कर्मचारीको सावधिक जीवन बीमाअन्तरगत जम्मा भएको रकमको विवरण र ऋण सापटी तथा बचत रकमको विवरण उक्त एप्समार्फत प्राप्त गर्न सकिनेछ ।

कोषका अनुसार एनरोइड मोबाइल प्रयोगकर्ता सेवाग्राहीले प्लेस्टोरमा गएर CIT Mobile App डाउनलोड गर्नुपर्नेछ । रासस

सानिमा बैंक र बागमति डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

सानिमा बैंकले बागमती डेभलपमेन्ट बंैकलाई किने पछि आइतबारबाट एकिकृत कारोबार शरु गरेको छ । सर्लाहीको हरिवनमा आयोजित एक समारोहको बिच सानिमाका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका संचालक समितिका सदस्य भरत कुमार पोखरोल र महेश घिमिरेको पनि उपस्थिती रहेको थियो । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।  

आरम्भ माइक्रोफाइनान्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न भएकोे छ । साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै, चालू आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेका साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

आरम्भ माइक्रोफाइनान्सले विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६००० भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरिरहेको छ । संस्थाले हालसम्म १ करोड ५१ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु. २७ करोड ४३ लाख लगानी गरेको छ । झन्डै ९ करोड ४० लाख रुपैयाँ लगानी असूली गरेको संस्थाको लगानीमा बाँकी रहेको रकम रु. १८ करोड ३ लाख रहेको छ ।

लिबर्टी इनर्जी कम्पनीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

यस लिबर्टी इनर्जी कम्पनी लि. थापाथली, काठमाण्डौको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार (पुस २७ गते) सम्पन्न उक्त साधारण सभाबाट सञ्चालकमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, शुसिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । साथै निर्वाचित संचालकहरु मध्येबाट संचालक अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् । कम्पनीले आगामी ४ वर्षे कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेको हो ।

यस कम्पनीले २ वटा जलविद्युत आयोजनालाई अगाडी बढाईरहेको छ । जसमध्ये लमजुङ जिल्लामा रहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण कार्य करिब ३०% सम्पन्न भईसकेको छ । यो आयोजना २०७५ आषाढ सम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । त्यस्तै, कम्पनीले बाग्लुङ र गुल्मी जिल्लामा रहेको बडीगाढ खोलामा २१ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य समेत गरिरहेको छ ।     

‘इच्छाशक्तिको कमीले मुलुकको विकास हुन सकेन’ 

बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले नेपालमा सम्भवना धेरै भएर पनि नेपालीले चिन्न नसकेको बताएका छन् । अनेरास्ववियु पब्लिक युथ क्याम्पसद्धारा आयोजित एक कार्यक्रममा बोल्दै मेगा बैंकका सीईओ समेत रहेका शाहले नेपालीहरुमा इच्छाशक्तिको नै कमी भएको बताए । ‘नेपालमा सबै थोक छ’ उनले भने, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’

नेपालको विकास नहुनुमा राजनीतिक नेताहरुको मात्र नभई समग्र जनताको पनि कमजोरी रहेको उनले बताए । नेतृत्वपंक्ति र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने परिपार्टी रहेको उनको भनाई थियो ।

पब्लिक युथ क्याम्पसका विद्यार्थीमा वित्तीय क्षेत्रसम्बन्धी चेतना जगाउन पुगेका शाहले कार्यक्रममा समग्र बैंकिङ प्रणाली र नेपालमा आर्थिक संमृद्धिका लागि आमयुवा र नेपालीको भुमिकाको विषयमा प्रकाश पारेका थिए । साथमा उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई आआफ्नो रुचिअनुसार पेशा तथा व्यवसायमा लाग्न सुझाव समेत दिए ।