March 30th, 2016

४३ लाख नेपालीको खल्तीमा एटीएम

atmपछिल्लो समयमा सर्वसाधारणबीच एटीएम कार्ड लोकप्रिय बन्दै गएको छ । बोक्नलाई सजिलो र सुरक्षित, चाहिएका बेला तुरुन्तै रकम निकाल्न सकिने सुविधाका साथै पैसा बोकेर हिँड्नुपर्ने बाध्यतासमेत नरहने भएकाले एटीएम कार्डको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । कार्डको प्रयोगबाट उपभोक्ताले स्वदेशदेखि विदेशसम्म आफूलाई आवश्यक पर्ने रकम निकाल्नेदेखि लिएर सपिङको बिलसमेत कार्डबाटै भुक्तानी गर्ने सुविधा पाएका छन् । “चाहिएको समय र ठाउँमा रकम निकाल्न सकिन्छ, एटीएम लिएपछि पकेटमा हजार रुपैयाँभन्दा बढी राख्ने गरेको छैन,” एक एटीएम प्रयोगकर्ताले भने, “यो बोक्नमात्र सजिलो छैन, सुरक्षित र भरपर्दो पनि छ ।” 

चाहिएको समयमा रकम निकाल्न सकिने भएकाले एटीएम कार्डबाट सर्वसाधारण मात्र नभएर व्यापारीहरु समेत लाभान्वित भएका छन् । राम्रो व्यापार भएको बेला ठूलो रकम बोकेर हिँड्नुपर्दा लुटिने मात्र नभएर कतिपय अवस्थामा त ज्यानै जाने जोखिम समेत हुने गरेकामा एटीएम कार्डको प्रयोग ले सो जोखिम हटेको अनुभव व्यापारीहरुसँग छ । 

एटीएम सेवा विस्तारमा बैँकहरुको जोड
उपभोक्ताको आकर्षणकै कारण बैंक तथा वित्तीय संस्थाले समेत एटीएम सेवा विस्तारलाई जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एटीएम प्रयोगकर्ता दिनदिनै थपिँदै गएका छन् । बैंकिङ सेवाप्रति सर्वसाधारणको पहुँच र आकर्षण बढ्दै जाँदा प्रयोगकर्ताको आकार पनि ह्वात्तै बढेको छ । ०६० सालमा करिब ४० हजार नेपालीसँग एटीएम कार्ड भएकोमा अहिले ४३ लाखभन्दा बढीसँग छ । एक दशकअघि एटीएम काउन्टरको संख्या पनि २०० हाराहारी थियो । स्ट्यान्डर्ड चार्टड, नबिल र इन्भेस्टमेन्टजस्ता केही ठूला बैंकले मात्रै एटीएम सेवा दिन्थे । अहिले अवस्था फेरिएको छ । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै बैंकिङ क्षेत्रको सेवामा पनि व्यापक विस्तार भएको छ । हाल सबै बैंक वित्तीय संस्थाले एटीएम सेवा प्रदान गरिरहेका छन् । चालू आर्थिक वर्षको पुससम्ममा ४३ लाखभन्दा बढी नेपालीले एटीएम कार्ड लिएका छन् । त्यसमध्ये वाणिज्य बैंकहरूका ३८ लाख ८८ हजार ७६२, विकास बैंकका ३ लाख ५९ हजार ८२४ र फाइनान्स कम्पनीका ३७ हजार ८६९ एटीएम प्रयोगकर्ता छन् । यी कार्ड प्रयोगकर्ताका लागि बैंक तथा वित्तीय संस्थाको गरी १ हजार ७८७ एटीएम काउन्टर छन् ।

लोकप्रियताका बाबजुद पनि समस्याको थुप्रो
एटीएमबाट रकम निकाल्न जति सजिलो छ, त्यति यसबाट उपभोक्ता सजिलैसँग ठगिएका पनि छन् । एटीएमबाट पैसा निकाल्दा खाताबाट निकालेको भन्दा धेरै रकम घट्ने, खाताबाट रकम घटे पनि एटीएमबाट पैसा नआउने, कार्ड मेसिनमै अड्किने, एटीएमबाट ग्राहकको रकम चोरी हुने गरेकासम्म समस्या भएको ग्राहक गुनासो गर्छन् । बढ्दो विद्युत्भार कटौतीका कारण एटीएमहरु बन्द हुँदा पनि एटीएम प्रयोगकर्तामा समस्या थपिएको छ । विद्युत् आपूर्तिका कारण बन्द हुँदा पैसा निकाल्न नपाएर धेरैपटक समस्या भएको उपभोक्तको गुनासो छ । सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै कम्तीमा अस्पताल वरपर र अत्यन्त व्यस्त ठाउँमा एटीएम प्रयोगकर्तालाई चौबिसै घन्टा सेवा उपलब्ध गराउनुपर्ने उपभोक्ताहरुको सुझाव छ ।  

राजधानीबाहिरका धेरै जिल्लामा एटीएम सेवा विस्तार भइसकेको छ । हाल करिब ४० प्रतिशत अर्थात् सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन् । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]