February 5th, 2018

२५ करोडको वैदेशिक रोजगार बचतपत्र फागुन ३ गतेदेखि, १० प्रतिशत व्याज पाइने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले फागुन ३ गते २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र विक्रीका लागि आवेदन खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले फागुन २३ गतेसम्म उक्त बचतपत्र खरिदका लागि आवेदन दिन पाउनेछन् । 

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिने बताइएको छ ।

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ ।

वार्षिक १० प्रतिशत व्याज
फागुन २८ गते निष्काशन हुने पाँच वर्षे अवधिको यस रोजगारपत्रको सावाँ भुक्तानी २०७९ फागुन २८ गते हुनेछ । व्याज भने वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा पाइनेछ । उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्तिमार्फत ब्याज भुक्तानी लिन सक्नेछन् । यसका लागि आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ । आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]