June 19th, 2017

स्वरोजगार बन्न सिलाइ–कटाइ व्यवसायमा महिला 

उत्तम चौलागाईं – घरैमा स्वरोजगार बन्न खोटाङ कुभिण्डेकी अनिता भुजेलको रोजाइमा सिलाइ–कटाइ व्यवसाय परेको छ । उनले फेसनेवल र आकर्षक डिजाइनको कपडा सिलाउने तालिम पूरा गरिसकेकी छन् । आकर्षक तरिकाले एक जोर कपडा सिलाउन सदरमुकाम वा सहर पुग्ने स्थानीयलाई गाउँमै सेवा दिएर आम्दानी गर्न सिलाइ–कटाइ तालिम लिएको उनको भनाइ छ । हरेक मान्छेले नयाँ डिजाइनका कपडा गाउँमै सिलाउन चाहे पनि गाउँमा त्यो सुविधा छैन, अनिताले भनिन्, “राम्रो सिलाइ गर्ने टेलरिङ सेन्टर सञ्चालन गर्न सके गाउँमै सेवा र मेवा मिल्ने आशा छ ।” 

खोटाङको लामिडाँडा गाउँपालिका–१ कुभिन्डेकी मेनुका भुजेलले भर्खरै दुई महिने सिलाइ–कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै आयआर्जन गर्दै आफंै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ–कटाइ तालिम लिएकी हुन् । दौरा–सुरुवाल, कुर्ता–सुरुवाल, दौरा, ब्लाउज, चौबन्दी, सर्ट, फ्रक, पेटीकोटलगायतका लुगा सिलाउने सीप हासिल गरेकी मेनुका तालिमपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने तयारीमा छन् । गाउँमै नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने टेलरिङ व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ–कटाइ उद्यमलाई रोजेको उनी बताउँछिन् ।

“गाउँमा अहिले सिलाइ–कटाइको राम्रो बजार छ,” मेनुकाले भनिन्, “राम्रो डिजाइनमा अहिले पनि एक जोर कपडा सिलाउन परे सहर वा सदरमुकाम पुग्नु पर्ने बाध्यता छ ।” एक जोर कपडा सिलाउनकै लागि डेढ दुई दिनको बाटो ओहोरदोहोर गर्दा ज्यालाबाहेक अन्य शीर्षकमा उत्तिकै खर्च हुन्छ ।

त्यही समस्यालाई बुझेर पछिल्लो समय गाउँ–गाउँका महिला सिलाइ कटाइतर्फ लोभिन थालेका हुन् । महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिम दिने घरेलु तथा साना उद्योग विकास समितिलगायतका सरकारी तथा निजी क्षेत्रले पनि सिलाइ–कटाइ तालिमलाई प्राथमिकता दिने गरेको छ । आधुनिक र समयअनुसारको सिलाइ–कटाइ व्यवसायका लागि तालिम लिनेमा पुरुष पनि उत्तिकै छन् । 

‘सीप र श्रम गरे गाउँमै धन कमाउन सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न पछिल्लो समय ग्रामीण क्षेत्रका महिला हौसिन थालेका छन् । सम्भावनाको अध्ययनपछि तालिम पूरा गरेर गाउँमै टेलरिङ सेन्टर खोल्ने तयारीमा लागेको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा्चिउरीडाँडा बुवासुङकी सञ्जु राई बताउँछिन् ।

“यहाँका मान्छेले एक जोर कपडा सिलाउन दिक्तेल पुग्नु पर्छ, जाँदा आउँदा गाडी भाडा चाहिन्छ, खानामा उत्तिकै खर्च हुन्छ,” राईले भनिन्, “गाउँमा सिलाइ–कटाइको राम्रो माग छ, त्यहीबाट राम्रो आम्दानी गर्न सकिन्छ भनेर लागेकी हुँ ।”

‘गरिबी निवारणका लागि लघुउद्यम विकास’ कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा विकास सहजीकरण सञ्जाल उदयपुरको बन्दोबस्तमा यसपल्ट सिलाइ–कटाइ, खाडीका कपडा बुनाइ, सिकर्मी, बाँसका सामान निर्माण, दालमोठ तथा भुजिया उत्पादन, तरकारीखेती लगायतका लघुउद्यमसम्बन्धी एक सय जनाले तालिम पाएका छन् । । गतवर्ष तालिम लिएका ९० उद्यमीले पनि हाल आ–आफ्नै व्यवसाय सञ्चालन गरिरहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति खोटाङका अनुसार ‘गरिबी निवारणका लागि लघुउद्यम विकास’ कार्यक्रम अन्तर्गत जिल्लाका २२ महिलाले सिलाइ–कटाइसम्बन्धी तालिम लिएर व्यवसाय चलाउन सुरु गरेका छन् । 

व्यावसायिक सिलाइ–कटाइ व्यवसायका लागि जिल्लाको लामीडाँडा गाउँपालिका, रुपाकोट–मझुवागढी नगरपालिका, दोर्पा्चिउरीडाँडा बुवासुङका र निर्मलीडाँडाका केही महिलाले तालिम पूरा गरेको घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले बताए । कारोबार दैनिकबाट साभार गरिएको


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]