May 4th, 2016

५ वर्षमा पुरै बदलिनेछ नेपालको विमा क्षेत्र

avijeetसन् २०१५ को अक्टोबर महिनादेखि काठमाडौँस्थित लाइफ इन्स्योरेन्स कम्पनिको डेपुटी जेनेरल मेनेजरको रुपमा कार्यरत अभिजित घोषसँग बीमासम्बन्धि २५ वर्षे अनुभव छ । उनले एलआईसी अफ इन्डियाको आईटी क्षेत्रमा लामो समय काम गरेपछि कलकत्तामा सोही कम्पनिको मार्केटिङको जिम्मेवारी सम्हाले । जसपश्चात् दिल्लीमा डेपुटी जेनेरल मेनेजर अफ एलआईसी हुँदै ४ वर्ष दुबई र बहराइनमा एलआईसीको इन्टरनेशनल पोस्टिङमा रहे । हाल एलआईसी अफ नेपालमा कार्यरत उनै घोषसँग समग्र विमा क्षेत्र, जिवन विमाको वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित रहेर बैँकिङ खबर डट कमका लागि सहकर्मी अनिता आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ : 

विमा के हो ?
वीमा हरेक आर्थिक क्षतिको परिपूर्ती हो । कुनै पनि कारणले मानिसलाई भएको क्षतिलाई आर्थिक रुपले परिपूर्ति गर्ने काम वीमा कम्पनिहरुले गर्दछन् । वीमा दुई प्रकारका हुन्छन् : जीवन विमा र निर्जीवन विमा । घर, गाडी, मोटरसाइकलहरुको विमा निर्जिवन विमा हो । यसअन्तर्गत, यदि गाडी अथवा मोटरसाइकलको क्षति भयो भने तपाईँ निर्जीवन विमा कम्पनिमा गएर विमा दावी गर्न सक्नुहुन्छ । जीवन विमाको हकमा भन्ने हो भने कसैको मृत्युलाई क्षतिलाई पैसासँग दाँज्न मिल्दैन । एउटा व्यक्तिको मृत्युमा कसैले परिवारको सदस्य गुमाएको हुन्छ त कसैले आफ्नो साथी । यसको क्षतिपूर्ति हुन सक्दैन । तर, सो मृत्युबाट भएको आर्थिक क्षतिलाई कभरअप गर्न जिवन विमाले सघाउँछ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा, यहाँ सामाजिक सुरक्षाको राम्रो व्यवस्था छैन । यहाँ परिवारको एक सदस्यले कमाएर पूरै परिवारलाई पालिरहेको हुन्छ । यदि कमाएर ल्याउने मानिसलाई नै दुर्भाग्यवश केही भइदिईहाल्यो भने पूरै परिवार नै अप्ठेरोमा पर्छ । गत वर्षको विनाशकारी भुकम्पमा परेर झण्डै ९ हजार मानिसले ज्यान गुमाए । जसमध्ये ५ सय मानिसको पनि विमा गरिएको पाइएन । यसरी प्राकृतिक विपत्तीमा परेर ज्यान गुमाउनु एउटा दुखद कुरा त छँदैछ त्यसमाथि उनीहरुले मृत्युबाट भएको क्षतिलाई परिपूर्ति गर्ने कुनै आधार समेत नहुनु अर्को दुखद कुरा हो । दुखका साथ भन्नुपर्छ, मैले नेपालमा यस्ता मानिसहरु देखेको छु जसको लागि आफ्नो विमा गराउनुभन्दा कारको विमा गराउनुले बढी महत्व राख्छ । 

