Friday , April 28 2017

सहकारी

गाउँलाई अन्धकारबाट मुक्त गराउँदै सहकारी संस्थाहरु

गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका बाजुरा जिल्लाका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो ।

कुल रु चार करोड ४८ लाख १८ हजारको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवारण कोषलगायत विभिन्न संस्थाबाट अनुदान उपलब्ध भए पनि तीन वर्षअघि आयोजना सम्पन्न हुँदा झन्डै रु ८५ लाख ऋण तिर्न बाँकी थियो ।

“सुरुमा त आयोजनाले हाम्रो घरखेत नै जाला कि भन्ने चिन्ता थियो तर पछि आयोजनाको दिगो र व्यवस्थित सञ्चालनका लागि सहकारीमा रुपान्तरण तथा लेखा प्रणालीलाई पारदर्शी ढङ्गबाट गराउने बारेमा केन्द्रबाट सञ्चालित आरइ–सोर्स कार्यक्रमबाट जानकारी भएपछि छ महिनाको अवधिमै हामीले चमत्कारिकरुपमा ऋणलाई कम गर्न सक्यौँ”, मालागाड खोला लुघजलविद्युत् सहकारी संस्थाका अध्यक्ष मानबहादुर थापाले भने ।

आयोजना सम्पन्न हुँदा रु ८५ लाख ऋण लागेको थियो तर अहिले छ महिनाको अवधिमै रु ४० लाखमा झार्न सफल भएका उनले बताए । आगामी वर्ष पूरै ऋण चुक्ता भई आयोजनालाई नाफामा सञ्चालन गर्न सकिने थापाको विश्वास छ ।

गत वर्ष जेठ २५ गते मालागाढ खोला लघुजलविद्युत् सहकारी संस्थाको स्थापना गरिएको हो । सहकारी गठनपछि आयोजनाको रु १४ लाख ऋण चुक्ता भएको छ । “कसरी फाइदा लिन सकिन्छ भन्ने जानकारी रि–सोर्सबाट सिक्यौँ” आयोजनाका प्रबन्धक सुरेन्द्रराज गिरीले भने । सहकारीमा गएपछि रु १०० को प्रति कित्ताका दरले कम्तिमा एक हजारदेखि १० हजारसम्म सेयर वितरण गरिएको छ ।

कार्यक्रमले आयोजनाका उपभोक्ता समितिका पदाधिकारीलाई बागलुङ, पोखरालगायतका ठाउँमा सञ्चालित सफल सहकारीमा अवलोकन भ्रमण, व्यवस्थापकीय तालिम तथा विभिन्न अभिमुखीकरणका कार्यक्रमबाट आयोजनालाई सहकारीमार्फत प्रभावकारी रुपमा सञ्चालन गर्न सकिएको हो । आयोजनाको हिसाबकिताब पारदर्शी ढङ्गबाट राखिएको छ । प्रत्येक महिनाको आयव्यय विवरण सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था मिलाइएको छ ।

सहकारीमा गएपछि आयोजनाको आम्दानीमा वृद्धि भएको छ । पहिले मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म मासिक महसुल उठ्थ्यो भने अहिले दोब्बर उठ्न थालेको छ । सहकारीका सेयर सदस्यले विभिन्न आयमूलक तालिम पाएपछि विद्युत्को उपयोग गरी उद्योग, व्यवसाय सञ्चालन गरी आयआर्जनमा वृद्धि भएको छ । महिनाको १ गतेदेखि १० गतेभित्र महसुल सङ्कलन गरिन्छ ।

सहकारीमा गएपछि उपभोक्तालाई पनि साहुसँग चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । सहकारीले स्थानीय कच्चा पदार्थ प्रयोग गरी रोजगारी सिर्जना गर्ने आयआर्जन, जीविकोपार्जन, उद्योग व्यवसाय स्थापनामा ऋण उपलब्ध गराएको छ ।

