May 20th, 2016

८४ प्रतिशतले घट्यो वैदेशिक लगानी, यस्ता छन् कारणहरु

investmentनेपाल भित्रने वैदेशिक लगानीमा अत्याधिक गिरावट आएको छ । गत वर्षको प्राकृतिक तथा मानवीय अवरोधका कारण वैदेशिक लगानी ८४ प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार वैदेशिक लगानीमा ठूलो अन्तरले कमी आएको देखिएपनि परियोजनाको संख्या भने खासै घटेको छैन । परियोजनाको संख्यामा ३२ प्रतिशतले मात्रै कमी आएको विभागले जनाएको छ । उद्योग विभागले नेपालमा भित्रने वैदेशिक लगानीलाई स्विकृत गर्ने काम गर्छ । 

आधाभन्दा बढी घटे लगानीकर्ता
गत वर्ष जसरी ठूला उद्योगहरूले नेपालमा स्थापना हुने इच्छा देखाएका छैनन् । यस वर्ष १८ वटा कृषिजन्य उद्योग, एउटा निर्माणजन्य, २ वटा र्जाजन्य, ४१ वटा उत्पादनमूलक, १ सय ६ वटा सेवामूलक र ७७ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । विभागका अनुसार प्रत्येक महिना औसतमा ३० भन्दा बढीको संख्यामा विदेशी व्यवसायी नेपालमा लगानी गर्न आउने गरेको थियो । यद्यपि, भुकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीपछि यो संख्या आधा पनि हुन सकेको छैन । असोज ७ मा भारतले नाकाबन्दी लगाएपछि कात्तिक र मंसिरमा १२–१२ वटामात्र उद्योग दर्ता भएका छन् । नेपालमा लगानी वातावरण बिग्रिएको र भएका उद्योगधन्दा समेत सञ्चालन हुन नसकेकाले विदेशी लगानीकर्ताले यति बेला उद्योग दर्ता गर्न छाडेका हुन् । हालसम्म देशभरमा करिब ६ हजार उद्योग दर्ता भएका छन् । दर्ता भएकामध्ये एक तिहाइ पनि सञ्चालनमा आएका छैनन् । 
  
वैदेशिक लगानीको प्रतिवद्धता
चालु आर्थिक वर्षको वैशाख महिनासम्म वैदेशिक लगानीमा २ सय ४५ वटा परियोजना र उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । ती परियोजनामा प्रत्यक्ष रुपमा १० अर्ब ४३ रुपैयाँ लागनी गर्ने प्रतिबद्धता छ । गत वर्ष सोही अवधिमा वैदेशिक लगानीमा २ सय ६७ वटा उद्योग स्थापना हुने प्रतिबद्धता आएको थियो । जसमा ६५ अर्ब २५ करोड रुपैयाँभन्दा धेरैको लगानी गर्ने प्रतिबद्धता थियो । नेपालका ठूला परियोजना र उद्योगमा विदेशी व्यवसायीको लगानी छ । कृषि तथा वन, निर्माण, ऊर्जा, खानी, उत्पादनमूलकका साथै सेवा क्षेत्रमा पनि प्रत्यक्ष विदेशी लगानी भित्रिने गरेको छ ।

साना स्तरका परियोजनामा केही लगानी
विदेशी लगानीमा उल्लेख्य गिरावट आउँदा पनि परियोजना तथा उद्योगको संख्यामा कमी नआउनुले नेपालमा खुद्रा तथा साना स्केलका परियोजनामा बढी लगानी भएको संकेत गर्छ । मुलुकको विषम परिस्थितीका बिच पनि साना स्केलका केही उद्योगहरु दर्ता भइरहेका कारण सो संख्यामा कमी नआएको हो । विशेष गरी चिनियाँ लगानीका रेस्टुराँ, शैक्षिक परामर्श केन्द्रलगायतका सानास्तरका उद्योगले अनुमति लिएका थिए । चिनियाँबाहेक अन्य देशका लगानीकर्ताले यतिबेला उद्योग खोल्न खासै चासो नदेखाएको तथ्यांकले देखाएको छ । चीनपछि थोरै मात्रामा हङकङ र दक्षिण कोरियाका लगानीकर्ताले सानास्तरका उद्योग सञ्चालन गर्न इच्छुक देखिएका छन् ।  

वैदेशिक लगानीको आवश्यकता
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्ने सम्भावना बोकेका क्षेत्रहरुमध्ये जलविद्युत् पनि एक हो । कृषि, जलविद्युत् र पर्यटनलाई नेपालको आर्थिक समृद्धिको आधार मानिन्छ । यी क्षेत्रमा वैदेशिक लगानी विस्तार गर्न सकने नेपालको विकास टाढा नरहेको विज्ञहरु बताउँछन् । यद्यपि नेपालको आन्तरिक जलविद्युत वातावरण नै उदार नहुँदा विदेशी लगानी पर्याप्त मात्रा भित्रिन सकेको छैन । विद्युत, विद्युत नियमन आयोग, जग्गा प्राप्ति, सार्वजनिक खरिदलगायतका जलविद्युत् विकाससँग प्रत्यक्ष जोडिने विधेयकहरु सरकारी वेवास्ता र हेलचेक्याई वैदेशिक लगानीको बाधक बनिरहेको छ । अन्य क्षेत्रहरुमा पनि वैदेशि लगानी भित्रिने वातावरण निर्माण हुन सकेको छैन । त्यसमाथि पनि भुकम्प, नाकाबन्दी, आन्दोलन लगायतका समस्याले लगानी गर्न इच्छुक लगानीकर्तालाई पनि विकर्षित गराइरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]