जीवन विमाका प्रकारहरु केके हुन् ?
वास्तवमा विमा चार प्रकारका हुन्छन् । एउटा हो टर्म इन्स्योरेन्स अर्थात् आवधिक विमा, जुन १० वर्षे हुन्छ । यसमा, यदि विमा गरेको व्यक्तिको १० वर्षभित्रमा मृत्यु भएमा उसले विमा रकम पाउँछ तर, मृत्यु नभएमा पाउँदैन । अर्को छ सावधिक विमा, जसमा यदि विमा गरेको व्यक्तिको मृत्यु समयावधि नपुग्दै भएमा विमा कम्पनिले १ लाख प्रिमियम भुक्तानी तत्काल गर्छ । उसको मृत्यु नभएमा पनि उसले विमा दाबी भुक्तानी पाउँछ । यदि १० वर्षको अन्त्यसम्ममा पनि उसको मृत्यु नभएमा उसको विमा रकम व्याजसहित फिर्ता हुन्छ । अर्को भनेको बालबालिका विमा हुन्छ । जुन विमा बालबालिकाका लागि नभएर वास्तवमा उसको अभिभावका लागि फाइदाजनक हुन्छ । आफूलाई केही भइहाल्यो भने पनि आफ्नो सन्तानको शिक्षादीक्षाले निरन्तरता पाओस् भन्नाका खातिर यस्तो किसिमको विमा गरिन्छ । बाबुआमालाई केही भइहाल्यो भनेपनि उनीहरुको सन्तानले कुनै प्रिमियम नतिरी विमाको फाइदा लिन सक्छन् । अर्को भनेको एन्विटी अर्थात पेन्सन । यसमा केही समयका लागि पैसा तिरेपछि जिन्दगीभर कम्पनिले हरेक महिना र हरेक वर्ष केही रकम तपाईँलाई निरन्तर रुपमा प्रदान गरिरहनेछ । आफ्नो कमाई छँदै आफ्नो बुढेसकालको लागि पैसा बचाएर राख्न यस किसिमको पोलिसीले सहयोग गर्दछ । 

विमाको वर्तमान अवस्था कस्तो छ ?
विमाको अवस्था कम्पनिअनुसार फरक हुन्छ । म अरुको कम्पनिको बारेमा टिप्पणी गर्न चाहन्नँ । मेरो कम्पनि अर्थात एलआईसीको बारेमा भन्नुपर्दा, मेरो कम्पनिबाट भइरहेको सेवा तथा सुविधाका लागि मैले धेरै प्रशंसा र सम्मान पाएको छु । मेरो कम्पनिको विमा दाबी भुक्तानी ९९.३४ प्रतिशत छ । अहिलेको समयमा बजार प्रतिष्पर्धा एकदमै चर्को छ । पछिल्लो समयको भुकम्प, मधेस आन्दोलन, नाकाबन्दी, इन्धन संकट लगायतको समस्याका कारणले इन्स्योरेन्स प्रिमियमलाई मानिसले आफ्नो प्राथमितामा राख्न सकेनन् । किनकि, उनीहरुलाई आधारभूत आवश्यकताहरु, दैनिक उपभोग्य सामानहरु जुटाउन नै हम्मेहम्मे पर्यो । समग्र मुलुकभर नै यो अवस्था रहँदा समग्र विमा क्षेत्र प्रभावित रह्यो । 

नेपालमा विमा गर्नेको संख्या एकदमै न्यून रहेको छ । विमा क्षेत्रबाट नेपालको कुल गार्हस्थ उत्पादनमा पुगेको योगदानको आधारमा भन्नुपर्दा नेपालमा विमा गर्नेको संख्या दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा कम रहेको छ । नेपालीहरुमा विमा गर्नुपर्छ भन्ने चेतनाको नै विकास नभइसकेको अवस्था छ । साधारणतयाः कुल गार्हस्थ उत्पादनको ७ देखि ८ प्रतिशत हिस्सा विमा क्षेत्रले ओगट्ने अपेक्षा गरिएकोमा यसको आधा पनि हुन सकिरहेको छैन । यो एकदमै अशोभनीय अवस्था हो कि मानिसहरुले आफ्नै सुरक्षा गर्नु पनि आवश्यक ठान्दैनन् । अमेरिका र बेलायतजस्ता विकासशील मुलुकहरुमा कुल जनसंख्याको ७५ देखि ८० प्रतिशतले विमा गर्ने गरेका छन् । 