व्यवसाय गर्न चाहेमा सजिलै सहकारीबाट ऋण पाएपछि गाउँका धेरै युवा विदेश जान छाडेर यहीँ नै केही उद्यम गर्न थालेका स्थानीय पद्मादेवी साउदले बताए । ५३ किलोवाट क्षमताको सो आयोजनाबाट एक हजार २०० घरधुरीमा विद्युत् सुविधा पुग्नुको साथै दर्जनौँ उद्योग स्थापना भएका छन् । गत कात्तिकबाट ऋण लगानी गर्न सुरु गरिएकामा हालसम्म करिब रु १० लाख परिचालन भएको छ । सहकारीको आम्दानीबाट आयोजनाको झन्डै रु १२ लाख कर्जा तिर्न पुगेको स्थानीयवासी हर्कबहादुर बुढा बताए ।

पहिले घरघरमा गएर महसुल उठाउनुपथ्र्यो, महसुल तिर्न आनाकानी गर्ने क्रम बढी थियो तर अहिले त्यो समस्या छैन । समयमै सबैले महसुल तिर्ने गरेका सामाजिक परिचालक रमिलादेवी अयडीको भनाइ छ । अहिले तीन ठाउँमा महसुल सङ्कलन केन्द्र राखिएकामा अब कम्प्युटरबाटै बिलिङ दिन सुरु हुँदैछ । चार सय ७२ घरमा मिटर जडान भएको छ भने छिट्टै बाँकी घरमा पनि जडान गरिने आयोजनाले जनाएको छ ।

प्रत्येक महिनाको १५ गते आयोजनाका कर्मचारीको मासिक बैठक बस्ने र त्यसबाट पारित प्रस्तावलाई प्रबन्धकले १८ गते बस्ने सञ्चालक समितिको बैठकमा पेस गरी कार्यान्वयनमा लैजाने संयन्त्र बनाइएको छ । उपभोक्ता समितिबाट आयोजना सञ्चालन हुँदा सबैमा जिम्मेवारी बोध नहुनु, विद्युत् महसुल राम्ररी उठ्न नसक्नु र प्रत्यक्ष आम्दानी नहुनु, घाटामा सञ्चालन हुनु र सदस्यबीच मनोमालिन्य भई अधिकांश आयोजना बन्द भएका छन् ।

सहकारीमार्फत सबै उपभोक्तालाई शेयर सदस्य बनाएर सञ्चालन गर्दा आयोजनाको दिगो सञ्चालन गर्न सकिने व्यवसाय विकास अधिकृत रुपक देउवाले बताए । यस आयोजनाबाट विद्युत् आयोजना स्वयम्मा एउटा व्यवसाय हो भन्ने पुष्टि भएको छ ।

सुरुमा ३० जनाबाट सुरु भएको यस मालागाड लघुजलविद्युत् सहकारीमा अहिले ३०० नाघेको छ र बढ्ने क्रम जारी रहेको छ । सुदूरपश्चिमाञ्चलमै यस किसिमको पहिलो सहकारीको सफल अनुभवको आधारमा अन्य दर्जन बढी लघुजलविद्युत् आयोजनालाई पनि सहकारीमार्फत सञ्चालन गर्न लागिएको कार्यक्रमका अधिकृत पङ्कजकुमार दासले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधि र यसका सेवा उपयोग गर्न, सजिलै पाउन, उपयोग गर्न सकिने र गुणस्तरीय नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन र यससँग सम्बन्धित सेवा पु¥याउने मूल लक्ष्यका साथ सुरु भएको आरइ–सोर्स कार्यक्रमले क्षमता विकास सुविधाको उपलब्धतामार्फत सामाजिक उद्यमशीलताको प्रवद्र्धनमा जोड दिएको छ ।

यस कार्यक्रममा खासगरी महिला, गरिब, उपेक्षित समूहलाई दिगो ढङ्गबाट नवीकरणीय ऊर्जा प्रविधि र यसका सेवा वृद्धि गरी निजी क्षेत्रको भूमिकालाई महत्व दिइएको केन्द्रका सहायक निर्देशक रुद्रप्रसाद खनालले बताए । उनका अनुसार नवीकरणीय ऊर्जा प्रविधि र यससम्बन्धी सेवा प्रदायकलाई अभिप्रेरणा र सहुलियत हुने गरी कार्यक्रमले प्राविधिक सहयोग, सिपमा आधारित बजार विकास, सामाजिक उद्यमशीलता र सामाजिक सेवा प्रदायकलाई सहयोग गर्ने गरी चार क्षेत्रलाई प्राथमिकता दिएको छ ।

