January 16th, 2018

११ प्रतिशतमा निक्षेप उठाउँदै बैंकहरु

बैंकिङ खबर । बैंकहरुले ११ प्रतिशत व्याजदरमा निक्षेप उठाउन थालेका छन् । लगानीयोग्य पुँजीको अभाव भएपछि अधिकांश बैंकहरुले व्याजदर बढाएर ११ प्रतिशतको हाराहारीमा पुर्याएका हुन् । तरलता संकटको समस्या समाधानका लागि बैंकहरुले एकातिर व्याजदर बढाएर निक्षेप तानिरहेका छन् भने कर्जा लगानी ठप्प जस्तै पारेका छन् । 

कुनकुन बैंकले बढाए व्याजदर ?
बैंकहरुले सरकारको तर्फबाट सहयोग मिल्ने अपेक्षा गरी व्याजदर नबढाउने सहमति गरेका थिए । यद्यपि, सरकारले नै आफैँ समाधान खोज्न भनेपछि बैंकहरु व्याजदर बढाउनुपर्ने अवस्थामा पुगेका छन् । प्रभु बैंक, माछापूछ्रे बैंक, सेञ्चुरी बैंक, गण्डकी विकास बैंक, सिटिजन्स बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सानिमा बैंक, गरिमा विकास बैंक लगायतले व्याजदर बढाएर ११ प्रतिशतको हाराहारीमा पुर्याएका छन् ।

प्रभु बैंकले ११ प्रतिशत व्याजदरमा एक वर्षे मुद्दति खाता संचालनमा ल्याएको छ भने माछापूछ्रे बैंकले तीनदेखि १२ महिने व्यक्तिगत मुद्दति खातामा १०.५० प्रतिशत व्याज दिएको छ । सेञ्चुरीले ११ प्रतिशत व्याजदरमा एक वर्षे मुद्दति योजना ल्याएको छ भने गण्डकी विकास बैंकले मुद्दतिमा अधिकतम ११.३० प्रतिशत व्याजदर दिएको छ । सिटिजन्स बैंकले पनि ११ प्रतिशत व्याजदर तोकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ११.५ प्रतिशत व्याजमा ११५ दिनको सुपर फिक्स डिपोजिट योजना ल्याएको छ । गरिमा विकास बैंकले ११.५० प्रतिशत व्याजदर दिएको छ । सानिमा बैंकले पनि १०.५० प्रतिशत व्याज दिएको छ ।

लगानीयोग्य पुँजीको अभाव
मुलुकमा विकास निर्माणका काम हुन नसक्दा सो रकम बैंकिङ प्रणालीमा जान सकेको छैन । त्यसमाथि, सरकारले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । पुस मसान्तसम्ममा लक्ष्यभन्दा दुई अर्बबढी राजश्व उठेको तथ्यांक छ । यसले सरकारी ढुकुटीमा मात्रै रकम बढाएको छ भने बैंकिङ प्रणालीमा तरलता संकट उत्पन्न भएको छ । तरलता समस्या समाधानका लागि सरकारको ढुकुटीको प्रयोग गर्ने कुरा उठेपनि तत्कालका लागि सो निर्णय स्थगित भएको छ । यसकारण, बैंक आफैँले सो समस्याको समाधान गर्नुपर्ने भएको छ ।

सिसिडी रेसियोको व्यवस्थापन
कर्जा लगानी घटाएर निक्षेप संकलनतर्फमात्रै ध्यान दिँदा बैंकहरुको सिसिडी रेसियो बढिरहेको छ । त्यसमाथि, सरकारले पनि बैंकिङ प्रणालीबाट रकम उठाएपछि सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि जान लागेको छ । २८ वाणिज्य बैंकमध्ये, आधाजसो बैंकको सिसिडी ८० प्रतिशत छोएको छ । यसलाई तल नझारे अधिकांश बैंकहरु कारबाहीमा पर्ने देखिन्छ । त्यसैले पनि बैंकहरुलाई निक्षेप तान्नुपर्ने बाध्यता छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]