जीवन विमा दाबी कसरी गर्ने ?
विमा दाबी भुक्तानीको लागि हरेक कम्पनिका आआफ्नै नियमहरु हुन्छन् । कसैको जीवनको विमा दाबी गर्नुछ भने उसै पनि उ आफन्तको मृत्युमा चिन्तित भइरहेकाले एकदमै साधारण हिसाबबाट उनीहरुलाई बुझाउनुपर्छ । जीवन विमाको लागि पुलिस भेरिफिकेनि रिपोर्ट, डेथ सर्टिफिकेट र जन्मदर्ताको प्रमाणपत्रको साथमा विमा कम्पनिले दिएको एउटा फर्म भरेर बुझाउनुपर्छ । यसपछि तत्कालै उसले दावी भुक्तानी पाउँछ । यो कुरा विमा दाबी गर्नेले थाहा पाउनु जरुरी हुन्छ ।

विमासम्बन्धि चेतना नहुनुका कारणहरु केके हुन् ?
नेपालमा थुप्रै विमा कम्पनिहरु हुँदाहुँदै पनि विमा गर्नेको संख्या एकदमै दयनिय रहेको छ । कसैको जीवन वीमा गराउनको लागि फोर्स गर्न मिल्दैन । जनतामा विमासम्बन्धि सचेतना फैलाउने काम विमा कम्पनिहरुकै हो । विमा कम्पनिहरुले विमासम्बन्धि सचेतना जगाउन नखोजेका पनि हैनन् । तर, विमालाई स्विकार्ने मानिसहरुको संख्यामा त्यत्ति प्रभावकारीता देखिन सकेको छैन । पछिल्लो समयमा विमा कम्पनिहरुले एकदमै तीव्र गति लिइरहेका छन् । अबको ४ देखि ५ वर्षभित्रमा हामीले नेपालको विमा क्षेत्रको पूर्ण परिवर्तित रुप देख्न पाउनेछौँ । जनताहरुमा चेतना जगाउनका लागि हामी एकदमै गतिशील भएर लागिरहेकाले अब विमा क्षेत्र फस्टाउन धेरै समय लाग्दैन । विमा क्षेत्रबाट विभिन्न सचेतना तथा जनतासँगको अन्तक्र्रियाका कार्यहरुले गति पाइरहेकाले अब विमा क्षेत्रको प्रगतिको दिन टाढा छैन । 

विमाको पहुँच नेपालको हरेक कुनाकुनामा पुग्न नसक्नुको एक मुख्य कारण भनेको त भौगोलिक वनावट नै हो । नेपालमा यस्ता धेरै ग्रामीण भेगहरु छन् जहाँ आफ्नो शाखा विस्तार गर्न सक्ने स्थितीमा विमा कम्पनिहरु छैनन् । त्यसैले, यी क्षेत्रहरुसम्म पुग्न सुरुमा त हामीले आफ्नो शाखाहरु ग्रामीण भेगसम्म विस्तार गर्नमा जोड दिनुपर्छ । अर्को कुरा, पछिल्लो समय लाखौँको संख्यामा विदेशिइरहेका युवाहरुको लागि सरकारले विमा योजना ल्याएको छ । जुन एकदमै सकारात्मक कुरा हो । यस्तै ३ हप्ताजति पहिले सरकारले विमा क्षेत्रको लागि एकदमै सराहनीय कदम उठाएको हो । यो विमा सुरुमा जम्मा ५ लाखको थियो जसलाईं बढाएर अहिले १० लाख पुर्याइएको छ । यसले विमा गर्नेहरुको संख्यालाई दोब्बर बढाएको छ ।

विमा क्षेत्रमा पुँजीवृद्धिको आवश्यकता छैन ? 
विमासम्बन्धि कुनै पनि नयाँ नीतिहरु आएका छैनन् । त्यसैले, बैँक तथा फाइनान्स कम्पनिहरुमा देखिएको मर्जर र एक्विजिसनको लहर विमा क्षेत्रमा देखिएको छैन । आफ्नो कम्पनिको पुँजी बढाउँदा ठूलोठूलो पुँजी भएका, उच्च आर्थिक हैसियत भएका मानिसहरु कम्पनिमा आउँछन् यो एउटा सकारात्मक पाटो हो । अर्कोतर्फ, ठूलो पुँजी बनाइयो भने प्रतिष्पर्धा स्वतः कम हुँदै जाने जोखिम पनि हुन्छ । उपभोक्ताको नजरबाट हेर्दा यसलाई सकारात्मक पाटो मान्न सकिँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]