समुदायमा आधारित यस सहकारीमा नाफामूलक ढङ्गबाट मात्र नहेरी सेवामूलक भएकाले यसमा संलग्न सेयर सदस्य र स्थानीय समुदायले अपनत्वको अनुभव गर्न पाएका छन् । छिमेकी बूढीगङ्गा नगरपालिकाको केही घरमा विद्युतीकरण हुन बाँकी रहेकाले छिट्टै यस सहकारीमार्फत मालागाड आयोजनासँगै १०० किलोवाट क्षमताको अर्को आयोजना पनि छिट्टै सञ्चालनमा ल्याउने तयारीमा सहकारी जुटेको छ । रासस

‘चुहानडाँडा’ : सहकारीले समृद्ध बनाएको एउटा उदाहरणीय गाउँ 

प्रकाश धौलाकोटी । त्यतिबेला बचत, ऋणको कारोबार गर्न गाउँमा बैंक, वित्तीय संस्था, विप्रेषण केही पनि थिएनन् । दुई चार पैसा हुनेले थैलीमै राख्थे, ऋण चाहिनेले साहु कहाँ पुग्नुको विकल्प थिएन । गाउँमा बचत गर्नुपर्छ भन्ने चेतना भर्खरै खुल्दै थियो । त्यसैबेला तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–६, साबिक चुहानडाँडा–२ का जगतप्रसाद थपलिया गाउँमै सहकारी खोल्नुपर्छ भनेर तम्सिए । गाउँका ३८ जना मिलेर चुहानडाँडा बचत तथा ऋण सहकारी संस्था खोले । 

“सुरु–सुरुमा गाउँका धेरैलाई सहकारीमा आबद्ध गराउन निकै गाह्रो पर्याे, कतिले गाली पनि गरे”, अध्यक्ष थपलियाले भने, “कतिले त अरूले खाइदेलान् है ! होस् गर ! भन्दै डर पनि देखाए ।” तर त्यही सहकारी अहिले गाउँघरका साना–ठूला आर्थिक समस्या टार्ने माध्यम बनेको छ । गाउँका सबै घरधुरी सहकारीमा सेयर सदस्य बनेका छन् । सबैले सहकारीमा बचत गर्छन् । आवश्यकता पर्दा ऋण लिन्छन् र समयमा फिर्ता गर्छन् । साहुको चर्को ब्याज पनि तिर्नु परेको छैन । अझ केहीले त सहकारीबाट ऋण लिएर व्यवसायसमेत थालेका छन् । 

वर्षौँपछि पूरा भयो थपलियाको सपना
विसं २०६६ मा सहकारी स्थापना गर्दा अध्यक्ष थपलियाले देखेको सपना अहिले पूरा भएको छ । त्यतिबेलादेखि थालेको अभियानमा अहिलेसम्म आठराई गाउँपालिका–६ अर्थात् साबिकको चुहानडाँडा गाविसका सबै घरधुरीको सहकारीमा कम्तीमा एक कित्ता सेयर छ । गाउँका सबै ६ सय ८१ घरधुरी नै सेयर सदस्य बनेपछि चुहानडाँडालाई जिल्लाकै पहिलो ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । सहकारीलाई एक कार्यक्रमबीच जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरे र सहकारीकर्मीले ‘सहकारी गाउँ’का रुपमा घोषणा गरेका हुन् । 

सहकारी स्थापनादेखि हालसम्म संस्थालाई विभिन्न संस्थाले सहयोग गरिरहेका छन् । सुरुमा सदस्यले प्रतिसेयर २० रुपैयाँका दरले बचत गर्न थालिएको सहकारीमा अहिलेसम्ममा ५० लाख २७ हजार रुपैयाँ निक्षेप सङ्कलन भएको छ । संस्थामा हाल सबै सदस्यले मासिक कम्तीमा पनि २० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म बचत गर्ने गरेका छन् । संस्थामा तीन सय ६६ महिला र तीन सय १५ पुरुष सदस्य रहेका व्यवस्थापक कृष्ण बाँस्कोटाले बताए । उनले सहकारीको कुल सेयर पुँजी आठ लाख ५३ हजार रुपैयाँ पुगेको जानकारी दिए । 

