July 6th, 2017

सेयर लगानीकर्तालाई जलविद्युत्मा अपरचुनिटी

सुष्मा थापा । सेयरमा लगानी गर्न चाहनेलाई जलविद्युत् क्षेत्रमा ठूलो अवसर आउँदैछ । थुप्रै जलविद्युत् कम्पनीहरु यतिबेला आईपिओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् । पछिल्लो समय जलविद्युत् कम्पनीहरु खोल्ने क्रम पनि बढ्दै गएकाले अझ बढी अवसरहरु प्राप्त हुने देखिन्छन् । 

धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा आठ कम्पनी
बुटवल पावर कम्पनीले प्रतिकित्ता ५१८ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्दैछ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडमा मूख्य सहायक कम्पनीहरु सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि सेयर जारी गर्दैछन् । सान्जेनले ८७ लाख ६० हजार कित्ता सेयर ऋणदाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी, संस्थाका कर्मचारी र कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि निष्काशन गर्न लागेको छ भने रसुवागढीले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सावधान कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि निष्काशन गर्न लागेको छ ।  पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले इलामका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता सेयर निष्काशन गर्दैछ भने मध्य भोटेकोशी जलविद्युत कम्पनीले दुई करोड ९४ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । त्यस्तै, गत वैशाख पहिलो साता आयोजना प्रभावित लमजुङ बासीका लागि सेयर निष्काशन गरेको राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणसका लागि सेयर जारी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार पाँच सय ५० हजार कित्ता सेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । युनिक हाइडेल कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्दैछ भने लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ ।

हाइड्रो कम्पनी खोल्ने होड
सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेपछि जलविद्युत् कम्पनीहरुको संख्या पनि बढ्दैछ । नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्दा दीर्घकालीन फाइदा हुने सोचेर विदेशी लगानीकर्तासमेत आकर्षिक भइरहेका छन् । त्यस्तै, बैंकहरुले पनि पछिल्लो समय जलविद्युत् क्षेत्रमा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने निर्देशन दिएपछि बैंकहरुले उक्त क्षेत्रमध्येको जलविद्युत्लाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । मुलुकलाई लोडसेडिङ मुक्त बनाउने योजनास्वरुप सरकारले ठूलाठूला आयोजना निर्माण कार्यालाई अघि बढाइरहेको छ भने स्थानीय स्तरबाट सञ्चालनमा आउने साना जलविद्युत्हरुलाई पनि प्रोत्साहन गरिरहेको छ । त्यसैले, जलविद्युत् कम्पनी खोल्ने एक किसिमको होड नै चलेको छ । हाल निर्माण भइरहेका तथा निर्माण हुने तरखरमा लागेका कम्पनीहरुले सर्वसाधारणका लागि सेयर जारी गर्नेछन् । जुन, तपाईँका लागि लगानी गर्ने सुनौलो अवसर सावित हुन सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]