थपिँदै सेवाहरु
सहकारीले नियमित बचतसँगै बाल बचत, ज्येष्ठ नागरिक बचत तथा ऐच्छिक बचतको समेत सुरुवात गरेको छ । सहकारीको नियमित कार्यालय सञ्चालन र कारोबार कम्प्युटरबाटै गर्न समेत सुरुवात भएको छ । सहकारीको भवन निर्माण गर्न अध्यक्ष थपलियाले जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँमा उद्यम गर्न चाहनेलाई सस्तो ब्याजमा ऋण, कमाएको दुई पैसा जम्मा गर्न र मुनाफा लिन सहकारीले सजिलो बनाएको स्थानीयवासी सृजना थपलिया बताउँछिन् । “सहकारी खुलेपछि सानातिना आर्थिक समस्या पर्दा साहुकहाँ जानुपर्ने बाध्यता हटेको छ”, उनले भनिन् । 

अहिले सबैको चाहना सहकारीमा आबद्ध हुने र आर्थिक रुपमा समृद्ध हुने छ । सहकारीले अहिलेसम्म ६८ लाख रुपैयाँ पुँजी सङ्कलन गरेको छ । सहकारी खुलेपछि बचत गर्ने बानीको विकास भएको स्थानीयवासी रामप्रसाद थपलियाले बताए । “सहकारी गाउँका निम्नवर्गका जनताका लागि सहयोगी बनेको छ,” उनले भने, “सहकारी खुलेपछि गाउँमा पैसा नभएरै व्यवसाय गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।” 

सहकारीले बिना धितो ऋण दिने गरेकाले पनि दुर्गम गाउँका बासिन्दालाई सजिलो भएको छ । जिल्ला सहकारी सङ्घका अध्यक्ष रुपा कन्दङवा सहकारीबाटै समृद्धि सम्भव छ भन्ने चेतनाको विकास बढ्दै गएको बताउनुहुन्छ । गाउँ–गाउँमा सहकारी खुलेपछि ऋण लिएर व्यवसाय गर्ने र स्वरोजगार बन्ने युवाको सङ्ख्या समेत बढ्दै गएको छ । रासस

सहकारी ऐन छिटो ल्याउन माग

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले प्रस्तावित सहकारी ऐनलाई जतिसक्दो चाँडो लागू गर्न माग गरेको छ । सिजेएनले बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी प्रस्तावित सहकारी ऐन अन्तिम चरणमा पुगेको भए पनि ऐन आउन ढिला भएका कारण शङ्का उत्पन्न भएको भन्दै जतिसक्दो चाँडो ल्याउन माग गरेको हो ।

सांसद हरिलाल ज्ञवालीले ऐनका बारेमा सहकारी मन्त्रालय, सहकारीविज्ञ लगायत सरोकारवालासँग दफावार छलफल गर्नुपरेका कारण पनि ऐन आउन ढिला भएको स्पष्ट पारे । अर्का सांसद ओमदेवी मल्लले सहकारीलाई खुम्च्याउने भन्दा पनि सबैलाई मान्य हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले अबको ऐनले सहकारी अभियानलाई प्रवद्र्धन गर्नसक्नुपर्ने बताए । रासस

सहकारीको नाममा ठगी धन्दा गर्नेको विगविगी

धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको संख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा उठाइँदै आएको करिब सात करोड रुपैयाँ उठाएर सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका हुन् । धनुषा र महोत्तरीका विभिन्न पाँच स्थानमा फरक–फरक नामले सञ्चालनमा रहेको सहकारी सञ्चालकबीचको विवादले बन्द भएको बुझिएको छ । यसरी संस्था बिना कुनै सूचना एक्कासि बन्द भएपछि बचत गरेको करोडौँ रुपैयाँ डुब्ने त्रासले सर्वसाधारण चिन्तामा परेका छन् ।

संस्थाले धनुषाको जनकपुरमा सहारा पञ्चकन्या बचत, क्षिरेश्वरनाथ नगरपालिकामा पञ्चकन्या बचत, यदुकोहा नगरपालिकामा सहारा बचत, महोत्तरीको बर्दिवास नगरपालिकामा पञ्चकन्या बचत र महोत्तरीकै गोनरपुरामा पञ्चकन्या बचत नाम गरी पाँच स्थानमा बचतको नाममा सर्वसाधारणसँग पैसा उठाउँदै आएको थियो । गत चैत ५ गते धनुषाको यदुकोहास्थित सहारा बचतले एक्कासि कार्यालय बन्द गरी सबै कर्मचारी गायब भएपछि सर्वसाधारणको पैसा डुबाउन खोजेको खुलासा भएको थियो । चैत ६ गते यदुकोहाका स्थानीयवासीले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् ।सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयवासीको छ ।

२०६६ सालमा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा, कृष्णकुमार साह लगायत छन् । विगत ५ वर्षदेखि संस्थाको लेखा परीक्षणसमेत नगरिएको खुलासा भएकोे छ । जिल्ला सहकारी संस्थाका धनुषा अध्यक्ष ध्रुवनारायण यादवले सहकारी सञ्चालकको बचाउ गर्दै भने “सर्वसाधारणले संस्थाको गतिविधिमा निगरानी नराखी पैसा बचत गर्नु गलत हो ।” डिभिजन सहकारी कार्यालय प्रमुख रवीन्द्रकुमार यादवले सर्वसाधारणको पैसा डुबाउने सहकारीलाई प्रशासनिक कारबाही गरिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सहकारीले सर्वसाधारणको रकम ठगी गरेको विषयमा छानबिन भइरहेको बताए । सञ्चालक पुनम साहको नाममा रहेको जायजेथा जमिन बेचेर बचतकर्ताको पैसा तिर्न उनका परिवारसँग छलफल भइरहेको उनको भनाइ छ । यसरी बुझ्दा जिल्लामा डिभिजन सहकारी कार्यालयमा अधिकारिकरुपमा दर्ता नै नभएका सहकारीले पनि दैनिकरुपमा बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने गरेकाले सर्वसाधारणलाई ठग्ने क्रम बढेको हो ।

यसअघि पनि चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड यज्ञभूमिका अध्यक्ष विजय साहले सदस्यको करिब रु एक करोडभन्दा बढी रकम लिएर फरार भएका छन् । साहले सहकारीको सञ्चालक समितिमा आफ्नै नातागोताका सदस्य राखेर ऋण लगानी गर्ने, बचत सङ्कलन गर्ने गर्दै आएका थिए । रासस

फस्टाउँदै सहकारी, बचत बढेपछि ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

बर्दिया जिल्लामा सहकारी संस्थाको बचत बढेसँगै ऋण लगानीमा समेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले चालू आवको आठ महीनामा करीब साढे दुई अर्ब बचत गरेका छन् भने करीब रू. पौने चार अर्ब ऋण परिचालन गरेका छन् । 

आव २०७३।७४ को दोस्रो चौमासिकमा सक्रिय अवस्थामा रहेका कृषि, बचत तथा ऋण, दूग्ध उत्पादक, उपभोक्ता, बहुउद्देश्यीय  र अन्य गरी कुल ४ सय ५ सहकारीले रू. दुई अर्ब ४९ करोड ६६ लाख १८ हजार बचत गरेका हुन् । सो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा रू. एक अर्ब ४८ करोड २६ लाख २४ हजार बढी भएको डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सहकारीले गत आवमा रू. एक करोड ४० लाख बचत गरेका थिए ।  गत आवको सोही अवधिमा सहकारीले रू. एक अर्ब ८२ करोड ऋण लगानी गरेका थिए ।  

सहकारीको कुल सेयर पूँजी रू.४६ करोड ४५ लाख १० हजार तथा सेयर सदस्यको सङ्ख्या एक लाख २७ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा रू.१९ करोड २३ लाख ६१ हजार शेयर पूँजी रहेको थियो । शेयर सदस्य सङ्ख्या ६४ हजार १८३ जना रहेको थियो । चालू आवको आठ महीनामा सहकारीले रू.एक अर्ब १६ करोड ८३ लाख ४९ हजार विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट बाह्य ऋण लगानी गर्नुका साथै रू.४१ करोड २४ लाख ९ हजार जगेडा कोषमा जम्मा गर्न सफल भएका छन् । जिल्लामा सबैभन्दा धेरै ११९ कृषि सहकारी, ८० बचत तथा ऋण, ७३ बहुउद्देश्यीय, १७ उपभोक्ता, १५ दूग्ध उत्पादक र २९ अन्य सहकारी सञ्चालनमा छन् । सात ओटा सहकारी एकीकरण हुने तयारीमा रहेको कार्यालयले बताएको छ । रासस

सहकारी सरकारको प्राथमिकतामा परेन : सहकारी मन्त्री

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले ४७ प्रतिशतभन्दा बढी महिलाको नेतृत्व विकास गरेका ३४ हजार सहकारीलाई सरकारले नियतबस प्राथमिकतामा नपारेको बताएका छन् । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)ले मङ्गलबार राजधानीमा आयोजना गरेको बृहत् गोष्ठीमा मन्त्री थानीले मन्त्रालयले पाउने अधिकार नदिने सरकारले भोलि प्रदेशलाई अधिकार दिनेमा आफूलाई शङ्का लागेको बताए । 

सहकारी दिवसको अवसर पारेर नेफ्स्कूनले देशभरका वचत तथा ऋण सहकारी संस्थाको लेखा सुपरीवेक्षण समितिका प्रतिनिधिको क्षमता विकासका लागि आयोजना गरेको बृहत् गोष्ठीमा मन्त्री थानीले गाउँमा कुखुरा, पाठी बेचेको, दैनिक ज्याला गरेको पैसा बचत गर्न सिकाएको सहकारीका योगदानलाई अवमूल्यन गर्दै कमजोरीलाई मात्र प्रचार गरिएको र मन्त्रालय नै खारेज गर्न सरकार अघि बढेकामा आफूलाई आश्चर्य लागेको बताए ।  

नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेतले बचत ऋण सहकारीलाई हेर्ने दृष्टिकोण सुधार्न संस्थागत सुशासनलाई बढावा दिन सहकारी सञ्चालकलाई आग्रह गरेका छन् । उनले क्षमता नहुनुलाई अपराधका रुपमा नबुझी बरु क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिँदै सञ्जालिकृत साकोस निर्माणमा सामूहिक सुशासनको सुनिश्चितताका लागि राजधानीमा बृहत् गोष्ठीको आयोजना गरिएको जानकारी दिए । 

गोष्ठीमा सहकारी विज्ञ एवम् केन्द्रीय सहकारी सङ्घका अध्यक्ष केशव बडाल, सहकारी विभागका रजिस्टार केशवप्रसाद रेग्मी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोज शर्मा, एसियाली ऋण महासङ्घका प्रमुख कार्यकारी अधिकृत रञ्जीत हिताराची, विश्व ऋण परिषद्का माइकल वालेटलगायतले बचत ऋण सहकारीको प्रभावकारिता वृद्धिका पेपरलेस अवधारणामा गई सूचना प्रविधिको प्रयोगमा व्यापकता ल्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । 

देशभरिका ५ सयभन्दा बढी लेखा सुपरीवेक्षण समितिका प्रतिनिधिको सहभागिता रहेको गोष्ठीले संस्थागत सुशासन प्रवद्र्धनका लागि १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सहकारीकर्मी सङ्घ संस्थाका प्रतिनिधि तथा विज्ञले दुई दिनसम्म समितिको प्रभावकारिताका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यासको प्रस्तुति गरेका थिए । रासस

काठमाडौँ जिल्ला सहकारी संघद्धारा सरसफाई कार्यक्रमको आयोजना

काठमाडौँ जिल्ला सहकारी संघ क्षेत्र नं. ८ विहीबार बिहान ७ बजे काठमाडौँको स्बयम्भुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संघले दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने मूल नाराका साथ सरसफाई गरेको हो ।

बुम रेमिटले टिसर्ट प्रायोजन गरेको उक्त कायक्रममा बिभिन्न सस्थाहरुबाट मास्क, ग्लोब्स, सरसफाइका अन्य सामाग्रीहरु समेत प्रायोजन गरेका थिए । जिल्ला सहकारी संघ लि क्षेत्र नं. ८ का अध्यक्ष कृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला सहकारी संघ लि काठमाडौँका अध्यक्ष टेक प्रसाद चौलागाईले गरेका थिए । कार्यक्रममा केन्द्रीय उपभोक्ता सहकारी संघका महासचिब सीताराम काफ्ले, काठमाडौँ जिल्ला सहकारी संघकी संचालक अमरावति मर्हजन, लेखा समिति संयोजक केशव प्रसाद पोखरेल, संचालक रमिला श्रेष्ठ, लेखा समिति संयोजक कमलराज अधिकारी, बुम रेमिट्यान्स प्रा. लि.का प्रबन्ध निर्देशक धिरेन्द« पन्त लगायतको उपस्थिती रहेको थियो । 

विहीबार नै काठमाडौँ जिल्ला सहकारी संघले सोही क्षेत्रका अपांग बालबालिकाहरुलाई खानपिनको ब्यवस्था समेत गरेको जानकारी दिएको छ । 

‘कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका महत्वपूर्ण’

कृषिमन्त्री गौरीशंकर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल कृषि केन्द्रीय सहकारी संघले काठमाडौँमा आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताए । कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो । 

अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्रा्ष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुर्रा्ष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले भूमिहीन सीमान्तकृत र कृषि मजदुरका हातमा खेतियोग्य जमिन नहुन्जेल कृषिको दिगो विकास असम्भव रहेको बताए । राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका डा खतिवडाले ३५ प्रतिशत जनताका हातमा व्यावसायिक खेती गर्ने जग्गा नभएकाले कृषिमा दिगो विकास नभएको बताए । नेपालको कृषि गणना २०६८ अनुसार कृषि मजदुरको संख्या २० प्रतिशत तथा भूमिहीन सीमान्तकृत वर्गको संख्या १५ प्रतिशत रहेको छ । “थोरै व्यक्तिका हातमा प्रचुर जमिन रहे पनि त्यो वर्गले खेती नै नगर्ने भएकाले नेपाली कृषि परनिर्भरतातर्फ उन्मुख भएको हो,” खतिवडाले भने ।

पूर्वसहकारी मन्त्री केशव बडालले सामूहिक र सहकारीखेती कृषिमा आशालाग्दो भएकाले जग्गाको अवैधानिक खण्डिकरण रोक्नुपर्नेमा जोड दिए । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले कृषि भूमिलाई एकीकरण गर्नुपर्ने बताए । रासस

मापदण्ड विपरीत सञ्चालित सहकारीले उठीबास गराए

सदस्यको आर्थिक उन्नतिका लागि भन्दै खोलिएका सिन्धुलीका अधिकांश सहकारी सञ्चालकले बढी मुनाफा लिने उद्देश्यले सहकारीका सदस्यको ढाड सेक्ने काम गरिरहेको पाइएको छ । सहकारी संघसंस्था दर्ता, सञ्चालन, नियमन, अनुगमन तथा लेखा परीक्षणसम्बन्धी मापदण्ड २०६८ मा बचत तथा ऋण सरहकारी संस्थाले ऋण र बचतमा अधिकतम ६ प्रतिशतसम्मको मात्र फरक गर्न पाइने व्यवस्था छ । तर पनि मापदण्ड नाघेर सहकारीले १३ प्रतिशतसम्मको फरकमा कारोबार गरिरहेका हुन् । 

बढीको मुद्धति निक्षेप खाता सञ्चालन गर्न नपाइने भए पनि आकर्षक ब्याज देखाउँदै छ वर्षसम्मको मुद्धति निक्षेप खाता सञ्चालन गरिरहेका छन् । अत्याधुनिक कम्प्युटर सफ्ट्वेयर प्रणालीबाट सञ्चालित बैंकिङ प्रणालीमा कारोबार गरिएको भन्दै सदस्यलाई ऋणमा अधिक ब्याज र बचतमा न्यून ब्याज दिइरहेका छन् । अधिकांश सहकारीले लामो अवधिको मुद्धति निक्षेपलाई १५ प्रतिशत सम्मको ब्याज दिने गरेका छन् ।

पछिल्लो समय सिन्धुली सदरमुकाम माडीबजार र आसपासका क्षेत्रमा ३० वटाभन्दा बढी सहकारीले कारोबार गरिरहेका छन् । असोज मसान्त सम्ममा सहकारीले साधारणसभा सम्पन्न गर्नुपर्ने विनियम भए पनि धेरैजसो सहकारीले अझैसम्म पनि साधारण सभा गरेका छैनन् । बचत तथा ऋण सहकारी संस्थाले अधिकतम ६ प्रतिशतसम्मको फरकमा कारोबार गर्नुपर्ने, एक प्रतिशतभन्दा बढी प्रशासनिक खर्च गर्न नपाइने, तीन वर्षभन्दा बढी मुद्धति निक्षेप खाता सञ्चालन गर्न नपाइने भए पनि केही सहकारीले त्यस्तो काम गरिरहेको पाइएको छ । 

मापदण्ड विपरीत कारोबार गर्ने सहकारीलाई कारबाही गर्ने अधिकार सहकारी डिभिजन कार्यालयलाई भए पनि लामो समयदेखि अनुगमन भएको छैन । डिभिजन कार्यलयको यो लापरबाहीको फाइदा सहकारीहरुले उठाइरहेका छन् । सहकारी सङ्घसंस्था दर्ता, सञ्चालन नियमन तथा अनुगमन लेखा परीक्षणसम्बन्धी मापदण्ड २०६८ मा व्यवस्था भए मापदण्डभन्दा बाहिर गएर काम गर्ने सहकारीलाई खारेज गर्नेसम्मको कारबाही गर्न सकिने प्रावधान छ । 

एकआपसमा गाभिए हिलटप जुनार र नवप्रगति सहकारी

काठमाडौं–राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकिकरण हुने क्रम बढी रहेकै बेला काठमाडौंका दुई सहकारीले पनि एकिकृत कारोबार सुरु गरेका छन् । काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिवार विशेष एकिकरण साधारणसभा गरी एकिकृत कारोबार थालेका हुन् ।

सरकारले सहकारीको संख्या धेरै हुनुभन्दा गुणात्मक सहकारी संस्था हुनु पर्ने भन्दै एकिकरणको नीति ल्याएपछि यी दुई संस्था एकिकृत भएका हुन् । एकिकरणपछिको संस्थाको नाम हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहने छ । 

विशेष साधारणसभामा एकिकृत संस्थाका अध्यक्ष कृष्ण गिरीले एकिकरणको आवश्यकता पहिचानबारे, कार्यकारी प्रमुख सुमनविक्रम थापाले एकिकरणको सर्त र कार्यविधि तथा उपाध्यक्ष बासुदेव घिमिरेले संस्था एकिकृत हुनुअघि र पछिको वित्तीय अबस्थाको प्रतिवेदन पेश गरेका थिए । तीन वटै प्रस्ताव विशेष साधारणसभाले पारित गरेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकिकृत संस्थाको चुक्ता पूँजी एक करोेड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ कराड ८३ लाख ९० हजार रुपैयाँ पुगेका छन् । दुवै संस्थाको गरी सेयर धनी संख्या ८ सय ९१ पुगेको छ । एकिकरणपश्चात दुवैं सस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकिकरणपश्चात हिलटप जुनारले बचत तथा ऋणको कारोबारको अलावा कृषि तथा उत्पादनमूलक ब्यवसायका माध्यमबाट संस्थामा सदस्यहरुलाई रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ ।